ad ad

खेल


विश्वकपका ६ रोचक भिडन्त: जसले समूह चरणमै टुंगिन सक्छ ठूला टोलीको यात्रा

विश्वकपका ६ रोचक भिडन्त: जसले समूह चरणमै टुंगिन सक्छ ठूला टोलीको यात्रा

नेपालखबर
मंसिर ३, २०७९ शनिबार २०:५४, काठमाडौँ

आइतबारदेखि विश्वकप फुटबल सुरू हुँदैछ। ३२ देश सहभागी अन्तिम विश्वकपमा यस पटक पनि केही ठूला टिम समूह चरणमै भेट हुने छन्। आठ समूहमा चार/चार वटा टिम छन्। हरेक समूहबाट दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्। 

एक समूहको विजेताले अर्को समूहको उपविजेतासँग अन्तिम १६ मा भिड्ने भएकाले हरेक टिम समूह विजेता बन्न चाहन्छन्। त्यसो त ठूला भनिएका टोलीको यात्रा पनि समूह चरणमै समाप्त भएको छ। 

विश्वकप इतिहासमै २००६ पछिका साविकविजेताको यात्रा समूह चरणमै टुंगिदै आएको छ। यो मामिलामा फ्रान्सको परीक्षाा यस पटक हुनेछ। तर समूह चरणको ड्र पछि नै केही खेललाई भने गर वा मरको रुपमा हेरिएको छ।

अर्जेन्टिनाविरुद्ध पोल्याण्ड 
अर्जेन्टिना र पोल्याण्ड एउटै समूहमा छन्। यी दुई टोलीको भिडन्त समूह चरणको अन्तिम खेलमा मंसिर १४ गते राति १२ः ४५ बजे हुनेछ। २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना समूहको उपविजेता बन्दै मुस्किलले अघिल्लो चरण पुगेको थियो। 

अन्तिम १६ मा फ्रान्ससँग भेट भएपछि ४–३ ले हार्दै अर्जेन्टिनाले त्यो विश्वकपमा बिट मार्यो। यस पटक लियोनल मेस्सीको टिमलाई रोबर्ट लेवान्डोस्कीको टिम समूहचरणमा भारि पर्ने सक्ने आकलन गरिएको छ। अरु विश्वकपमा जस्तै अर्जेन्टिनालाई यस पटक पनि दाबेदार मानिएको छ। 

तर, पोल्याण्डसँगको भिडन्तले उसको सक्कली खेलको परीक्षा हुनेछ। 

अहिलेसम्म यी टोलीको विश्वकपमा जम्मा दुई पटक भेट भएको छ। १९७४ मा भएको विश्वकपमा पोल्याण्डले अर्जेन्टिनालाई ३–२ ले पराजित गरेको थियो। अर्को पटक यी टोलीको १९७८ मा भेट भयो। 

जहाँ अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको थियो। २०११ मा भएको मैत्रीपुर्ण खेलमा पनि पोल्याण्डले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। 

विश्वकपमा यी टोली तेश्रो पटक भिड्न लागेका हुन्। यहि समूहमा मेक्सीको र साउदी अरेविया छन्। मेक्सीकोलाई पनि यो समूहको कडा टोलीका रुपमा हेरिएको छ। २०१८ को विश्वकपमा मेक्सीकोले जर्मनीलाई समूह चरणमा पराजित गरेको थियो। यो समूहमा यी दुई ठूला टोलीलाई मेक्सीकोको समेत डर रहनेछ। 

फ्रान्सविरुद्ध डेनमार्क 
विश्वकप फुटबलमा साविक विजेताको इतिहास बिर्सन लायक छ। समूह डी को फ्रान्स साविक विजेता समेत हो। यसअघिका विजेताकै नियती दोहोरिए फ्रान्स समूह चरणबाटै बाहिरिन सक्छ। स्टार खेलाडीले भरिएको फ्रान्सले पछिल्ला खेलमा राम्रो प्रदर्शन पनि गर्न सकेको छैन। 

