बागमती


निर्माणको अन्तिम चरणमा ऐतिहासिक चुरियामाई सुरुङमार्ग

निर्माणको अन्तिम चरणमा ऐतिहासिक चुरियामाई सुरुङमार्ग

सुनिता विष्ट
जेठ २८, २०८० आइतबार १८:९, हेटाैंडा

मकवानपुरको ऐतिहासिक चुरियामाई सुरुङमार्गबाट वारपार गर्न सकिने भएको छ। दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङमार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो। 

त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएका हो।

१ हप्तादेखि सुरुङमार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको भौतिक पूर्वाधार विकास निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए। यो सुरुङमार्ग ऐतिहासिक भएकाले सवारी साधन सञ्चालन भन्दापनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको उनले बताए।

ओझाका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो। तर, मर्मत सुरू गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो। यसैगरी सुरूमा १९८ मिटर लम्बाइमा पुनःनिर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको उनले बताए। 

३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङमार्ग पुनःनिर्माणको ठेक्का पाएको थियो। सुरूमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायतका कारण दुई पटक म्याद थपिएको थियो। पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता ओझाले जानकारी दिए। 

यस्तो छ इतिहास
चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो। नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए। चुरे पर्वतमा बनेको यो सुरुङमार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ।

माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गरेका छन्। उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .