ad ad

बागमती


दूग्ध पाउडर प्लान्ट निर्माण सकियो, सञ्चालनका लागि कार्यविधि बनाउँदै बागमती

दूग्ध पाउडर प्लान्ट निर्माण सकियो, सञ्चालनका लागि कार्यविधि बनाउँदै बागमती

सुनिता विष्ट
मंसिर ८, २०८० शुक्रबार १७:९, हेटौँडा

अढाई वर्षअघि बागमती प्रदेशको राजधानी हेटौँडामा बनाउन थालिएको पाउडर दूधको प्लान्टको काम बल्ल पूरा हुने अन्तिम चरणमा पुगेको छ। 

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको उक्त पाउडर प्लान्ट एक वर्षभित्रै पूरा गर्ने सर्तमा इजी इन्फ्रा कम्पनीले ठेक्का लिएको थियो।

तर कोरोना महामारी, लकडाउनजस्ता कारण देखाउँदै तेस्रो पटक म्याद थपेको कम्पनीले आफ्नो काम पूरा गरेर अबको केहीदिन भित्रै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको हो। 

तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले २०७७ पौष १६ गते उक्त पाउडर प्लान्टको शिलान्यास गरेका थिए। एक वर्षभित्र काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सहमतीमा इजी इन्फ्रा कम्पनीले ठेक्का सम्झौता गरेता पनि ठेक्का सम्झौता पछि कोरोना माहामारीले काममा बाधा पु¥याएको भन्दै पटक÷पटक गरेर तीन पटक सम्म म्याद थप्दै काम गरेको थियो। 

गत असोज महिनाको पहिलो हप्ता भित्रै पाउडर दूधको उत्पादन सुरु गर्ने लक्ष्य लिएकोमा केही ढिलाई भएको स्वीकार गर्दै प्रदेश दूग्ध विकास बोर्ड बागमतीले अबको यो हप्ताभित्र परिक्षण सकाएर उत्पादन थालिने बताएको छ। 

प्रदेश दूग्ध विकास बोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटाका अनुसार ठेकेदार कम्पनीलाई निर्माण सम्पन्न गर्नका लागि कार्तिक मसान्त सम्मको अन्तिम मिति तोकिएको हालसम्म उक्त प्लान्ट प्रदेश सरकारलाई हस्तान्तरण भएको छैन।

यद्यपी, निर्माण कार्य सम्पन्न भैसकेकाले यही हप्ताभित्र पाउडर दूध उत्पादनको कार्य थाल्ने तयारीमा बोर्ड लागिपरेको बताइएको छ। 

यता, ठेकेदार कम्पनीले पनि निर्माणको सबै प्रक्रिया पूरा भएको र हस्तान्तरण अघि मेसिनहरुको प्रयोगात्मक परिक्षण गरिरहेको बताएको छ। मेसिन दूध राखेर परिक्षण गर्न बाँकी रहे पनि मेसिनहरु सफा गर्नका लागि पानी राखेर परिक्षण गरिरहेको बताउँदै यो हप्ताभित्रै दूधको उत्पादन थालेर बोर्डलाई हस्तान्तरण गर्ने इजी इन्फ्रा प्रा.लिका ठेकेदार उत्तम पौडेलले बताए। 

उनका अनुसार हाल मेसिनहरुको परिक्षण भैरहेको छ। दूध प्रशोधन गर्ने बोइलरका आगो बालेर पानी तताउने, मेसिनहरुमा दूध सप्लाईको अवस्था जान्न पानी पास गराउने जस्ता परिक्षण गरिरहेको पौडेलको भनाइ छ। 

बागमती प्रदेश दुग्ध विकास बोर्डले उत्पादित दूध बिक्री नभएर खेर जाने तथा दूध बिक्रीका लागि किसानले भोगिरहेका समस्या समाधान गर्ने उद्देश्यले हेटौँडा–१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण अघि बढाएको हो। 

उक्त प्लान्ट प्रदेश सरकारले बागमती मात्र नभएर गण्डकी, लुम्बिनी र मधेश प्रदेशलाई समेत लक्ष्य गरी निर्माण गरिएको बताउँदै उक्त पाउडर प्लाट सुचारु भएपछि किसानहरुले मिल्क होलिडेको चिन्ता हट्ने प्रदेश दूग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटाको दाबी छ।

उक्त पाउडर प्लान्ट सञ्चालनका लागि कार्यविधि तयार गरेर अघि बढ्ने तयारी भैरहेको उनको भनाइ छ। 

दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ।

सो प्लान्टबाट बागमती प्रदेशसहित मधेश प्रदेशको बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने बोर्डको अनुमान छ।

पाउडर प्लान्टमा बागमतीका १३ जिल्ला सहित महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट समेत दूध आयात गर्ने लक्ष्य राखिएको छ। 

कम्पनीले ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरिएको प्लान्टको निर्माण ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .