खेल


वीरेन्द्रनगरमा प्रथम कर्णाली हाफ म्याराथन हुँदै

वीरेन्द्रनगरमा प्रथम कर्णाली हाफ म्याराथन हुँदै

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार ९:५१, सुर्खेत

वीरेन्द्रनगरमा शनिबार प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर आयोजकले म्याराथन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुन लागेको पहिलो म्याराथन भएकाले स्थापित धावकलाई प्रोत्साहन गरिएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताए। कर्णाली हाफ म्याराथनमा दौडन राष्ट्रिय रूपमा स्थापित धावकहरूले नाम दर्ता गराइरहेका छन्। 

नेपालगञ्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन गर्न लागिएको हो। दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने छ। 

पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई क्रमिक रूपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने आयोजकको योजना छ। 

आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रवर्द्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना रेस नेपालले जनाएको छ। कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्ने भएको छ। 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं निजीक्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो। 

कर्णाली हाफ म्याराथनका लागि सम्पूर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको रेस नेपालका अध्यक्ष ठकुरीले बताए। 

त्यसैगरी, कुमारशमशेर थापालाई सदस्य–सचिवको जिम्मेवारी प्रदान गरिएको छ। कर्णाली म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र विश्व म्याराथनको छातामुनि लैजाने पनि उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .