नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अनेय राजनीतिक दलहरुलाई विभिन्न ५ समूहमा वर्गीकरण गरेका छन्।
भक्तपुरमा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा पेस गरिएको ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रस्तावमा उनले दलहरुलाई ५ समूहमा वर्गीकरण गरेका हुन्।
प्रतिवेदनमा राजनीतिक शक्तिहरूको अवस्था शीर्षक दिएर भट्टराईले दलहरुलाई उदारवादी लोकतान्त्रिक धार, साम्यवादी धार, पुनरुत्थानवादी सम्वर्द्धनवादी धार, जातीय-क्षेत्रीय पहिचानवादी धार र नयाँ-वैकल्पिक शक्तिहरू भनेर छुट्टयाएका छन्।
उनले नेपाली कांग्रेसलाई उदारवादी लोकतान्त्रिक धार, नेपाल कम्युनिस्ट पार्टीका विभिन्न चिराहरूलाई साम्यवादी धार, राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई पुनरुत्थानवादी संवर्द्धनवादी धारका रुपमा चित्रित गरेका छन्।
भट्टराईले जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमुक्ति पार्टी, लिम्बूवान मञ्च लगायतका दलहरुलाई जातीय-क्षेत्रीय पहिचानवादी धारमा राखेका छन्।
उनले संविधानसभाबाट संविधान जारी भएपछि वैकल्पिक राजनीतिको एजेन्डासहित पुराना दलहरूको विकल्प बन्ने चाहनासहित गठन भएका दलहरुलाई नयाँ-वैकल्पिक शक्तिहरू भनेका छन्।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र आफ्नो दल नेपाल समाजवादी पार्टीलाई समेटेका छन्। यी दलहरुको फरक-फरक ढंगले उदय भएकाले भन्दै भट्टराईले छुट्टाछुट्टै संक्षिप्त चर्चा गरेका छन्।
कम्युनिष्टहरु
बाबुरामले कम्युनिष्ट पार्टीहरुलाई अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनकै कडीका रूपमा २००६ सालमा स्थापना भएको ‘नेपाल कम्युनिस्ट पार्टी’का विभिन्न चिराहरू भनेका छन्।
तीमध्ये नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदिलाई उनले सम्झिएका छन्।
यी दलहरुले विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले ‘मार्क्सवाद–लेनिनवाद’ र केहीले ‘माओवाद-विचार’लाई आफ्नो मार्गनिर्देशक सिद्धान्त, ‘जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त र ‘जनवाद’बाट ‘वैज्ञानिक समाजवाद’ हुँदै ‘साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभिष्ट मान्ने उनले बताएका छन्।
केहीलेबाहेक सबैले संसदीय बाटोबाटै अघि बढ्ने प्रयत्न गरिरहेकाले भनाइ र गराइ तथा बाटो र लक्ष्यको अन्तरविरोधले लामो समयसम्म टिक्न नदिने अन्तर्राष्ट्रिय अनुभव रहेको उनले बताएका छन्।
बेलैमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै ‘साम्यवादी’रूपमा लामो समय अघि बढ्न कठिन हुने उनको निष्कर्ष छ।
राष्ट्रिय स्वतन्त्र पार्टी
२०७९ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गठित यो पार्टीले पहिलो निर्वाचनमै राष्ट्रिय पार्टी र चौथो ठूलो पार्टीको हैसियत प्राप्त गरेको छ। संवैधानिक समाजवाद, योग्यता र कर्मशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्यक्ष लोकतन्त्र आदि विषयलाई आफ्नो ‘दर्शन र प्रतिबद्धता’ बनाएको यो पार्टीको वैचारिक धार अझै प्रस्ट छैन। अनौपचारिक कुराकानीमा यसले आफूलाई ‘राइट–अफ सेन्टर’ (मध्य दक्षिण) धारको भन्ने गर्दछ।
विवेकशील साझा पार्टी
२०७४ को स्थानीय निर्वाचनमा वैकल्पिक राजनीतिको नारासहित विशेषतः काठमाडौंमा उल्लेख्य मत ल्याएर चर्चामा आएको यो पार्टी यसको मुख्य नेतृत्वले नै पश्चगामी राजावादी बाटो लिएपछि पुनः संगठित हुने प्रयत्नमा छ। प्रगतिशील लोकतान्त्रिक धारमा उभिएर वैकल्पिक राजनीति गर्ने यसको प्रतिबद्धता कसरी अगाडि बढ्छ? पर्खेर हेर्नुपर्नेछ।
जनमत पार्टी
मधेसको पहिचान र अधिकारलाई मुख्य मुद्दा बनाएर गठन भएको यो पार्टी २०७९ को निर्वाचनपछि मधेसमा शक्तिका रूपमा स्थापित भएको छ। पहिले नै जातीय÷क्षेत्रीय पार्टीहरूले भरिएको मधेसमा त्यस भन्दा माथि नउठी यसले कसरी आफ्नो फरक पहिचान र अस्तित्व कायम गर्छ? जिज्ञासाको विषय छ।
नागरिक उन्मुक्ति पार्टी
उत्पीडित थारू जातिको मुद्दा उठाएर विशेषतः पश्चिम तराईमा २०७९ को निर्वाचनसँगसँगै उदय भएको यो पार्टीको आगामी दिनको यात्रा पनि पर्खेर हेर्नुपर्ने स्थिति छ।
आमजनता पार्टी
पहिले माओवादी र पछि एमालेबाट विद्रोह गरेर बनेको यो पार्टी २०७९ को निर्वाचनपछि प्रतिनिधिसभामा उपस्थितिसहित अस्तित्वमा आएको छ। प्रगतिशील वामपन्थी रुझानको यो पार्टी भविष्यमा कुन कित्तामा उभिन्छ समयले नै बनाउने छ।
नेपाल समाजवादी पार्टी
समावेशिता, संघीयता, सुशासन, समृद्धि, समाजवादको विचार र एजेन्डामा आधारित हाम्रो पार्टी नेपाल समाजवादी पार्टी देशमा बृहत् प्रगतिशील, लोकतान्त्रिक समाजवादी ध्रुवीकरणसहित नयाँ समाजवादी वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा क्रियाशील छ।
Shares
प्रतिक्रिया