ad ad

बागमती


दिनदिनै ‘रेकर्ड ब्रेक’ गर्दै काठमाडौँको न्यूनतम तापक्रम, आज यो वर्षको अहिलेसम्मकै अधिक

दिनदिनै ‘रेकर्ड ब्रेक’ गर्दै काठमाडौँको न्यूनतम तापक्रम, आज यो वर्षको अहिलेसम्मकै अधिक

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ७:२५, काठमाडौँ

आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस देखिएको हो। 

उपत्यकामा यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै अधिक हो।

यसअघि हिजो (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री सेल्सियस थियो। जुन उपत्यकाका लागि हिजोसम्मकै उच्च न्यूनतम तापक्रम थियो।

आज त्यो रेकर्ड पनि ब्रेक भएको हो। 

‘तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः अपडेट हुन्छ’, मौसमविद् झाले भने, ‘त्यतिबेला यत्तिकै रहन पनि सक्छ, थोरै घट्न पनि सक्छ।’ 

मौसमविद्का झाका अनुसार राति आकाशमा डम्म बादल लाग्यो तर पानी परेन भने भोलिपल्ट बिहान न्यूनतम तापक्रम बढ्छ।

तर राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ।

रातिको बादलले बर्काेको काम गर्ने मौसमविद् बताउँछन्। 

‘दिनभरि घामले तातिएको जमिनको तापक्रम राति बादलले छेक्ने भएकाले त्यो बाहिरिन पाउँदैन’, उनले भने, ‘जसले गर्दा राति गर्मी हुन्छ र बिहान न्यूनतम तापक्रम बढ्छ।’

उनका अनुसार आज बिहान न्यूनतम तापक्रम बढी देखिनु भनेको अघिल्लो राति बढी गर्मी हुनु हो। 

मौसम महाशाखाको विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस थियो। यस वर्ष अहिलेसम्म उपत्यकाको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियससम्म पुगेको छ।  

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम  तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ। न्यूनतम सामान्यतया बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसम्म पुग्ने अनुमान मौसम महाशाखाले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .