बागमती


वडाध्यक्षकै मिलेमतोमा किर्ते गरेर जग्गा नामसारी, प्रहरीमा उजुरी परेपछि फरार

वडाध्यक्षकै मिलेमतोमा किर्ते गरेर जग्गा नामसारी, प्रहरीमा उजुरी परेपछि फरार

सुनिता विष्ट
भदौ १८, २०८० सोमबार १६:३७, हेटाैँडा

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम स्याङ्तान लामो समयदेखि फरार छन्।

काठमाडौं कीर्तिपुरको जग्गा हत्याउने खेलमा मिलेमतो रहेको भन्दै प्रहरीले स्याङ्तान विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वडासदस्य युवराज जिम्बालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएर वडाध्यक्ष स्याङ्तान भने फरार रहेका छन्। उनी मात्रै होइन, उक्त कार्यमा दोषी ठहरिएका सोही वडाका वडासचिव ओब्जाङ बहादुर रोकाया समेत फरार छन्।

हाल कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका जिम्बा भने आफूलाई घटनाको बारेमा जानकारी नहुँदै स्वास्थ्यमा समस्या आएको भन्दै कार्यवाहकको जिम्मेवारी दिएको बताउँछन्।

‘घटनाको बारेमा मैले त पछि पो थाहा पाएँ’ उनले भने, ‘स्वास्थ्यमा समस्या आयो, उपचार गराउन जान्छु भन्नुभएको थियो। अहिलेसम्म कुनै सम्पर्क आएको छैन।’

जिम्बाका अनुसार वडाध्यक्ष टीकाराम र वडासचिव रोकायाले जग्गा हत्याउने कार्यमा संलग्न भएको कुरा प्रहरीसम्म पुगेपछि उनीहरु फरार भएका हुन्। आफू उपस्थित नहुन्जेल सम्मका लागि भन्दै अध्यक्ष टीकारामले वडासदस्य जिम्बालाई गत असार १८ गते कार्यवाहकको जिम्मेवारी दिएका थिए।

यता, थाहा नगरपालिका १२ का उनीहरु सँगै जग्गा मिलाउनको लागि चाँजोपाँजो मिलाउन सघाउने काठमाडौं कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको सहयोग रहेको प्रहरीले जनाएको छ।

घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का स्थानीय सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए। यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष महर्जनले सहयोग गरेको खुलेको छ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् १ रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको पाइएको हो।

भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राखेका थिए। भारतीय नागरिकले सीधै जग्गा किन नमिल्ने भएपछि उमादेवी गुरुङको नाममा जग्गा किनेका थिए। उमादेवी गुरुङको निधनपछि उनको नाममा भएको जग्गालाई मकवानपुर थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा बनाएर किर्ते कागज बनाई आफ्नो नाममा लिएको खुल्न आएको छ।  

त्यसका लागि भरतपुर महानगरपालिका वडा नम्बर–१९ बाट उमादेवीको मृत्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको छ। मृतक गुरुङका आफन्त नभएपछि स्वतः राज्यको हुनुपर्नेमा सतराज गुरुङले उमादेवीको चितवनमा मृत्यु दर्ता गराएर आफ्नो नाममा राखेको प्रहरीले जनाएको छ। सतराजले उक्त जग्गा आफ्नो नाममा किर्ते गरेर लिएको थाहा भएपछि भारतीय नागरिक परेराले उमादेवी मेरी श्रीमती रहेको भनी प्रहरीमा उजुरी दिएपछि सबै घटना सार्वजनिक भएको हो।

सतराज गुरुङका नाममा जग्गा नामसारी गराउन सहयोग गर्ने दुई वडाध्यक्षसहित २१ जनाको नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भइसकेको छ। मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष महर्जनसहितका नाममा पक्राउ पुर्जी जारी भएको हो।

भारतीय नागरिक परेराले उजुरी दिएलगत्तै सतराज गुरुङ भने पक्राउ परेका छन् भने स्याङ्तान र महर्जन फरार रहेको प्रहरीले जनाएको छ। सतराजको नागरिकतासहित जग्गा खरिदमा सहयोग गर्ने दुई वडाध्यक्षसहित थाहा नगरका १२ जना स्थानीयवासी र कीर्तिपुर–१० का ६ जना स्थानीयवासीसहित मालपोत कार्यालय कलंकीका खरिदार सुदीप ढकाललाई पक्राउ पुर्जी जारी गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .