बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारको दिनचर्या मन्त्रालयको कोठा रुँगेरै बितिरहेको छ। मुख्यमन्त्रीले मन्त्रालयको जिम्मा नतोकिदिँदा कामविहीन भएका उनी शपथ खाएदेखि मन्त्रालयको एउटा कोठामै दिन बित्ने गरेको बताउँछन्।
‘कुन मन्त्रालय भन्ने तोकिएको भएपो बजेट बनाउने कामले व्यस्त भइन्थ्यो। केही काम छैन दिनभर यहि कोठा रुँगेर बस्दैमा दिन बितिरहेको छ।’ उनले भने, ‘शपथ ग्रहण गरेदेखि नै यहीँ बसिरहेको छु। मन्त्रालय नतोक्दा मुख्यमन्त्री कार्यालयमै यो कोठा दिएको छ। यहीँ बसेर जनतासँग भेटघाट गरिरहेको छु। विभाग पछि तोक्ने भनिएको थियो।’
विभाग नतोकिँदा असजिलो महशुस भैरहेको उनले बताए।
‘नीति तथा कार्यक्रम र बजेटमा हामीले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि ल्याइएको हुन्छ। विभाग नतोकिँदा म बजेट निर्माणमा सहभागी हुन पाइनँ’ मन्त्री चित्रकारले नेपालखबरसँग भने, ‘त्यतिमात्रै होइन जुन काम गर्ने हुटहुटी मसँग छ, त्यो उत्साह र उमंगको साथ मैले काम गर्न पाएको छैन,’
जेठ ७ गते पद तथा गोपनीयताको शपथ खाएका मन्त्री चित्रकारले झण्डै तीन हप्दा बित्दासम्म पनि मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन्। विभागीय जिम्मेवारी नपाउँदा बजेट निर्माणको चटारोले उनलाई छोएको छैन।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनलाई जिम्मेवारी दिन भौतिक तथा पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाइनेछ।
Shares
प्रतिक्रिया