ad ad

प्रवास


संकटग्रस्त युक्रेनबाट ५११ नेपाली अन्य युरोपेली मुलुकमा पुगे

संकटग्रस्त युक्रेनबाट ५११ नेपाली अन्य युरोपेली मुलुकमा पुगे

युक्रेन छाडेर अन्यत्र जाँदै विभिन्न देशका नागरिक। तस्बिर : एजेन्सी


नेपालखबर
फागुन २०, २०७८ शुक्रबार २२:२३, काठमाडौँ

रसियाको आक्रमणबाट संकटग्रस्त युक्रेनबाट शुक्रबार साँझसम्म ५११ जना नेपाली अन्य युरोपेली मुलुकमा गएका छन्। 

युक्रेनसमेत हेर्ने जिम्मा पाएको जर्मनीस्थित नेपाली दूतावासका अनुशार ५११ मध्ये पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरेका हुन्। 

युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखी त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण गर्ने कार्य जारी रहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ। 

हालसम्म युक्रेनमा रहेका अधिकांश नेपाली सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेको दूतावासले जनाएको छ। 

परराष्ट्र मन्त्रालयले उद्दार कार्यमा बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको जनाएको छ। 

नेपाली राजदूतावास, बर्लिनले पोल्याण्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ।

‘युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्रतर्फ जाँदैछन् भने केही सीमाक्षेत्रबाट बाहिरिने प्रक्रियामा छन्’ दूतावासले भनेको छ। 

युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्याण्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकहरूको सुरक्षित आगमनमा सहयोग गरिदिन नेपाल सरकारका तर्फबाट अनुरोध भइसकेको दूतावासले जनाएको छ। 

ती सबै देशबाट आवश्यक सहयोग प्राप्त भइरहेको दूतावासले जनाएको छ।

उद्दार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सम्मिलित एक कार्य समिति क्रियाशील रहेको छ। 

नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको दूतावासले जनाएको छ। 
राजदूत खड्का पोल्याण्डमा 

बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्ड–युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्याण्ड गएका छन्। 

युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडानहरू मार्फत ल्याइदिन भारत सरकारलाई अनुरोध गरिएकोमा सकारात्मक जवाफ प्राप्त भएको नेपाली दूतावासले जनाएको छ। 

त्यसका लागि बर्लिनस्थित नेपाली दूतावासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको दूतावासले जनाएको छ।

रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको दूतावासले जनाएको छ। 

त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ। 

‘युक्रेनबाट आई युरोपका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने हुनाले इच्छुक सबैलाई नेपाली राजदूतावास, बर्लिनको देहायको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन सकिनेछ’ विज्ञप्तिमा छ। 

दूतावासले युक्रेनको अवस्था निकै जटिल अवस्थामा पुगेको भन्दै त्यहाँस्थित नेपालीलाई घरभित्रै सुरक्षित भएर बस्न सचेत गराएको छ। 

‘युक्रेनको अवस्था निकै जटिल छ। राजधानी शहर र अन्य केही क्षेत्रमा ठूला भिडन्त भइरहेका खबर आइरहेका छन्’ दूतावासले भनेको छ, ‘तपाईँको सुरक्षा र सहज रुपमा कम जोखिमयुक्त दक्षिणी क्षेत्रमा लैजानु हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले युक्रेनका सबै नेपालीलाई संयम र सचेत रहेर बस्न आग्रह गर्दछौँ।’

दूतावासले सूचनामा नेपालीहरुलाई सकेसम्म घरभित्रै बस्न र कर्फ्यु हटेको भए सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ। 

युक्रेनमा रहेका नेपालीलाई राजधानी किभ, खर्किभ र अन्य भागमा रहेका भारतीय समुदाय वा भारतीय साथीसँग सम्पर्कमा रहेर उनीहरुको साथ लागेर पश्चिम वा दक्षिणतिर जान आग्रह गरेको छ।

दूतावासले भारतले जारी राखेको उद्वार कार्यक्रममार्फत घर फर्किन नेपाली नागरिकलाई भनेको हो। 

दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्र अनुसार युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली स्वदेश फर्किन चाहेका छैनन्। 

लाखौँ खर्चेर रोजगारी र अध्ययनका लागि युक्रेन गएकाले तत्काल स्वदेश फर्किन नचाहेको उनीहरुले बताइरहेका छन्। बरु ती नेपाली युक्रेन छोडेर अन्य युरोपेली मुलुकतिर छिर्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .