ad ad

बागमती


सुशासन र सेवाप्रवाह प्रभावकारी भएमात्रै लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति पौडेल

सुशासन र सेवाप्रवाह प्रभावकारी भएमात्रै लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति पौडेल

तस्बिर : राष्ट्रपतिको कार्यालय


नेपालखबर
फागुन २७, २०८० आइतबार १५:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन्। 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको आइतबार उदघाटन गर्दै उनले यसो भनेका हुन्। 

संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा उनले जोड दिए। 

उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए।

‘कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ’ राष्ट्रपति पौडेलले भने, ‘स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ।’

उनले त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गरे।

उनले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेका बताए। 

‘आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिन सक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु,’, उनले  भने। 

मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पुर्‍याइएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उनको भनाइ थियो। 

यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पुर्‍याई शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको उनले बताए।

मिलेको भूगोल, लेकबेंसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दूरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यस नगरपालिकाले उपयोग गर्ने उनले विश्वास जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .