ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा नाउपा विवाद : बहुमत सांसदले दलको नेताबाट घनश्यामलाई हटाए, खुसीराम चयन

सुदूरपश्चिममा नाउपा विवाद : बहुमत सांसदले दलको नेताबाट घनश्यामलाई हटाए, खुसीराम चयन

नेपालखबर
साउन १, २०८१ मंगलबार १६:२८, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दल नेता फेरिएको छ। बहुमत सांसदले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर खुसीराम डगौँरालाई नयाँ दल नेता चयन गरेका छन्। 

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको नेताको विषयमा विवाद थियो। सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। तीमध्ये ५ जनाको समर्थनमा धनश्याम चौधरी दल नेता थिए। उनलाई नाउपा संरक्षक रेशमलाल चौधरीको समेत साथ थियो।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीचको विवादले सुदूरपश्चिम संसदीय दलमा पनि विवाद देखा परेको थियो। रञ्जिताले कैलाश चौधरीलाई दल नेताको मान्यता दिएकी थिइन्। रञ्जिता पक्षका २ सांसद प्रदेश सरकारमा सामेल छन्। रेशम पक्षका ५ सांसद विपक्षी कित्तामा थिए।

रञ्जिता पक्षले २ सांसद आफूतर्फ तानेर बहुमत जुटाउँदै दल नेता खुसीराम डगौँरालाई बनाएका हुन। यसअघि रेशमलाई साथ दिँदै आएका खुसीराम डगौँरा र लक्ष्मणकिशोर चौधरी दल नेता फेर्ने निर्णयमा रञ्जिताको कित्तामा देखिएका छन्।

खुसीराम, लक्ष्मणकिशोर, कैलाश चौधरी र टीका थापा सहभागी बैठकले दल नेता परिवर्तन गरेको हो। दल नेता बनाइएका खुसीराम डगौँरा यसअघि प्रमुख सचेतकको भूमिका थिए। टीका थापालाई प्रमुख सचेतक र कैलाश चौधरीलाई उपनेताको जिम्मेवारी दिइएको छ। 

संसदीय दल नेतालगायत अन्य परिवर्तन गरेको विषयमा सोमबारै प्रदेश सभा सचिवालय पनि जानकारी गराइसकेको छ। नाउपाको संघीय संसदीय दल नेताबाट रञ्जिता श्रेष्ठलाई रेशम समूहले बहुमत जुटाएर हटाएको थियो। गंगाराम चौधरी, अरुण चौधरी र लालबीर चौधरीले रञ्जितालाई दल नेताबाट हटाएर गंगारामलाई नयाँ दल नेता बनाएका थिए।

केन्द्रमा दल नेता परिवर्तन भएको केही दिनपछि सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठ पक्षका प्रदेश सभा सदस्यसहितले रेशम पक्षका घनश्याम चौधरीलाई दलको नेताबाट बहुमतले हटाएका हुन्।

पार्टीमा देखिएको विवाद सुल्झाउन दल नेता परिवर्तन गरिएको नाउपाका उपनेता समेत चयन भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरीले बताए। 

‘पार्टीमा सांसद लुछाचुडी चल्यो। पार्टीमा देखिएको विवाद सुल्झाउन र सांसदहरुलाई एकीकृत गर्न दल नेता फेरेका हौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .