ad ad

सुदूरपश्चिम


छाउगोठमा बेहोस भेटिएकी किशोरीको बयान- पिसाब फेर्न निस्कँदा आक्रमण भयो

सामूहिक बलात्कारको आशंकामा अनुसन्धान
छाउगोठमा बेहोस भेटिएकी किशोरीको बयान- पिसाब फेर्न निस्कँदा आक्रमण भयो

गोकुल जोशी
असार ८, २०८१ शनिबार १३:३, कञ्चनपुर

छाउगोठमा बेहोस अवस्थामा भेटिएकी अछामको पञ्चदेवल विनायक नगरपालिका–२, रिठेतोलाकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

बलात्कार आरोपमा पक्राउ परेका सोही ठाउँका १७ वर्षीय किशोरमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, अछामका डीएसपी सन्तोष पाठकका अनुसार अदालतबाट ४ दिनको थुना म्याद लिएर ती किशोरमाथि अनुसन्धान भइरहेको हो। 

यस्तै, सामूहिक बलात्कारको आशंकामा अन्य सूचना संकलन गर्ने काम पनि प्रहरीले गरिरहेको छ। पीडित किशोरी अहिले जिल्ला अस्पतालमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको प्रहरीले जनाएको छ। 

पीडित किशोरी र पक्राउ परेका बलात्कार आरोपी १७ वर्षीय किशोरको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षण गरिएको छ। तर, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त नभइसकेको प्रहरीको भनाइ छ।

मंगलबार छाउगोठमा अचेत अवस्थामा फेला परेकी ती किशोरीको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएपछि घटना बाहिरिएको थियो। 

सोमबार राति २ बजेतिर शौच गर्न बाहिर आएको बेला आफूमाथि बलात्कार भएको किशोरीले बताएकी छन्। पिसाब गर्न गएका बेला ती किशोरले आक्रमण गरे र अरू मान्छे पनि बोलेको आवाज सुनिएको उनको भनाइ छ। 

पीडित किशोरीको बयानको आधारमा सामूहिक बलात्कारको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको हो। पञ्चदेवल विनायक नगरपालिका–६ की ती किशोरी पञ्चदेवल विनायक–२ स्थित मामा घरमा बस्दै आएकी थिइन्। 

आमा बितेपछि उनका बुवा अर्को बिहे गरेर भारतमा बस्दै आएका छन्। मामा–माइजू पनि कामको सिलसिलामा भारतमा छन्। किशोरी र तिनका भाइ मात्रै मामा घरमा बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .