ad ad

कला


शनिबार ‘खुस्मा’ को देशैभर उत्साहजनक व्यापार

शनिबार ‘खुस्मा’ को देशैभर उत्साहजनक व्यापार

नेपालखबर
असोज ६, २०८१ आइतबार १३:१, काठमाडौँ

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ। बिहीबारका विहानी शोबाट नै हाउसफूल सुरुवात गरेको फिल्मको दिउँसोबाट हलमा दर्शकको चाप उच्च देखिएको थियो।

शुक्रबार सिनेमाको व्यापार बिहीबारको तुलनामा केही कम देखिए पनि शनिबार पुनः राम्रो व्यापार गरेको छ। शनिबार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शतप्रतिसतसम्म अकुपेन्सी देखिएको थियो।

काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा फिल्मले राम्रो वयापार गरेको वितरक गोविन्द शाहीले बताए। यसअघिका सिनेमामा मोफसलको व्यापार काठमाडौं उपत्यकाको भन्दा कमजोर देखिन्थो। तर, ‘खुस्मा’को हकमा भने ठिक विपरित देखिएको वितरक शाहीको भनाई छ। विभिन्न हलमा अनलाइन टिकट बुकिङ साइट हेर्दा पनि वितरक शाहीको दाबी पुष्टी हुन्थ्यो।

फिल्मले मोफसलका पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी, दमक र विर्तामोड लगायतका शहरमा विहानी हाउसफूल व्यापार गरेको थियो। काठमाडौं उपत्यकामा भने दिउँसो १२ बजेपछिका शोमा दर्शकको चाप देखिएको भनाई वितरक शाही छ।

काठमाडौं उपत्यकाका हलमा दर्शकको चाप देखिएपछि सिनेमाका मुख्य कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। ‘खुस्मा’मा दर्शकहरूले आफ्नो कामलाई निकै रुचाएकोमा अभिनेता धिरज मगर खुसी देखिए। 

‘काठमाडौंसहित सबैतिर तेस्रो दिन पनि हाम्रो सिनेमा ‘खुस्मा’ हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने।

अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट ‘खुस्मा’लाई सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलिरहेको बताइन्।

‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर। अधिकांश दर्शकले त मलाई भेटेर हामीलाई धेरै रुवाउनुभयो भनेर भन्नुभएको छ,’ उनले खुसी हुँदै भनिन्, ‘जसरी हामीले सिनेमाको कथा भन्ने प्रयास गरेका छौं, त्यसलाई दर्शकले रुचाइदिनु भएकाले पनि धेरै खुसी लागेको छ। कतिले त सिनेमाको सिक्वेल चाहिन्छ समेत भन्नुभएको छ । यो नै हाम्रो सिनेमाको सवैभन्दा ठुलो सफलता हो भन्ने लाग्छ।’

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ। सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन्।

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .