एपीएफ फुटबल क्लबमाथि सानदार जित निकाल्दै फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसन संकट टारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा एपीएफ क्लबमाथि ४–० को फराकिलो गोल अन्तरले हराउँदै रेलिगेसनबाट बचेको हो।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा दुइ गोल थप्यो।
खेलको १५ औं मिनेटमा टोरिक जेब्रिनको गोलमा फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको थियो। पेनाल्टी बक्सबाहिर रफिक अमिनुलाई एडमा डोम्वियाले फउल गरेपछि प्राप्त फ्रिकिकमा टोरिकले सहज गोल गरे।
३१ औं मिनेटमा विकास थापाले गोल थप्दै फ्रेण्डस्को अग्रता दोब्बर पारे।
७१औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को अग्रता दिलाए। खेलको ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को सानदार जित दिलाए।
जितसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अंक पुगेको छ। पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम छ। समान ३० अंक नै रहे पनि एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा तल छ।
रेलिगेसन संकट टारेपछि फ्रेन्ड्सका खेलाडीले मैदानमा खुसियाली मनाए। उनीहरुले जर्सीसमेत फुकालेर मैदानमा खुसी साटेका थिए।
आजै भएको खेलमा नवप्रवेशी खुमलटार भने रेलिगेसनमा परेको छ। उता नेपाली फुटबलमा दबदबा राख्दै आएको थ्रीस्टार पनि रेलिगेसन संकटमा छ।
Shares
प्रतिक्रिया