बागमती सरकारमा ६ मन्त्रालयको दाबी गरिरहेको नेपाली कांग्रेसले भागवन्डा नमिल्ने देखेपछि मन्त्रालय संख्या बढाउन माग गरेको छ। आफूले माग गरेको ६ मन्त्रालयबाट एक घट्ने अवस्था सिर्जना भएपछि एक मन्त्रालय बढाउन कांग्रेसले माग गरेको हो।
बिहीबार बालुवाटारमा भएको बैठकमै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मन्त्रालयको संख्या बढाएर भएपनि कांग्रेसलाई ६ मन्त्रालय चाहिने तर्क राखेका थिए।
प्रदेश अर्थमन्त्रीसमेत रहेका लामाले माओवादी र नेकपा एकीकृत समाजवादीले जबर्जस्ती ५ मन्त्रालय मात्रै दिन खोजेको भन्दै मन्त्रालयको संख्या थप गर्न अनुरोध गरेको उनका स्वकीय सचिव राजेन्द्र फुयाँलले बताए।
यता, अर्थमन्त्री लामा जसरी पनि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने अडानबाट पछि नहटेको बताउँछन्।
‘केन्द्रमा त मिलेर जानुपर्छ। गठबन्धनमा धक्का हुने काम गर्नुहुन्न लगाएतका विषयमा कुरा भएका हुन्’ अर्थमन्त्री लामाले भने,‘कस्लाई कति भन्ने कुरा मिलाउने जिम्मा मुख्यमन्त्रीको हो। हामीले सिट संख्याको आधारमा ६ मन्त्रालय मागेका हौं। मन्त्रालय थपेर भएपनि हामीले पाउनुपर्छ भन्ने कांग्रेसको अडान हो।’
उनका अनुसार माओवादीले मुख्यमन्त्री पाएपछि एक मन्त्रालय घटेर अथवा एकीकृत समाजवादीलाई १ मात्रै दिएर अथवा मन्त्रालय थपेर भएपनि कांग्रेसले ६ मन्त्रालय नै पाउनुपर्ने बताए।
बागमतीको ११ सदस्यीय मन्त्रिपरिषदमा हाल ६ मन्त्रालयमा मात्रै मन्त्री छन्। बाँकी ५ मन्त्रालय रिक्त छ। स्वास्थ्य, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री लामाले नै सम्हाल्दै आएका छन् भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नै सम्हाल्दै आएका छन्।
रिक्त ५ मन्त्रालय हुँदा ६ वटा दाबी परेपछि भागवन्डामा किचलो भैरहेको छ।
एकीकृत समाजवादी २ मन्त्रालय नपाए सरकारबाट बाहिरिने पक्षमा छ भने कांग्रेस पनि ६ मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ।
मुख्यमन्त्री सहित ४ मन्त्रालय लिएको माओवादी केन्द्र पनि आफूले पाएको मन्त्रालयबाट व्याक हुने पक्षमा देखिँदैन। जसले गर्दा विगत ५५ दिनदेखि बागमती प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन।
Shares
प्रतिक्रिया