तर, फ्रान्सलाई फेरि पनि विश्वकप जित्न सक्ने टोलीका रुपमा हेरिएको छ। फ्रान्स रहेको समूहमा अष्टे«लिया, डेनमार्क र ट्युनिसिया छन्। यो समूहमा डेनमार्क र फ्रान्सको खेललाई रोचक मानिएको छ। 

गत विश्वकपमा पनि यी टोली एउटै समुहमा परेका थिए। जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो। फ्रान्स समूह विजेता बन्दा डेनमार्कले उपविजेताको रुपमा अघिल्लो चरणको यात्रा गर्यो।

२०२२ को नेशन लिगमा यी टोलि दुई पटक भिडेका छन्। दुवै खेलमा डेनमार्क विजयी भएको थियो। पहिलो खेलमा २–१ ले विजयी डेनमार्कले दोश्रो खेलमा २–० को नतिजा आफ्नो पक्षमा पार्यो। यस पटक पनि यी टोलीको भिडन्त रोचक हुनेछ। यो खेल मंसिर १० गते ९ः४५ बजे हुनेछ। 

स्पेनविरुद्ध जर्मनी
पूर्व विश्वकप विजेता दुई टोली एउटै समूहमा रहेको समूह ई हो। जहाँ स्पेन र जर्मनी छन्। चार पटकको विश्व विजेता जर्मनी र एक पटकको विजेता स्पेनको खेललाई पनि कडा रुपमा हेरिएको छ। पछिल्लो पटक २०१० मा स्पेन र २०१४ मा जर्मनीले विश्वकप जितेका थिए। तर यस पटक यी दुई टोलीको भेट समूह चरणमै हुने भएको छ। 

यी दुई समूहको इतिहास हेर्दा पछिल्लो २२ वर्ष यता जर्मनीले स्पेनलाई हराउन सकेको छैन। सन् २००० मा ४–१ ले जितेको जर्मनीले त्यसपछि ७ पटक स्पेनको सामना गरेको छ।

जसमा २ पटक १-१ को बराबरी भएको छ भने बाँकी सबै खेल स्पेनले जितेको छ। पछिल्लो पटक २०२० को नेशन लिगमा यी टोली भेट भएका थिए। सेप्टेम्बरमा भएको पहिलो खेल १-१ को बराबरीमा टुंगिए पनि नोभेम्बरमा स्पेनले ६-० को पराकिलो जित दर्ता गर्यो।

यो समूहबाट दुवै टोलीलाई अघिल्लो चरणमा प्रवेश गर्न सक्ने बलियो संभावना भएका टिमको रुपमा हेरिए पनि यी दुईबिचको मंसिर १११ गते मध्यरातको खेल भने थप रोचक हुनेछ। यी दुई टोलीलाई कोस्टारिका र जापान पनि समूह चरणमै चुनौती बन्न सक्छन्।

बेल्जियमविरुद्ध क्रोयसिया
समूह चरणको अर्को कठिन खेल हुनेछ बेल्जियमविरुद्ध क्रोयसियाको। क्रोयसिया साविक उपविजेता हो भने बेल्जियम पनि निक्कै बलियो टिम हो। सन् २००० पछि यी टोली ८ पटक भिडेका छन्। जसमा दुवै टोलीले समान तीन खेल जित्दा दुई खेल बराबरीमा टुंगिएका थिए। 

पछिल्ला दुई खेलमा भने बेल्जियम हाबी छ। एक वर्ष पहिले मैत्रीपुर्ण खेल बेल्जियमले १-० ले जितेको थियो। त्यसअघि २०१३ मा पनि बेल्जियम नै २–१ ले विजयी भएको तथ्य छ। 

यी दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन्। २०१८ को विश्वकपमा यी दुवै टोलीले इतिहास रचेका हुन्। जसमा बेल्जियम पहिलो पटक सेमिफाइनल पुग्दा क्रोयसिया पहिलो पटक फाइनलमा पुगेको थियो।

यो विश्वकपमा समूह एफबाट यी नै दुई टोलिलाई अघिल्लो चरण पुग्न सक्नेन टिमका रुपमा हेरिएको छ। यो समूहमा क्यानडा र मोरक्को पनि छन्। 

ब्राजिलविरुद्ध स्विटजरल्याण्ड
लगातार दोश्रो पटक ब्राजिल र स्विटजरल्याण्ड एउटै समूहमा परेका हुन्। यस पटक समूह जी मा सर्विया र क्यामरुनसँगै यी दुई टोली परेका हुन्। २०१८ को विश्वकपमा समूह ई मा परेका थिए। त्यतिबेला १–१ को बराबरी भएको थियो। 

७२ वर्ष पहिलेबाटै यी टोलीको भिडन्त कडा हुने गरेको छ। यो अवधिमा ९ पटक भिड्दा ब्राजिल ३ पटक र स्विटजरल्याण्ड २ पटक विजयी भएका छन्। चार खेल बराबरीमा टुंगिएका छन्। 
२०१३ मा स्विटजरल्याण्डले ब्राजिललाई १–० ले पराजित गरेको थियो। तर त्यसअघि २००६ मा भने ब्राजिल २–१ ले विजयी भएको थियो। 

यी दुई टोलीको खेल यो विश्वकपमा पनि कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विश्वकप फुटबलको कुरा गर्दा ब्राजिल सर्वाधिक सफल टोली हो। उसले ५ पटक विश्वकपको उपाधि उचालेको छ। स्विटजरल्याण्ड भने एक पटक सेमिफानलसम्म मात्रै पुग्न सकेको थियो। 

१९५४ मा सेमिफाइनल खेलेको स्विटजरल्याण्ड त्यसपछि उँभो लाग्न नसके पनि सर्वाधिक सफल ब्राजिलका लागि सधैं कठिन टिम बन्दै आएको छ। यो खेल मंसिर १२ गते ९ः४५ बजे हुनेछ। 

पोर्चुगलविरुद्ध उरुग्वे
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह चरणमै लुइस सुवारेजको टिम उरुग्वे प्रतिस्पर्धी पाएको छ। कुनै समयका यी दुई स्टार कट्टर प्रतिद्वन्द्वी हुन्। ला लिगा क्लब बार्सिलोनामा सुवारेज र रियल मड्रिडबाट रोनाल्डो खेल्थे।

मेस्सीसँगै यी दुईबिच पनि गोल्डेन बुटको प्रतिस्पर्धा चल्थ्यो। मेस्सीका सहकर्मी सुवारेजले एक सिजन रोनाल्डोलाई पछि पार्दै सर्वाधिक गोलकर्ता समेत बनेका थिए। पछिल्लो समय यी दुवै स्टार ला लिगाबाट बाहिरिएका छन्। सधैं भेटिने सुवारेज र रोनाल्डोका देश पोर्चुगल र उरुग्वेको भने विश्व फुटबलमा बिरलै भेट हुने गरेको छ।

अहिलेसम्म यी दुई टोली जम्मा तीन पटक भिडेका छन्। तर लगातार दोश्रो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। २०१८ को विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए। जतिबेला उरुग्वेले २–१ ले पराजित गर्दै पोर्चुगलको यात्रा टुंग्याइदिएको थियो। 

त्यसअघि १९७२ मा १–१ को बराबरी खेलेका यी टोली १९६६ मा भेट हुँदा भने पोर्चुगल ३–० ले विजयी भएको थियो। तर ती दुवै खेल मैत्रीपुर्ण थिए। विश्वकपमा भने यो दोश्रो भेट हो। 

यी दुई टोली मध्ये एउटाको यात्रा समूह चरणमै टुंगिने संभावना समेत उतिकै छ। यहि समूह एच मा दक्षिण कोरिया जस्तो बलियो टिम पनि छ। कोरियाले गएको विश्व्कपमा जर्मनीलाई २–० ले पराजित गर्दै समूहचरणबाटै बिदा गरेको थियो। त्यसपछि कोरियालाई बलियो टोलीका रुपमा लिइँदै आएको छ। घाना पनि समूह एच मै छ। पोर्चुगल र उरुग्वेका लागि घाना र कोरिया पनि तगारो बन्न सक्छन्। 

पोर्चुगल र उरुग्वे मंसिर १२ गते १२ः४५ बजे भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .