ad ad

खेल


उदीयमान खेलाडीको काँधमा स्पेन : शैली उही, टिममा परिवर्तन

१२ वर्षपछि फर्काउला उपाधि?
उदीयमान खेलाडीको काँधमा स्पेन : शैली उही, टिममा परिवर्तन

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ७:४९, काठमाडौँ

२००८ को युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दै स्पेनले विश्व फुटबलमा तरंग ल्यायो। लामो समय बल होल्ड गरेर खेल्ने शैली भित्र्याएको स्पेनले त्यसपछि पनि यो शैली छाडेन। तर, उपलब्धि भने कायम राख्न सकेन। 

२०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरियो। २०१८ मा समूह चरण त पार गर्‍यो तर आयोजक रुसले अन्तिम १६ बाट माथि जान दिएन।
फुटबल विश्लेषकहरु स्पेनिस फुटबल सुस्त भएको टिप्पणी गर्छन्। अब सुस्त खेलले काम नगर्ने प्रतिक्रिया आइरहेकै बेला पछिल्लो युरोकपको सेमिफाइनलसम्म पुगेर एनरिकले जवाफ दिए। उनले यसपटक बनाएको टिमबाट प्रष्ट हुन्छ कि, उनी त्यो शैली परिवर्तन गर्न तयार छैनन्।

‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखान जस्तै यसपालिको विश्वकपमा स्पेनको दाउ १२ वर्षपछि विश्वकप उपाधिमा फर्किनु हुनेछ। २०१० मा पहिलोपटक विश्वकप उपाधि उचालेको स्पेन त्यसपछि अन्तिम १६ बाट माथि जान सकेको छैन। 

अहिले स्पेनले आफ्नो टिममा धेरै परिवर्तन गरेको छ। २०१८ का कप्तानसहित अधिकांश खेलाडी टिमबाट बाहिर छन्। स्पेनको टिममा उदीयमान खेलाडी प्रवेश गरेका छन्। 

२०१० मा विश्वकप जित्दा स्पेनको सबैभन्दा राम्रो पक्ष भनेकै बलियो मिडफिल्ड थियो। पूरै विश्वकपमा जम्मा ८ गोल गरेको स्पेनले उपाधि जित्यो। त्यतिबेला मिडफिल्डरले बल नियन्त्रण गर्दा स्पेन बलिया टोलीलाई पाखा लगाउन सम्भव भयो। 

मिडफिल्डर जाभी, एनिएस्टा र बुस्केटले बल पुरै होल्ड गर्थे। फरवार्ड डेबिट भिल्लाले टिमलाई आवश्यक गोल निकाल्थे। उनले त्यो विश्वकपमा ५ गोल गरेका थिए। विपक्षीलाई हतपत बल छुनै नदिई स्पेनले समय गुजार्थ्यो। त्यही शैलीले स्पेनले सबैलाई आश्चर्यमा पा¥यो। फाइनलमा नेदरल्याण्डलाई पराजित गर्दै उपाधि पनि चुम्यो। 

अहिले पनि स्पेनको टिममा विश्वकप जित्दाकै धेरै पक्ष मेल खान्छ। २०१० मा मिडफिल्ड बार्सिलोनाको सेटले धानेको थियो। यसपटक पनि इनरिकले मिडफिल्डरको सेट नै बार्सिलोनाबाट छानेका छन्। 

संयोग पनि १२ वर्षअघि उपाधि दिलाउँदाका प्रमुख मिडफिल्डर जाभी हर्नान्डेजले तयार गरेको टिमको वर्चश्व छ। स्पेन र बार्सिलोनाको खेल शैली उस्तै छ। स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षक लुइस इनरिक बार्सिलोनाका पूर्व खेलाडी र प्रशिक्षक पनि हुन्। 

उनले पनि खेलाडी हुँदा बार्सिलोना र रियल मड्रिडजस्ता क्लबबाट खेलेका थिए। स्पेनको टोलीमा १९९१ देखि २००४ सम्म मिडफिल्ड र फरवार्डको भूमिका निभाए। इनरिकले स्पेनका लागि तीन विश्वकप र एउटा युरोपियन च्याम्पियनसिप खेलेका थिए। 

उनको प्रशिक्षण करियर पनि बार्सिलोनाबाटै सुरु भएको हो। सन् २००८ मा बार्साको बी टिमबाट प्रशिक्षण सुरु गरेका इनरिकले इटालियन क्लब रोमा, स्पेनिस क्लब सेल्टाको प्रशिक्षक बने। पछि बार्सिलोनाको प्रमुख प्रशिक्षक भएर फर्किए। बार्सिलोना आएको पहिलो वर्ष नै ट्रिबेल र दोश्रो वर्ष सन् २०१८ मा दोहोरो उपाधि दिलाए। 

उनै इनरिकको जिम्मामा छ स्पेनको युवा टिम। जुन टिमलाई २०१० को विश्वकप विजेता सर्जिओ बुस्केटले कप्तानी गर्नेछन्। स्पेनको टिममा बुस्केट मात्रै पछिल्लो चार विश्वकप नियमित खेलेका खेलाडी हुन्। उनले विश्वकपका १३ खेल खेलिसकेका छन्। 

स्पेनको टिममा युवाको वर्चश्व छ। पूर्वकप्तान सर्जिओ रामोस जस्ता खेलाडी छुटाएको भन्दै इनरिकले आलोचना समेत खेप्नुपर्‍यो। इनरिकले आफ्नो खेल शैलीका लागि आवश्यक खेलाडी लिएको जवाफ दिएका छन्। 

सन् १९७८ देखि विश्वकपमा स्पेन निरन्तर सहभागी हुँदै आएको छ। तर एकपटक उपाधि जित्नुबाहेक उपलब्धि हासिल गर्न सकेको छैन। २००८ देखि २०१२ सम्मको स्पेनको टोलीलाई सबैभन्दा डरलाग्दो टोली मानिएको थियो। त्यो टोलीका बुस्केट बाहेक अन्य खेलाडी छैनन्। धेरैले सन्यास लिए, रामोस यसपटक अटाएनन्। 

प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि एनरिकले राष्ट्रिय टोलीलाई दुई ठूला प्रतियोगिताको सेमिफाइनल र फाइनलमा पुर्‍याएका छन्। 

स्पेनको टिममा बार्सिलोनाको शैली, टिममा बार्साकै वर्चश्व

सर्जिओ बुस्केट

स्पेनको २६ सदस्यीय टिममा कप्तानसहित बार्सिलोनाको सबैभन्दा धेरै खेलाडी छानेका छन् प्रशिक्षक एनरिकले। डिफेन्डरमा इरिक ग्रासिया र जोर्डी अल्बा परेका छन्। मिडफिल्डमा बार्सिलोनाको सेट नै अटाएका छन्। 

मिडफिल्डरमै निर्भर स्पेनको टोलीका लागि एउटै सेटमा खेलिरहेका खेलाडी हुनु स्पेनका लागि बलियो पक्ष हुनेछ। 

सर्जिओ बुस्केट, पेड्री र गाभी बार्सिलोनाबाट सँगै खेल्छन्। फरवार्डमा अंसु फाती र फेरान टोरेसलाई कतार बोलाइएको छ। उनीहरु पनि बार्साकै हुन्। यी मध्ये ५ खेलाडी पहिलो पटक विश्वकप खेल्दै छन्। बुस्केट र अल्बाले मात्रै यसअघिको विश्वकप खेलेका थिए। 

गाभी वर्ष उत्कृष्ट युवा खेलाडी हुन्। पेड्रीले पनि गतवर्ष यही उपाधि पाएका थिए। फाती बार्सिलोनाकै उत्पादन हुन् भने टोरेस र गार्सिया म्यानचेस्टर सिटीबाट यसै सिजन स्पेन फर्किएका हुन्। २१ वर्षीय गार्सियाले पनि स्पेनबाट विश्वकप खेल्ने पहिलो पटक मौका पाएका हुन्। 

१८ वर्षीय गाभीले ला लागिमा यो सिजन १४ खेल खेलेका छन्। यसमा मात्रै एक गोलमा असिस्ट गरे पनि खेल शैलीका कारण अहिले विश्वका ठूला क्लबहरुको नजरमा छन्। पेड्री पनि १९ वर्षका मात्रै भए। उनले पनि यो सिजन ला लिगाका १४ खेल नै खेलेका छन्। लिगमा उनले ३ गोल गरेका छन्। सर्जिओ बुस्केट स्पेनीस शैलीका खम्बा हुन्। 

म्यानचेस्टर सिटीका रोड्रि हर्नान्डेज, पीएसजीका कार्लो सोलर, एथ्लेटिको मड्रिडका मार्कोस लोरेन्टे र कोके मिडफिल्डमा एनरिकका विकल्प हुन्। एनरिकले बार्सिलोनाको सेटलाई एकसाथ नखेलाएर यी मध्येबाट पनि मिडमा प्रयोग गर्न सक्छन्। 

फरवार्डमा सुधार, नयाँमाथि विश्वास

सर्जियो रामोस

फरवार्डमा पनि स्पेनीस क्लबकै खेलाडीले स्थान बनाउँदा बार्सिलोनाका दुई खेलाडी परेका छन्। तर फ्रेन्च र जर्मन क्लबका फरवार्डले पनि स्पेनीस टिममा मौका पाएका छन्। 

अघिल्लो सिजन चोटका कारण आधा सिजननै मैदान बाहिर रहेका अंशु फाती पनि स्पेनको टोलीमा छन्। २० वर्षीय फाती स्पेनमा गोलको खडेरी तोड्ने आशा गरिएका फरवार्ड हुन्। तर उनले बार्सिलोना पछिल्ला खेलमा समय पाउन संघर्ष गर्नु परेको छ। एनरिकले यसपटक उनीमाथि बढी आशा गर्नेछन्। 

१४ खेलमा सामेल फातीले धेरैजसो वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नु परेको छ। तर उनले कमै मौका पाउँदा पनि जारी सिजन ३ गोल र ३ असिस्ट प्रदान गरेका छन्। म्यानचेस्टर सिटीमा कमै मौका पाएका फेरान टोरेस पनि ला लिगा क्लबमा आए। २२ वर्षीय टोरेसले पनि बार्सिलोनामा १३ खेल खेलेका छन्। जसमा उनले २ गोल मात्रै गरेका छन्। 

बार्सिलोना अहिले ला लिगाको शीर्षस्थानमा छ। 

एथ्लेटिको मड्रिडका फरर्वाड अल्भारो मोराटाले राष्ट्रिय टिममा २०१० मै डेब्यु गरेका हुन्। यसअघिका खेलमा खासै जम्न नसकेका ३० वर्षीय मोराटा यो सिजन भने लयमा देखिएका छन्।

एथ्लेटिको मड्रिडमा उनले १४ खेलमा ५ गोलर १ गोलमा असिस्ट प्रदान गरेका छन्। अर्का युवा फरवार्ड निको विलियम्सले पनि स्पेनको टोलीमा स्थान बनाएका छन्। एथ्लेटिक क्लबबाट व्यवसायीक फुटबल खेल्ने विलियम्स तीव्र गतिका फुटबलर हुन्। २० वर्षीय विलियम्स बिलबाओका प्रमुख फरवार्ड हुन्। 

उनले जारी सिजन १४ खेलमा ३ गोल र ३ गोलमा असिस्ट दिएका छन्। प्रशिक्षक एनरिकको रोजाइमा अर्का पनि युवा फरवार्ड नै छन्। २० वर्षीय यरेमी पिनो स्पेनिस क्लब भिल्लारियलबाट खेल्छन्। १३ खेल खेलिसकेका उनले मात्रै एक गोल गरेका छन्। 

रियल मड्रिडका फरवार्ड मार्को एसेन्सिओ लगातार दोश्रो पटक स्पेनिस टोलीमा सामेल छन्। २०१८ को विश्वकप खेलेका २६ वर्षीय एसेन्सिओले क्लबमा भने कमै मौका पाएका छन्। लिगमा ९ खेल खेल्दा उनले मात्रै एक गोल गरेका छन्, २ गोलमा असिस्ट छ। स्पेनको टोलीका पछिल्लो समयका नियमित सदस्य हुन् डानी ओल्मो।

जर्मन क्लबबाट व्यावसायिक फुटबल खेल्छन्। लेइपजिगमा उनले १० खेल खेल्दा मात्रै १ गोल र २ असिस्ट प्रदान गरेका छन्। स्पेनको फरवार्ड लाइनमा छानिएका अर्का खेलाडी हुन् पाब्लो सराविया। फ्रेन्च क्लब पीएसजीबाट व्यावसायिक फुटबल खेल्ने सरावियाले पछिल्लो समय मैदानमा कमै समय पाएका छन्। उनले १२ खेलमा मौका पाए पनि गोल गर्न भने सकेका छैनन्। 

टोलीमा धेरैजसो स्पेनिस क्लबकै डिफेन्डरले स्थान पाएका छन्। तर चेल्सीका सिजर लिक्वेटा र म्यानचेस्टर सिटीका आयमेरिक लापोर्ते जस्ता अनुभवी डिफेन्डर पनि समेटिएका छन्। 

२६ वर्षीय लापोर्ते स्पेनका तीन क्लबमा खेलेर सिटी पुगेका हुन्। २०१८ को विश्वकप खेलेका रियल मड्रिडका डानी कार्वाजलले पनि यस पटक निरन्तरता पाएका छन्। मिडफिल्ड र फरवार्डमा अधिकांश उदीयमान खेलाडी रोजेका एनरिकले डिफेन्समा भने अनुभवीलाई रुचाएका छन्। 

भ्यालेन्सियाका २७ वर्षीय जोसे गया र २२ वर्षीय ह्युगो, भिल्ला रियलका २५ वर्षीय पाउ टोरेस स्पेनीस टिममा परेका छन्। 

समूह चरणमै जर्मनीसँगको चुनौती


कतार विश्वकपमा स्पेन समूह ई मा रहेको छ। स्पेन रहेकै समूहमा छ जर्मनी। यो समूहमा स्पेन र जर्मनीलाई अघिल्लो चरण पुग्ने बढी सम्भावना भएका टिमको रुपमा हेरिएको छ। 

यी देशलाई एसियन पावर हाउस मानिने जापान अर्को चुनौती बन्न सक्छ। यस्तै कोस्टारिकाले पनि यो विश्वकपमा सर्पाइज दिनसक्छ। विश्वकपका पूर्वविजेता दुई देश एउटै समूहमा पर्ने स्पेन र जर्मनी मात्रै हुन्।

पछिल्लो खेलमा जर्मनीमाथि स्पेन हाबी छ। पछिल्ला दुई वर्षमा दुवै देशको टिममा व्यापक परिवर्तन छ। यी दुई देश २०२० को नेसन लिगमा समूह चरणमै भेट भएका थिए। त्यतिबेला स्पेनले जर्मनीलाई ६–० ले पराजित गरेका थिए। जुन खेलमा ह्याट्रिक गरेका फेरान टोरेससहित रोड्रि र मोराटा पनि अहिलेको स्पेनको टिममा छन्। समूह चरणकै पहिलो खेलमा भने १–१ को बराबरी खेलेका थिए। 

स्पेन र कोस्टारिका तीन पटक भिडेका छन्। जसमा २ मा स्पेन विजयी भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ। २०१७ मा स्पेनले कोष्टारिकालाई ५–० ले पराजित गरेको थियो। 

विश्वकपमा २०१० मा स्पेन र जर्मनी भेट भएका थिए। जर्मनीलाई १–० ले स्पेनले पराजित गरेको थियो। स्पेन र जापान भने २००१ पछि भिडेका छैनन्। त्यतिबेला मैत्रीपुर्ण खेलमा स्पेन १–० ले विजयी भएको थियो। 

जापानले २०१८ को विश्वकपमा पनि समूह चरण पार गरेको थियो। अन्तिम १६ मा बेल्जियमलाई कडा टक्कर दिएको जापान ३–२ ले पराजित भयो। 

जर्मनी भने पछिल्लो पटक सेप्टेम्बरमा इङल्याण्डसँग ३–३ को बराबरी खेलेको थियो। त्यसअघि इटालीलाई ५–० ले हराएको थियो। कतारमा समूह चरणको पहिलो खेलमा जापान र जर्मनी तथा स्पेन र  कोष्टारिका भिड्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .