ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा एमालेले मध्यराति एकाएक बोली फेरेपछि‍‍‍ अन्योलमा दीर्घ सोडारी

सुदूरपश्चिममा एमालेले मध्यराति एकाएक बोली फेरेपछि‍‍‍ अन्योलमा दीर्घ सोडारी

सागर न्यौपाने
बैशाख ५, २०८१ बुधबार १२:४३, काठमाडौँ

सत्ता साझेदार नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई स्वीकार गर्न नसक्ने अडान लिएपछि सुदूरपश्चिमको सत्ता राजनीति थप पेचिलो बनेको छ।

एमालेको अडानका कारण मुख्यमन्त्री पदमा अहिलेसम्म दाबी पेस हुन सकेको छैन।

सो प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबीच वैशाख ४ गते दिउँसो समझदारी जुटेको थियो।

तर राति १० बजेपछि एमालेले बोली फेरेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले गुनासो गरे।

‘सहमति एकीकृत समाजवादीलाई दिने भनेरै उहाँ (दीर्घ सोडारी) ले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन गर्नुभएको समर्थन फिर्ता लिनुभएको हो। नेकपा एमालेका साथीहरुले त्यत्तिकै अत्तो थापिरहेका छन्,’ धामीले नेपालखबरसँग भने, ‘एमालेले गठबन्धनलाई कसरी अगाडि बढाउँछ उसको हातमा छ।’

‘दीर्घ सोडारी बाहेकका पात्र हुनुपर्ने एमालेको भनाइ आएको छ, सहमति भएको कुरा कार्यान्वयन नगरेर व्यक्तिका कुरा गर्नु उचित होइन, यद्यपि, कहिँ समस्या हुन सक्छ, त्यसलाई लिएर राष्ट्रिय र प्रदेशमै उल्झन हाल्नु राजनीतिक विषय होइन।’

तर, दलसँग सहमति भइसकेपछि र उसैले नेतृत्व गर्ने समझदारी जुटेको विषयलाई रोक्न नहुनेमा माओवादी र नाउपाका सांसद छन्।

‘समाजवादीले जसलाई पठाए पनि उहाँहरूको कुरा हो, हामी छलफलमै छौँ, सकारात्मक परिणामको अपेक्षामा छौँ,’ नाउपाका एक सांसदले भने, ‘केन्द्रबाटै निर्देशन भन्दै एमालेका साथीहरु दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन नहुनेमा हुनुहुन्छ भन्ने अनौपचारिक रूपमा कुरा बाहिरिएको छ।’

एमालेका सांसदले बोली फेरेपछि सुदूरपश्चिमका माओवादी, एकीकृत समाजवादीका नेताहरुले केन्द्र गुहारेका छन्। उनीहरूले प्रधानमन्त्रीसँग पनि छलफल गरेर मिलाउन आग्रह गरेका छन्।

‘केन्द्रमा प्रयास गर्छाै, भन्नुभएको हो। बेलुका नै साढे १० बजे प्रधानमन्त्री प्रचण्डलाई पनि जानकारी गराइसकेका छौँ, उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्छु भन्नुभयो।’

तर, ओली इलाम २ को उपचुनाव प्रचार सभालाई सम्बोधन गर्न गएका छन्। ओली नफर्की प्रचण्डसँग कुरा हुने अवस्था देखिदैँन। त्यही भएर सुदूरपश्चिमका नेताहरु केन्द्रको निर्देशन कुरिरहेका छन्। प्रदेश प्रमुख नजिर मियाँले दलहरूलाई भोलि बिहीबारसम्म दाबी पेस गर्न समय दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .