ad ad

बागमती


हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा (तस्बिर)

हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा (तस्बिर)

सुनिता विष्ट
मंसिर १, २०८० शुक्रबार १५:४०, मकवानपुर

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व यतिखेर धमाधम मनाइँदैछ। अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने यस पर्व हेटौँडामा पनि हर्षोल्लासका मनाइँदैछ।

हेटौँडामा छठ पूजाका लागि राप्ती नदी तटमा छठघाट निर्माण गरिएको छ। छठ पूजालाई भव्य रूपमा मनाउन हेटौंडा-१, राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ। सूर्यको उपासना गरी मनाइने छठपर्व शुक्रबारबाट सुरु भएको हो।

पछिल्लो समय हेटौँडामा पनि विशेष महत्त्वका साथ मनाउन थालिएको छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छठ पूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दास सिनोरियाले जानकारी दिए।

‘पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्,’ उनले भने।

त्यसो त छठ पूजा व्यवस्थापनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा, मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्तालगायतको उपस्थितिमा छलफल समेत भएको थियो।

छठघाटस्थल राप्तीतटमा भएको छलफलले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि छठ पूजालाई व्यवस्थित र सबै नगरवासीको सहभागितामा सम्पन्न गर्ने गरी वातावरण तयार गर्ने निर्णय भएको मधेशी सेवा समाज नेपाल, मकवानपुरका कार्यवाहक अध्यक्ष एवं छठ पूजा व्यवस्थापन समितिका संयोजक रवि रञ्जन गुप्ताले जानकारी दिए।

यता, छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको जोहो गर्न सुरु गरिसकेका छन्। छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँस र माटोबाट बनेका अन्य सामग्रीको किनमेलको लागि सर्वसाधारण घुइँचो लागेको हो।

यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ।

छठको पहिलो दिन व्रतालुले नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभरि उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ। यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर व्रत समाप्त हुन्छ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .