शुक्रबार साँझ बारामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
बारा महागढीमाई नगरपालिका–२ भुतही पुलस्थित होटलमा भारतको बिहार मोतीहारी जिल्ला थाना दार्पा ग्राम पञ्चायत दार्पा १४ पिप्राका ४५ वर्षीय शिवपुजन राय यादवको गोली हानि हत्या भएको थियो।
गोली प्रहारमा संलग्न मध्ये भारत बिहार जिल्ला मोतिहारी थाना घोडासहन ग्राम सेखावना १ सेखावना टोलका ३८ वर्षीय प्रमोद राम भारतलाई बारा प्रहरीले पक्राउ गरेको हो।
उनलाई बारा परवानीपुर गाउँपालिका ५ स्थित एल एस न्यूरो अस्पताल परिसरबाट पक्राउ गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
शुक्रबार साँझ शिवपुजन यादव नास्ता खाई बसेको अवस्थामा यकिन नम्बर नखुलेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जना हतियारसहितका अपरिचित व्यक्तिहरूले शिवपुजनको छातीमा गोली प्रहार गरी फरार भएका थिए।
घाइतेलाई तत्काल उपचारको लागि एलएस न्युरो अस्पताल परवानीपुर, बारातर्फ पठाईएकोमा त्यही साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो।
पक्राउ परेका अभियुक्त उपर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अर्का व्यक्ति भने फरार छन्।
Shares
प्रतिक्रिया