ad ad

खेल


यी कारण नौलो हुँदै छ कतार विश्वकप

यी कारण नौलो हुँदै छ कतार विश्वकप

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ८:१३, काठमाडौँ

आइतबारबाट कतारमा फिफा विश्वकप २०२२ सुरु भएको छ। यो विश्वकप यसअघिका विश्वकपको तुलनामा नौलो हुन गइरहेको छ। यहाँ यो विश्वकपमा केही नौला कुराहरु उल्लेख गरिएको छ– 

हरेक दिन सबैभन्दा धेरै खेल 
यो विश्वकप सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपपछि अहिलेसम्मकै सबैभन्दा कम अवधिको विश्वकप हुनेछ। यो प्रतियोगिता आइतबारबाट सुरु भएर डिसेम्बर १८ सम्म चल्नेछ। अर्थात् केवल २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ। 

यसको अर्थ आयोजकले समूह चरणका खेलमा अधिकांश प्रत्येक  दिन चार खेल हुनेछन्। अधिकांश विश्वकपमा प्रत्येक दिन तीन खेल हुँदै आएका थिए। साथै यो विश्वकपमा अन्तिम १६ र समूह चरणका खेल हुने दिनको बीचमा अन्तर छैन अर्थात् समूह चरणको खेल सकिएको दोस्रो दिन नै अन्तिम १६ को खेल सुरु हुनेछ। 

यो विश्वकपमा सबैभन्दा टाढा रहेका दुई स्टेडियमबीचको दूरी करिब ६४ किलोमिटर छ। यो दूरी तय गर्न ट्राफिक जामको समस्या नभए ५० मिनेट लाग्छ। 

डिस्पोजेबल स्टेडियम 

यो प्रतियोगिताको लागि बनाइएका आठ स्टेडियममध्ये सात स्टेडियमलाई अर्को प्रयोजनका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। यी सात स्टेडियम प्रतियोगिता सकिएपछि हटाइनेछ र स्टेडियम ९७४ लाई भने पूर्णरुपमा हटाइनेछ। यो स्टेडियम कन्टेनरहरुबाट बनाइएको छ। 

फाइनल खेलपछि दुई लाख कुर्सी हटाइनेछ र आयोजकले यी कुर्सीहरु विकासशील मुलुकलाई दिनेछ। 

बस्ने स्थानको कमी 
कतार आकारको हिसाबमा विश्वका १०० ठूला सहरभन्दा पनि सानो छ। यस्तोमा कतारले यसअघिका विश्वकपमा जस्तो सबैलाई राम्रो आवासको व्यवस्था भने गर्न सक्दैन। 

गत र्माचमा कतारमा केवल ३ हजार होटल रुम थिए। आधिकारिक तथ्यांकअनुसार यो विश्वकपमा विश्वभरबाट करिब १५ लाख मानिस आउने अपेक्षा छ। 

आयोजकले एक लाख ३० हजार कोठाको प्रबन्ध गर्न सक्ने बताएको छ। यसमा फ्यान भिलेजेज, टेन्ट र मेटल क्याबिनमा नौ हजार विस्तरा, अपार्टमेन्ट र भिल्लामा ६० हजार कोठा। होटलमा ५० हजार कोठा र प्रतियोगिताको क्रममा समुद्री किनारामा रोकिएका दुई क्रुज पोतमा चार हजार कोठा सामेल छन्। 

यसको अर्थ कतारमा फुटबल हेर्न जाने मानिसहरुले ओमान, साउदी र यूएईजस्ता मुलुकमा बस्नुपर्ने हुन सक्छ। उनीहरु विमानमार्फत खेल हेर्न आउनुपर्ने हुन सक्छ। 

ठूला नयाँ आधारभूत संरचना 
यो प्रतियोगिताको लागि  कतारले ठूलो संख्यामा नयाँ आधारभूत संरचनाको निर्माण गरेको छ। स्टेडियमका साथै एक सय नयाँ होटल बनाइएको छ र नयाँ सडक र एक मेट्रोको पनि निर्माण गरिएको छ। लुसेलमा अन्तिम स्टेडियमको चारैतर्फ एक नयाँ सहर नै बनाइएको छ। स्टेडियम र ट्रेनिङ सेन्टरलाई मात्र ५ अर्ब ३० करोड पाउण्डबराबरको रकम खर्च गरिएको छ। 

टिकट बिक्री 
बस्ने स्थानको पर्याप्त व्यवस्था नहुने आशंकाका बीच अक्टोबरसम्म २८ लाख ९० हजार टिकट बिक्री भइसकेको थियो। यसको अर्थ यो विश्वकप अहिलेसम्मकै सबैभन्दा धेरै मानिसको भिड हुने विश्वकप हुनेछ। 

कति बियरको व्यवस्था? 
कतारमा एक बियरको मूल्य १० देखि १५ पाउण्ड छ। यद्यपि बियर खरिदको लागि निश्चित क्षेत्र मात्र तोकिएको छ। सामान्यरुपमा कतारको अनुमतिप्राप्त होटल, बार र रेष्टुरेन्टमा बियर सहजरुपमा उपलब्ध हुनेछ। विश्वकपको क्रममा फ्यान क्षेत्र र स्टेडियमको बाहिरी क्षेत्रमा भने बियरको बिक्रीमा प्रतिबन्ध लगाइएको छ। निश्चित क्षेत्रभन्दा बाहिर बियर सेवन गर्नेलाई ६ महिनाको जेल सजाय वा ७ सय पाउण्डबराबरको सजाय हुन सक्छ। 

कार्बन उत्सर्जन 
यो प्रतियोगिताको क्रममा  ३६ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन हुन सक्ने अनुमान गरिएको छ। रुसमा भएको विश्वकपमा २१ लाख टन कार्बन उत्सर्जन भएको थियो। 

आप्रवासी कामदारको मृत्युबारे आलोचना 
गत वर्ष गार्जियनमा प्रकाशित एक रिपोर्टका अनुसार कतारलाई विश्वकप आयोजनाको अधिकार मिलेसँगै  सन् २०१० देखि २०२० को बीचमा भारत, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका ६५ सय आप्रवासी कामदारको संरचना निर्माणको क्रममा मृत्यु भएको थियो। 

कतार सरकारले भने यो प्रतिवेदन भ्रमित पार्ने किसिमको रहेको र सबैको मृत्यु विश्वकपका संरचना निर्माणको क्रममा नभएको बताउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .