आजदेखि बागमती प्रदेशमा पीपीआर खोप अभियान सुरु गरिएको छ।
यो अभियान अन्तर्गत बागमतीका २६ लाख १३ हजार २ सय ३२ वटा भेडा बाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
प्रदेशका ११९ वटै स्थानीय तहमा यो अभियान सञ्चालन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमतीका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए।
यस मन्त्रालयले भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो।
पीपीआर रोगका कारण वर्षेनी धेरै संख्यामा भेडा बाख्राको मृत्यु भइ किसानले ठूलो क्षति बेहोर्नु परेकोले हरेक वर्ष सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गर्दै आएको छ।
आज सोमबार देखि फागुन ७ गतेसम्म प्रदेशका १ सय १९ स्थानीय तहका ९२ हजार ५६१ भेडा र २५ लाख २० हजार ६ सय ७१ वटा बाख्रा गरी कुल २६ लाख १३ हजार २ सय ३२ वटा भेडा बाख्रालाई खोप दिइनेछ।
संघीय सरकारबाट प्रदेशभर १२ लाख ६९ हजार अर्थात ४९ प्रतिशत खोप उपलब्ध रहेको मन्त्रालयले जानकारी दिएको छ।
विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनले सन् २०३० सम्म पीपीआर रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ।
मन्त्रालयले ब्याउने अवस्थाका र रोगी भेडा बाख्रालाई पीपीआर खोप दिन नमिल्ने भएकाले स्वस्थ भेडाबाख्रालाई मात्र यो खोप दिन अनुरोध समेत गरेको छ।
Shares
प्रतिक्रिया