कञ्चनपुरबाट अपहरण गरेर लुटपाट गर्ने तीनजना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय झलारीले अपहरण गरेर लुटपाटमा संलग्न शुक्लाफाँटा नगरपालिका-५ का बाश्शा भनिने रवि साउदसहित तीनजनालाई नियन्त्रणमा लिएको हो।
साउदसँगै पक्राउ पर्नेमा सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पनि छन्।
प्रहरीको विशेष ब्यूरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौँ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरेर लुटपाट गरेका थिए।
भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमदलाई सादा पोशाकका प्रहरी हौँ भनेर अपहरण गरेका थिए।
भारतीय नागरिकलाई कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर उनीहरुले यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमति पत्र लुटेका थिए।
राति नै लुटपाटमा परेका भारतीय नागरिकले अस्थायी प्रहरी बिट कलुवापुर जानकारी गराएका थिए।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीनजनालाई समातेको हो।
लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद रकम तथा मोबाइल फिर्ता गरिएको छ। पक्राउ परेको तीनैविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया