ad ad

बागमती


बागमती प्रदेशमा निर्णायक हानेपा, निर्णय कुर्दै एमाले र माओवादी

बागमती प्रदेशमा निर्णायक हानेपा, निर्णय कुर्दै एमाले र माओवादी

फाइल तस्बिर


सुनिता विष्ट
फागुन २७, २०८० आइतबार १३:३४, हेटौंडा

गत सोमबार बनेको केन्द्रीय सत्ता गठबन्धनका दलहरूसँग बागमतीमा सरकार गठनका लागि अंक पुग्दैन। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मात्रै बागमती प्रदेश सरकार बनाउन नसक्ने अवस्थामा हाम्रो नेपाली पार्टी (हानेपा) लाई सरकारमा ल्याउनेबाहेकको विकल्प यी तीन दलहरुलाई छैन। 

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा हानेपाले यसअघि दुई पटक सरकार गठनमा समर्थन गर्दै आयो। 

दुई सिट मात्रै रहे पनि प्रदेश सभामा सधैँ सत्ता पक्षको सिटमा बस्ने हानेपा अब तेस्रो पटक पनि सता समीकरणमा मिसिने विषयमा चर्चा छ।

सरकारलाई समर्थन गरेमा बागमतीमा हानेपाले मन्त्री पाउने सम्भावना छ। तर पनि यो पटक सरकारमा सहभागी हुने नहुने विषयमा यत्तिकै निर्णय गर्न नसकिने हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्य बताउँछन्। 

यसअघि सधैँ सरकारलाई समर्थन गरे पनि अन्य दलहरूले आफूलाई महत्व नदिएको भन्दै रुष्ट हुनुपरेको उनको भनाइ छ। 

'यसअघि सधैँ सरकारलाई समर्थन गरियो। तर कहिल्यै हामीलाई सत्ता साझेदार दल हो भन्ने सोचेको पाइएन', उनले भने, ‘त्यसैले यो तेस्रो पटकको सरकार गठनमा हामी लचिलो भएर प्रस्तुत हुन्छौँ। संख्या सानाकोले आवश्यकताको बेला मात्रै सम्झने परिपाटीको अन्त्य गर्न आफै लाग्नुपर्ने हो कि? भन्ने बुझाई आएको छ।’ 

उनले थपे, ‘कहिलेकाहीँ प्रतिपक्षको भूमिकामा बसेर पनि सदन चलेको हेर्न मन छ। त्यसैले सजिलै हानेपाले समर्थन गर्छ र सरकार निर्माण हुन्छ भन्ने सोच बनाइहाल्ने बेला भएको छैन।’

तर हानेपा निर्णयक भूमिकामा छ, मन्त्री नै पाउने सम्भावना भएको बेला सरकारमा नजाने? नेपालखबरको प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘यो विषयमा पार्टीमा छलफल हुँदै छ। प्रदेश सभाका अन्य दलका नेताहरूले पनि यसरी मिलेर जानुपर्छ भनेर सल्लाह गरिरहनु भएको छ। सरकारमा जानै पर्ने स्थिति आइपरेमा लचक भए जान्छौँ।’

११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। 

बागमतीमा गठबन्धनको सबैभन्दा ठूलो घटक एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट छ।

तीन दलको संख्या ५५ मात्रै हुँदा यस अघि सधैं सरकारलाई समर्थन गर्दै आएको हाम्रो नेपाली पार्टीका दुई मत पाएर ५७ सांसदको समर्थनमा सरकार गठन गर्ने सत्ता साझेदार दलहरूको मनस्थिति छ । 

राप्रपालाई केन्द्र सगठबन्धनले नै बाइपास गरेमा प्रदेशमा पनि विश्वासको मत दिने देखिँदैन। लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्ने अर्को दल नेपाल मजदुर किसान पार्टी सरकार निर्माणको फोहोरी खेलमा आफूहरू नमुछिने बताउँदै आएको छ । जसकारण नेमकिपाले सरकारलाई समर्थन गर्नेमा आंशका छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .