बागमती


मकवानपुर बस दुर्घटना : ढोकामा ठाउँ नभएपछि झ्यालबाट चढेका थिए यात्रु

मकवानपुर बस दुर्घटना : ढोकामा ठाउँ नभएपछि झ्यालबाट चढेका थिए यात्रु

सुनिता विष्ट
कात्तिक ३, २०८० शुक्रबार २०:२१, हेटाैँडा

मकवानपुरको बकैया गाउँपालिका ७ अँधेरीकी फूलमाया स्याङ्तान शुक्रबार विहानै दसैँको किनमेलका लागि हेटौंडा बजार आएकी थिइन्। दिनभर किनमेल सकेर घर फर्किने क्रममा बीच बाटोमै बस दुर्घटना हुँदा फूलमाया घाइते भइन्।

उनी मात्रै होइन, उनको साथमा आएकी १५ वर्षीया छोरी कृष्णा स्याङ्तानको पनि हात, मुख र ज्यानमा चोट लाग्यो।

खचाखच खाँदिएर पछाडिको सिटमा बसेकी फूलमायालाई बस दुर्घटना हुँदा बाँच्छु भन्ने नै नलागेको बताउँछिन्।

‘कहाँ आइपुग्यो भनेर मैले सोधेँ, तीनतलेको ओरालो आइपुगियो भनेर झ्यालतिर बस्ने भाइहरुले भन्दै थिए। त्यति भन्न नपाउँदै बस सललल बगेको जस्तो भयो। एक्कासी सबैजना एकैठाउँमा खाँदिन पुग्यौं। बस ओरालोबाट गएर एउटा सानो ढिस्कोमा ठोकिएपछि रोकिएछ। त्यो त पछि बसबाट निकालेपछि थाहा पाएँ, उनले भनिन्।’

दसैँका लागि कपडा, रासन सामान किन्न हेटौंडा आएका दर्जन भन्दा बढी यात्रुहरू घाइते भएका छन्।

‘बसमा ढोकाबाट भित्र जान नसकेर झ्यालबाट चढेको थिएँ। बसमा खचाखच भएर चढेका थियौं’ दुर्घटनामा घाइते भएका २५ वर्षीय तुल बलले भने, ‘गाउँमा एउटै बस जान्थ्यो। दसैँका बेला सामानहरु पनि टन्नै थियो। म र मेरो भाइ दसैँको सामान किन्न आज विहान मात्रै हेटौंडा आएका थियौँ।’

एक हातले नाकबाट निस्किएको रगत पुछ्दै उनले थपे, ‘मुखमा अलि बढि चोट लागेको छ। अन्त त त्यति दुखेको छैन। धन्न बाँच्यौं भन्ने लागिरहेको छ।’  

हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस शुक्रबार तीनतलेमा दुर्घटना भएको थियो। बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा सो दुर्घटना हुँदा दर्जन भन्दा बढि यात्रु घाइते भएका हुन्।

बसमा यात्रुको संख्या धेरै भएका कारण दुर्घटना भएको प्रहरीको प्ररम्भिक अनुमान छ। घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ।अस्पतालको इमर्जेन्सी वार्डमा राखेर घाइतेको उपचार गराइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .