ad ad

राजनीति


फराकिलो मनका साथ संवाद गरेमा नेपाल–भारत समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

फराकिलो मनका साथ संवाद गरेमा नेपाल–भारत समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

नेपालखबर
भदौ २२, २०८१ शनिबार १६:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल र भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको स्मरण गरे।

‘ईपीजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन। भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ। प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ’, जलस्रोत विकास संस्थाद्वारा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले खुला-खुलस्तरूपमा छिमेकीसँग कुरा गर्नुपर्छ। खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन। सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नुहुँदैन।’

भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क पनि प्रधानमन्त्री ओलीले राखे।

‘पहिला-पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो,’ ओलीले भने, ‘दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि-सम्झौतामा रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरूपमा प्रस्तुत गर्नुपर्छ। साझा स्रोतमा काम गर्दा एकपक्षीयरूपमा काम गर्नुहुँदैन। दुवै पक्षको सहमति र छलफलका आधारमा गरिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .