अपराध


पतिको कुटाइबाट मृत्यु भएकी महिला जलाउँदै गर्दा ४ मलामी पक्राउ

प्रहरीले चिताबाट उठायो शव
पतिको कुटाइबाट मृत्यु भएकी महिला जलाउँदै गर्दा ४ मलामी पक्राउ

जनार्दन पोखरेल
जेठ २८, २०८० आइतबार ९:०, सर्लाही

सर्लाहीमा पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको चितामा जल्दै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मलामी जाने चारजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

हरिपुर नगरपालिका ६ लक्ष्मिपुरका ५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी ४५ वर्षीया इन्द्रकला देवीको शनिबार बिहान मृत्यु भएको थियो।

मृत्युपछि प्रहरीलाई खबर नै नगरी शनिबार दिउँसो नजिकैको घाटमा लगेर जलाउँदै गरेको अवस्थामा शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

स्थानीयका अनुसार घरायसी विवादमा राजारामले पत्नी इन्द्रकलालाई गत सोमबार (जेठ २२ गते) मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी इन्द्रकलालाई उनका छोरी जयकुमारी साह र ज्वाइँ राजकिशोर साहले उपचारका लागि सुरुमा नवलपुरस्थित एक निजी क्लिनिकमा पुर्‍याएका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि इन्द्रकलालाई मंगलबार वीरगन्ज लगिएको थियो। तर, त्यहाँ राम्रोसँग उपचारै नगरी उनलाई भोलिपल्टै घर ल्याइएको थियो। घरमा ल्याएपछि इन्द्रकलाको स्वास्थ्य अवस्था थप जटिल भएको थियो।

त्यसपछि उनलाई गत बुधबार छोरी जयकुमारी र ज्वाइँ राजकिशोरले फेरि उपचारका लागि जनकपुर लगेका थिए। त्यहाँ पनि राम्ररी उपचारै नगरी शनिबार बिहान घर ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको शव कानुनी प्रक्रिया पूरा नगरी गुपचुप ढंगले जलाउँदै गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय (हरिपुर) का प्रहरी निरीक्षक विजय कुँवरको कमान्डमा खटिएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रादेशिक अस्पताल (मलंगवा) पठाएको हो।

शवको पोस्टमार्टम आजै (आइतबार) गरिने बताइएको छ।

कुटपिटपछि इन्द्रकलाका पति राजाराम फरार छन्। इन्द्रकलाको मलामी जाने उनका ज्वाइँ राजकिशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। राजकिशोर रौतहटका बासिन्दा हुन्। ससुराको कुटपिटबाट सासू घाइते भएपछि उनी पत्नीसँगै ससुराली पुगेका थिए।

‘इन्द्रकलाका ज्वाइँ राजकिशोरसति चारजनालाई हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ’, डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘घटनाबारे प्रहरीलाई जानकारी नदिई शव जलाउन खोजेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

शव जलाउँदै गर्दा प्रहरी टोली घाटमा पुगेपछि केही मलामी भागेका थिए। प्रहरीले पक्राउ परेका चारमध्ये ३ मलामीको नाम भने सार्वजनिक गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .