ad ad

बागमती


चुनावी सुरक्षा : फेरि ‘रेडजोन’मा दोलखा

चुनावी सुरक्षा : फेरि ‘रेडजोन’मा दोलखा

फाइल तस्बिर


उजिर कार्की
भदौ ४, २०७९ शनिबार १३:१३, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलले मंसिर ४ को निर्वाचनलाई लक्ष्य गरी सुरक्षा योजना बनाउँदै छ। कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय निर्वाचन सेल गठन भएको छ।

यो टिमले आगामी निर्वाचनका लागि सम्पूर्ण सुरक्षा योजना बनाउनेदेखि आयोग र अन्य निकायसँग समन्वयसम्म गर्नेछ। यही सेलले बनाएको सुरक्षा योजनाअनुसार आगामी चुनावमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन हुनेछन्। अन्य सुरक्षा निकायसँगको समन्वय पनि तय हुनेछ।

देशभरका हरेक मतदान केन्द्रको विश्लेषण गरेर आगामी निर्वाचनको सुरक्षा व्यवस्था मिलाइने छ। सुरक्षा चुनौतीको केन्द्रमा यसपटक पनि दोलखा भने छुट्ने छैन। हरेक निर्वाचनमा दोलखालाई सुरक्षा चुनौतीका हिसाबले अति संवेदनशील रूपमा हेरिन्छ। त्यहाँको विगत पनि त्यस्तै छ।

२०६४ पछिका ५ वटै निर्वाचनमा त्यहाँ झडप र भिडन्त भएका छन्। मानवीय क्षति भएको छ। पछिल्ला दुईवटा निर्वाचनमा पनि दोलखाको अवस्था सुध्रिएको छैन।

गत स्थानीय तहको निर्वाचनमा पनि त्यहाँ ठाउँठाउँमा झडप भए। २०७४ को निर्वाचनमा त त्यहाँ मानवीय क्षति नै भएको थियो।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई दोलखामा दलहरूबीच समन्वय नहुँदा सुरक्षा चुनौती हुने गरेको बताउँछन्। ‘त्यहाँ राजनीतिक दलहरूबीच समन्वय/सहकार्य छैन।

यसपालि समीकरण बदलीएकाले पहिलेजस्तो अवस्था नहोला कि’, प्रवक्ता राईले भने, ‘यसपालि हामी विश्वस्त छौं- त्यो खालको झडप हुने छैन। यसबीच प्रशासनले पनि समन्वयको भूमिका खेल्नुपर्छ। दुई पक्षबीच छलफल गराउनुपर्छ।’

प्रहरीले विगतबाट पाठ सिकेर र अहिलेको अवस्थालाई विश्लेषण गरेर सुरक्षा योजना बनाउने राईले बताए।

२०७४ को निर्वाचनमा के–के भयो ?

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा दोलखाका ११ वटा मतदान केन्द्रमा झडप भएको थियो। त्यस क्रममा एक जनाको मृत्यु भएको थियो। झडपमा ३२ जना घाइते भएका थिए। केही मतदान केन्द्रमा झडप नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाएको थियो। ​

जनजागृति मावि झुले नजिकैको मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा एक जनाको मृत्यु भएको थियो। १० जना घाइते भएका थिए।

कालापानी मावि जफेमा पनि त्यतिबेला झडप भएको थियो। त्यहाँको मतदान नै प्रभावित भएको थियो। बाहिरबाट आएका व्यक्ति मतदानस्थलमा प्रवेश गरेर बुथ कब्जा गर्न पुगेका थिए। उनीहरूले बुथमा आक्रमण गरेपछि मतदान नै रोकिएको थियो। अचानक बाहिरबाट आएका व्यक्तिले मतदानस्थलमा प्रवेश गरेर ढुंगामुढा प्रहार गर्दै मतपेटिका तथा मतदानका सामग्री तोडफोड गरेका थिए। झडपमा ८ जना घाइते भएका थिए।

अलम्पु गाविस भवनको मतदान केन्द्रमा पनि झडप भएको थियो। त्यहाँ ६ जना घाइते भएका थिए। त्यहाँ पनि बाहिरबाट गएको समूहले नै आक्रमण गरेको थियो। मतदान भइरहँदा बाहिरबाट पुगेका व्यक्तिले लाइन लागेका मतदातामाथि ढुंगा बर्साएका थिए।​

जनजागृति मावि सहरेमा पनि बुथ कब्जाको प्रयास भएको थियो। मतपेटिका जोगाउन प्रहरीले त्यहाँ दुई राउन्ड हवाई फायर गरेको थियो। भिरकोटको मतदान केनद्रमा पनि झडप भएको थियो। त्यहाँ मतदान प्रक्रियाको विषयमा उम्मेदवारबीच नै एक आपसमा झडप भएको थियो। झडपमा ६ जना घाइते भएका थिए।​

जफेको स्वास्थ्य चौकीस्थित मतदान केन्द्रमा पनि ढुंगामुढा भएको थियो। मतदान चलिरहँदा भएको ढुंगामुढाबाट २ जना घाइते भएका थिए।​

भुसाफेदा मतदान केन्द्रमा बाहिरि व्यक्तिहरुको घुसपैठ भएको थियो। मतदान स्थलमा बुथ कब्जा गर्न पुगेको समूहले प्रयास गरे पनि बुथ कब्जा गर्न नपाएको प्रहरीको दाबी छ।​

विद्याप्रेमी नेहनल एकेडेमी मैनापोखरी, त्रिभुवन मतदान केन्द्रमा पनि झडप भएको थियो। कालिका मावि गिही मार्बुमा र क्षमावती मावि पिपलडाँडा मतदान केन्द्रमा बाहिरबाट पुगेका अराजक समूहले ढुंगा बर्साएका थिए।

गत वैशाखमा पनि भएन शान्तिपूर्ण मतदान

ज्यानै जानेगरी झडप भएको दोलाखामा ५ वर्षपछि पनि शान्तिपूर्ण मतदान हुन सकेन। गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि त्यहाँ शान्तिपूर्ण मतदान भएन। तर विगतमा भन्दा कम झडप भएको प्रहरीको तथ्यांक छ।

स्थानीय तहको निर्वाचनमा त्यहाँ ५ वटा मतदान केनद्रमा झडप भयो। जनजाति पुतलीकाठ मतदान केन्द्रमा झडप भएको थियो। त्यहाँ नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भयो। झडपमा प्रहरीमाथि नै ढुंगामुढा भएको थियो।​

कालिढुंगा मावि बझुवा मतदान केन्द्रमा पनि शान्तिपूर्ण मतदान हुन सकेन। त्यहाँ पनि एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। सम्झाई बुझाई गर्न खोज्दा त्यहाँ प्रहरीमाथि नै आक्रमण भएको थियो।​

सिमखेत मतदान केन्द्रमा पनि शान्तिपूर्ण मतदान सम्पन्न भएन। त्यहाँ पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भयो। झडप सामय पार्न खटिएका सुरक्षाकर्मी नै आक्रमणमा परे।​

आजादी मावि बिरौटामा इच्छाएको व्यक्तिको नाममा मतदान गर्ने विषयमा झडप भयो। त्यहाँको पनि हुलदंगामा प्रहरीविरुद्ध आक्रमण भयो। जसकारण त्यहाँ मतदान नै स्थगन भएको थियो।​

ओराङ मतदान केन्द्रमा पनि एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। त्यहाँ पनि झडप साम्य पार्न खोज्दा प्रहरीविरुद्ध आक्रमण भयो। ३० जनाको प्रहरी टोलीले साम्य पार्न नसक्दा मतदान नै स्थगन भएको थियो।

यसबाहेकका मतदान केन्द्रमा पनि झडप भएको र कतिपय ठाउँका घटना बाहिर नआएको नेताहरू नै बताउँछन्।

एकअर्कालाई दोष लगाउँछन् कांग्रेस–एमालेका नेता

चुनावमा हुने झडपलाई कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामा समान्य रूपमा लिन्छन्। ‘धेरै मान्छे जम्मा भएको ठाउँमा अलिअलि झडप भइहाल्छ नि’, लामाको जवाफ छ, ‘त्यही पनि स्थानीय तहको निर्वाचनमा त कम भएको छ।’

एमालेले कांग्रेसले बुथ कब्जा गर्छ भन्दै आफैं गरेको बर्माको आरोप छ। कांग्रेसले बुथ कब्जा गरेको भए पटकपटक चुनाव जित्ने उनी तर्क गर्छन्।

एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी दोलखा इन्चार्ज सरस्वती बस्नेतले भने गठबन्धनका दलहरुको योजना नै बुथ कब्जा गर्ने रहेको आरोप लगाइन्। २०७४ को चुनावमा अधिकांश ठाउँमा एमाले र कांग्रेसका कार्यकर्ताबीच नै झडप भएको थियो।

कांग्रेस सभापति लामा एमालेलाई बुथ कब्जा गर्न आफूहरुले रोकेको बताउँछन्। ‘झडपमा कांग्रेसकै मान्छे मारिए। घाइते पनि हाम्रै साथीहरु भए। चुनाव पन कांग्रेसले नै हार्याे। अब भन्नुस्- बुथ कसले कब्जा गर्यो’, सभापति लामाको प्रश्न छ।

एमालेले बाहिरबाट गुन्डा ल्याएर आफ्ना कार्यकर्ताविरुद्ध आक्रमण गरेको कांग्रेसको आरोप छ। गएको स्थानीय तहको निर्वाचनमा एमालेका गुन्डालाई मुडे, खरिढुंगा र जिरीबाट फर्काएकोले तुलनात्मक रूपमा शान्तिपूर्ण भएको लामा बताउँछन्।

‘एमालेका गुन्डाका नाइकेहरू नै यहीँ छन्। देशभरिका पूरै गुन्डा यहाँ परिचालन हुन्छन् र जनतालाई घरबाट बाहिर निस्कनै दिँदैनन्’, लामा भन्छन्, ‘बाहिरी गुन्डा नल्याउने हो भने चुनाव शान्तिपूर्ण हुन्छ।’

आगामी चुनावमा पनि कांग्रेसले बाहिरबाट आउने गुन्डा रोक्न पहल गर्ने उनले बताए।

एमालेका नेताहरूले ६४ बाहेक हरेक चुनावमा एमालेले कुनै ठाउँमा आधा र कुनै ठाउँमा पूरै कब्जा गरेर चुनाव जितेको आरोप कांग्रेसको छ।

एमाले इन्चार्ज बस्नेत पनि दोलखाका धेरै केन्द्रका मतदाताले बहुदल पछाडि भोट हाल्न नपाएको बताउँछिन्। ‘उनीहरूको नाममा दलका नेताहरूले नै भोट हाल्छन्। त्यही भएर केही मतदान केन्द्रमा झण्डै सबै मत खस्छ’, उनले भनिन्।

आगामी निर्वाचनमा पनि गठबन्धनले बुथ कब्जा गर्न सक्ने उनको आशंका छ।

‘एमालेले मात्रै बुथ कब्जा रोक्न सक्दैन। अरु सुरक्षाकर्मीदेखि कर्मचारीसम्म मिल्छन्’, नेता बस्नेत भन्छिन्, ‘त्यस्तो अवस्थामा भएको निर्वाचन पनि निर्वाचन आयोगले स्वीकार गर्छ। दोलखाको हकमा यो अत्यन्तै दु:खद हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .