ad ad

सुदूरपश्चिम


यी उत्कृष्ट प्रधानाध्यापक : जसले दुर्गममा प्राविधिक विषय पढ्ने अवसर जुराए, विद्यार्थी संख्या ह्वात्तै बढाए

यी उत्कृष्ट प्रधानाध्यापक : जसले दुर्गममा प्राविधिक विषय पढ्ने अवसर जुराए, विद्यार्थी संख्या ह्वात्तै बढाए

गोकुल जोशी
असार ९, २०८१ आइतबार ७:०, कञ्चनपुर

बाजुराको मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज तिमिल्सिना सुदूरपश्चिम प्रदेशका उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन्।

सामुदायिक विद्यालय प्रधानाध्यापक संघले प्रदान गर्ने लक्ष्मीदास मानन्धर स्मृति पुरस्कार सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तिमिल्सिनाले प्राप्त गरे। 

विगत ३७ वर्षदेखि शिक्षण पेसामा आबद्ध उनी सुदूरपश्चिम प्रदेशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्ये सर्वोत्कृष्ट छनोट भएर नगद पुरुस्कारसहित सम्मानित भएका हुन्।

सुदूरपश्चिमको विकट क्षेत्र बाजुरामा सामुदायिक विद्यालयको कुशल सञ्चालन र व्यवस्थापन गरेको भन्दै उनी पुरष्कृत भएका छन्। 
संघर्षपूर्ण जीवन, कमाइसँगै अध्ययन

कठोर संघर्ष र पेसाप्रतिको लगावले तिमिल्सिनालाई सफलतातर्फ डोर्‍याइरहेको छ। बाजुराको बुढीगंगा नगरपालिका–६, बेलकाटियामा जन्मिएका उनले डेढ वर्षको उमेरमा बुवा गुमाए। 

उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। तिमिल्सिनाका दाइ आँखा देख्दैनन्। कान्छा भाइ ७ वर्षको उमेरमा दादुराले बिते। 
पारिवारिक अवस्थाले धान्न नसकेपछि शुभराजलाई विद्यालयको शूल्क छुट थियो। पछि उनले अध्यापन गराएर कमाउँदै परिवार पाल्ने र आफ्नो उच्च शिक्षा पूरा गर्ने ध्याउन्नमा लागे।

२०२४ सालमा जन्मिएका उनले गाउँकै भानोदय माध्यमिक विद्यालयबाट एसएसएलसी उत्तीर्ण गरे। बझाङको जयपृथ्वी क्याम्पसबाट आईए गरेका उनले २०४४ सालदेखि शिक्षण पेसा सुरु गरेका हुन्। 

एसएलसी उर्तिण गरेको भानुदय माध्यमिक विद्यालयमा प्राथमिक तहको स्थायी शिक्षकका रुपमा उनले शिक्षण पेशा सुरुवात गरे। 
त्यसपछि त्रिवेणी नगरपालिकाको रामेश्वरी निम्न माध्यमिक विद्यालय, बुढीगंगाको पशुपति माध्यमिक विद्यालय र मष्टेश्वरी माध्यमिक विद्यालयमा उनले अध्यापनको काम गरे।

शिक्षणसँगै उनले आफ्नो उच्च शिक्षालाई पनि अघि बढाउँदै लगेका थिए। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अर्थशास्त्र र नेपाली मूल विषय राखेर उनले २०५० मा स्नातकसम्मको अध्ययन गरे। त्यसपछि विसं २०५४ मा नेपालीमै त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरे। 

२०५३ देखि बडीमालिका नगरपालिकाको मार्तडीस्थित मालिका माध्यमिक विद्यालयमा अध्यापनरत उनी २०६० मा मावि तहको स्थायी शिक्षक भए। इमानदारिता, व्यवस्थापकीय कुशलता र निर्विवाद छविका कारण उनी २०६३ यता निरन्तर प्रधानाध्यापकको भूमिकामा छन्।
‘यो पुरस्कार पाउँदा खुसी लागेको छ। सँगसँगै अझै जिम्मेवारी पनि थपिएको महसुस भएको छ,’ प्रधानाध्यापक तिमिल्सिनाले भने, ‘पेसाप्रति समर्पण, इमान्दारिता र लगनशीलताले यो ठाउँमा पु¥याएको छ। यो प्रेरणा मात्रै होइन, अरूलाई सिकाइ हुने पाठ पनि हो।’  

शिक्षण पेसाको लामो अवधिमा उनी अरूबेला पनि सम्मानित हुँदै आएका छन्। यसअघि उनले गोर्खा दक्षिणबाहु, राष्ट्रिय पुरुस्कार–२०६०, राष्ट्रिय शिक्षा दिवस पदक–२०६९ र ०७६ प्राप्त गरेका छन्।

दुर्गमका विद्यार्थीलाई प्राविधिक शिक्षा 
तिमिल्सिना प्रधानाध्यापक रहेको मालिका माध्यमिक विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्मको पढाइ मात्रै होइन, प्राविधिक विषय पनि अध्यापन हुन्छ। सीटीईभीटीको सिभिल इन्जिनियरिङ पढाइ हुने बाजुराको पहिलो स्कुलमा पर्छ, मालिका।

तिमिल्सिना प्रधानाध्यापक भएपछि उनकै पहलमा २०६७ सालमा मालिकाले सीटीईभीटीको प्राविधिक विषय पठनपाठनको अनुमति पाएको थियो। जसले सुदूरपश्चिमको दुर्गम पहाडी क्षेत्र बाजुराका विद्यार्थीलाई आफ्नै ठाउँमा प्राविधिक विषय अध्ययन गर्ने सुविधा थपिएको थियो। अहिले देशका अन्य भूभागबाट पनि प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरू मार्तडी पुग्छन्।

अहिले बाजुराको पार्वती माध्यमिक विद्यालयमा पनि सिभिल इन्जिनियरिङ अध्यापन हुन्छ। जनप्रकाश माध्यमिक विद्यालय कोल्टीले केही वर्ष प्राविधिक विषय सञ्चालन गरे पनि अहिले पठनपाठन ठप्प छ। 

लोभलाग्दो विद्यार्थी आकर्षण, निजी विद्यालय छोडेर आउँछन्
०५३ सालतिर मालिका माध्यमिक विद्यालयमा विद्यार्थी संख्या थोरै थियो। भौतिक संरचना पनि पर्याप्त थिएनन्। द्वन्द्वकालमा विद्यार्थीलाई अस्पतालको भवनमा राखेरसमेत पठनपाठन गराउनुपरेको अनुभव तिमिल्सिनासँग छ।

‘अभिभावक भेलामा उपस्थिति निकै कम हुन्थ्यो। भौतिक संरचनाका साथै विषयगत शिक्षकको पनि अभाव थियो,’ प्रधानाध्यापक तिमिल्सिना भन्छन्, ‘अहिले स्थानीय सरकारले गर्दा पनि सामुदायिक विद्यालयको विकासमा सजिलो भएको छ।’

तीन दशकमा मालिका माध्यमिक विद्यालयको अवस्थामा ठूलो परिवर्तन आएको छ। भौतिक संरचना थपिँदै गएका छन्। विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ। दुई हजारभन्दा बढी विद्यार्थी यस विद्यालयमा अध्ययन गरिरहेका छन्।

२०६७ सालदेखि मालिकाले अंग्रेजी माध्यममा पनि पठनपाठन सुरु गरेको थियो। त्यसपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यालय मालिका आउने विद्यार्थीको संख्या बढ्नै गएको हो। जुन अहिले पनि निरन्तर चलिरहेको छ।

प्रत्येक कक्षामा तीन-चारवटा सेक्सन छन्। विद्यार्थीको आकर्षण बढ्दै गए पनि सरकारी दरबन्दीका शिक्षक नहुँदा भने समस्या झेल्नुपरेको उनको अनुभव छ। आन्तरिक स्रोतबाट शिक्षक राखेर जसोतसो व्यवस्थापन भइरहे पनि सामुदायिक विद्यालय सुधार्ने यो दिगो उपाय होइन भन्छन्, प्रधानाध्यपाक तिमिल्सिना।

‘भएको दरबन्दीका शिक्षकले मात्रै पठनपाठन सञ्चालन गराउन समस्या छ। त्यसैले ३० भन्दा बढी शिक्षक आन्तरिक स्रोतबाट राखेर पठनपाठन गराइरहेका छौँ,’ उनले भने।

त्यसो त तिमिल्सिना एउटा मालिका माध्यमिक विद्यालयका प्राधानाध्यापक मात्रै होइनन्। उनी बाजुराकै अगुवा शैक्षिक अभियन्ता हुन्। शिक्षामा उनी नयाँनयाँ प्रयोग गरिरहन्छन्। मार्तडी पुग्ने विभिन्न क्षेत्रका अनुभवी, विज्ञ तथा प्रतिभावान् व्यक्तत्वलाई आफ्नो विद्यालयमा स्रोत व्यक्तिका रूपमा बोलाइरहन्छन्। बाजुरा क्याम्पस स्थापनाको अगुवाइ उनले नै गरेका थिए। उक्त क्याम्पस स्थापना गर्दा विद्यालयको पनि ठूलो स्रोतसाधन उनले लगाएका थिए। त्यसैले यहाँ स्कुलले क्याम्पस जन्माएको भनिन्छ।

सरकारले नियमित दिएको बजेटले मात्र विद्यालयलाई पुग्दैन। कहिलेकाहीँ त शक्तिमा हुनेहरू भएको बजेट पनि काटिदिएर आफ्नो शक्ति प्रदर्शन गर्छन्। त्यसैले उनी बाजुराबाट धनगढी, नेपालगन्ज हुँदै काठमाडौँसम्म स्रोतको खोजीमा भौँतारिरहन्छन्। जसलाई भेटे पनि उनी आफ्नो विद्यालयका लागि के गर्न सकिन्छ भनेर निर्धक्कसँग भन्छन्। शाकाहारी जीवनशैली र सादगी स्वभावका उनी विभिन्न सरकारी तथा गैरसरकारी निकायमा झोला बोकेर पुग्छन्, निःसंकोच हात पसार्छन्, स्कुललाई केही गर्न सकिन्छ कि भनेर।  

यसैगरी उनी विद्यालयका १६ वटा कक्षाकोठामा स्मार्टबोर्ड जडान गरेका छन्। सीसीटीभीबाट कक्षा कोठाको निगरानी गर्न सकिन्छ, जहाँ शिक्षक समयमा पुगे-नपुगेकोदेखि विद्यार्थीका गतिविधि नियाल्न सकिन्छ। विद्यालयमा नर्सको व्यवस्थाले प्राथमिक उपचारमा सहजता आएको उनको अनुभव छ।

तिमिल्सिनाको जन्मस्थान बूढीगंगा नगरपालिकामा पर्छ। उनको गृह नगरपालिकाका कतिपयले टिप्पणी गर्छन्, शुभराजले आफ्नो गाउँ छाडेर अर्को गाउँ बनाउँदै छ। तर, तिमिल्सिनासँग यस्तो पनि अनुभव छ कि उनलाई आफ्नै ठाउँमा टिक्न नदिएर लखेटिएको थियो। उनी स्वयं भने नेपालभरिमा जहाँ भए पनि आफूले सकेको योगदान गर्न सक्नुपर्ने मान्यता राख्छन्। ‘हामी जो जहाँ छौँ, त्यहाँ आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक आफ्नो काम गर्नुपर्छ। गाउँठाउँ आफ्नो र अर्काको भन्ने हुँदैन,’ उनी भन्छन्।

सरल स्वभाव र मृदुभाषी तिमिल्सिनालाई स्थानीय समुदायले पनि आस्थापूर्वक हेर्छ। उनको इमानदारिताकै कारण नाजायज दबाब दिन र प्रभाव पार्ने आँट प्रायःले गर्दैनन्। त्यसैले विद्यालय व्यवस्थापन समितिका नाममा बाहिर जेजस्ता खेलखण्ड भए पनि स्कुलभित्र उनी हत्पत्ति त्यस्ता अभ्यास हुन दिँदैनन्। त्यसैले त देशका २ हजारभन्दा बढी विद्यार्थीले चौर भरिइरहने विद्यालयमा अनवरतरूमा झण्डै दुई दशकदेखि नेतृत्व दिइरहेका छन्, निर्विवाद र निष्कलंक।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .