एसियन राष्ट्र जापान एक खेल अघि नै नकआउट चरण पुग्ने संभावना बलियो बनेको छ। समूह चरणको पहिलो खेलमा सनसनी मच्चाएको जापानले सोही लय कायम राखे आइतबार उसका लागि सहज प्रतिस्पर्धी छ। ८ वर्ष पहिलेको विश्वकपमा तहल्का मच्चाएको कोस्टारिका पछिल्लो समय खराब लयमा छ।
२०१४ मा समूह चरणमा उरुग्वे, इटली र इङ्ल्याण्डमाथि हाबी कोस्टारिका समूह विजेता बन्दै अघिल्लो चरणको यात्रा गरेको थियो। जतिबेला इटली र इङ्ल्याण्ड समूहचरणबाटै बाहिरिएका थिए।
जापान र कोस्टारिका दिउँसो ३ः४५ बजे भिड्दैछन्। पहिलो खेलमा कोस्टारिका स्पेनसँग ७–० को पराकिलो अन्तरमा पराजित भएको थियो। यो समूहमा कोस्टारिका कमजोर टोली हो।
पहिलो खेलमा जर्मनीमाथि २–१ को पुर्नरागमन जित निकालेको जापानले आज कोस्टारिकालाई पराजित गर्न सके अघिल्लो चरणको संभावना बलियो बन्छ। यो अवस्थामा स्पेन र जर्मनीको आजै राति हुने खेलको नतिजामा भर पर्छ।
स्पेनले जर्मनीलाई पराजित गरे अथवा बराबरी भए जापन एक खेल अघि नै अन्तिम १६ मा पुग्छ। जर्मनीले स्पेनलाई पराजित गरे पनि जापानको अघिल्लो चरणको यात्रा समाप्त भने हुने छैन।
अन्तिम खेलको नतिजापछि मात्रै समूहबाट अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ। आज जित निकाल्न सक्यो भने जापानको संभावना बलियो हुने छ। अन्तिम खेलमा हारे पनि उसले नकआउट पुग्ने संभावना रहन्छ।
पछिल्लो २० वर्षमा जापान र कोस्टारिका ४ पटक भिडेका छन्। यी सबै मैत्रीपुर्ण खेलमा जापान हाबी छ। २००२ मा १–१ को बराबरी भए पनि बाँकी तीन खेलमा जापान विजयी भएको थियो। २०१४ मा भएका दुवै खेलमा जापानले समान ३–१ ले पराजित गरेको थियो।
२०१८ मा जापान ३–० ले विजयी भयो। आजको खेलमा जापान सोही नतिजा कायम राख्न चाहन्छ। कोस्टारिका भने बलियो मानिएको जापानलाई रोक्ने रणनीतिमा हुनेछ।
Shares
प्रतिक्रिया