ad ad

बागमती


दुई वर्षदेखि अलपत्र पुल बनाउन १ वर्ष म्याद थप

घरअगाडि खाल्डो खनेर छाडिदिँदा बालबच्चा जोगाउन गाह्रो
दुई वर्षदेखि अलपत्र पुल बनाउन १ वर्ष म्याद थप

सुनिता विष्ट
मंसिर २३, २०८० शनिबार १४:४३, हेटौँडा

मकवानपुरको हेटौँडा १ राप्तीखोलाको पक्की पुल निर्माणका लागि एक वर्ष समय थपिएको छ।

गत जेठमै बनिसक्नुपर्ने पुल निर्माण पूरा नभएपछि एक वर्ष समय थपिएको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय (चितवन) का प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार आगामी जेठभित्र निर्माण सक्नुपर्ने गरी १ वर्ष म्याद थप गरिएको हो।

पूर्वाधार विकास कार्यालयका अनुसार उक्त पुल निर्माणको काम हालसम्म ३० प्रतिशत पनि भएको छैन। पुल बनाउन २०७८ जेठ १८ गते पूर्वाधार कार्यालयसँग शिवशक्ति सिद्धार्थ शिवम संयुक्त उद्यम कम्पनीले सम्झौता गरेको थियो। जसअनुसार २०८० जेठ १७ गते निर्माण सकेर भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसक्नुपर्ने थियो। तर काम नसकिएकाले म्याद थप गर्नुपर्ने स्थिति सिर्जना भएको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरि ओझाले बताए। 

अहिलेसम्म पुलका लागि खोलाको एकछेउमा रड गाडिएको छ। त्यसबाहेक कुनै प्रगति देखिँदैन। बरु ठेकेदार कम्पनीको लापरबाहीले स्थानीय समस्यामा परेका छन्। पुल बनाउन घरअगाडि खाल्डो खनेर छाडिदिँदा बालबच्चा जोगाउन गाह्रो भएको स्थानीय निरमाया घिसिङ गुनासो गर्छिन्। 

उनले भनिन्, ‘पारि गाडी गुड्ने सडक छ। तर हामीलाई त्यही सडक पुग्न यति धेरै सास्ती छ। बर्खाका बेला त सडकसम्म पुग्नै १ घण्टाभन्दा बढी समय लाग्छ। अहिले हिउँदमा काठको साँघो हालेका छौँ।’ 

पुल नभएकै कारण करिब ३ वर्षअघि तुइनबाट राप्तीखाेलामा खसेर स्थानीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो।

त्यो दु:खद घटना स्मरण गर्दै स्थानीय रामप्रसाद तिमल्सिनाले भने, ‘हेटौँडा बजारबाट थोरै दूरीमा रहेको यस ठाउँको विकासमा सरकारको नजर पर्न नसक्नु दु:खको विषय हो। बल्लतल्ल पक्की पुल बनाउन ठेक्का परेको थियो। त्यो पनि समयमै नबन्दा सास्ती खेप्न परेको छ।’ 

समयमै पुल नबनाइएको भन्दै हेटौँडा उपमहानगरपालिकाले पनि पटकपटक प्रदेश सरकार तथा मातहतका कार्यालयलाई ध्यानाकर्षण गराइरहेको छ। तर स्थानीय सरकारको पहललाई ठेकेदार कम्पनीले बेवास्ता गरेको गुनासो छ। 

‘प्रदेश सरकारको योजनामा बन्न लागेको पुलका लागि हामी स्थानीय तहका जनप्रतिनिधिले पनि पहल नगरेका होइनौँ’, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले भने, ‘तर पनि ठेकेदार कम्पनीको मनोमानीका कारण पुल कहिले बन्छ भन्नेमा अन्योल छ। पटकपटक म्याद थप हुँदा स्थानीय नागरिक पनि निकै आक्रोशित हुन थालेका छन्। यस विषयमा प्रदेश सरकारले नै गम्भीर भएर लाग्न आवश्यक देखिन्छ।’

राप्ती नदीमा उक्त पक्की पुल निर्माण हुँदा लालझाडी, मझिमटार, नकौली, घ्याङ्सिनटार हेटौँडा-१९ हुँदै राक्सिराङ गाउँपालिकाका सरिखेत, पलाँसे लगाएको स्थानमा समेत आवतजावत गर्न सहज हुन्छ भने २ हजारभन्दा धेरै घरधुरी प्रत्यक्ष लभान्वित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .