कारोबार


नयाँ गाडी नआउने भएपछि कस्ताे हाेला नाडा अटाे शाे?

नयाँ गाडी नआउने भएपछि कस्ताे हाेला नाडा अटाे शाे?

वसन्त अर्याल
असार २२, २०७९ बुधबार १९:२७, काठमाडौँ

सरकारले नयाँ गाडीको आयातमा पूर्ण बन्देज लगाउँदा नाडा अटो शो कस्तो होला भन्ने जिज्ञासा सुरु भएको छ। सरकारले गाडी आयात प्रतिबन्धलाई निरन्तरता दिए नाडा अटो शो खल्लो हुने देखिएको हो। 

सरकारले डिजेल र पेट्रोल इन्जिनका प्यासेन्जर भेहिकल (कार जिप) र २५० सीसीमाथिका मोटरसाइकल आयातमा रोक लगाएको छ।

सरकारले पेट्रोल–डिजेल इन्जिनका प्यासेन्जर भेहिकल आयातमा रोक लगाउँदा विद्युतीय गाडीलाई भने खुल्ला राखेको छ। 

नाडा अटोमोबाइल्स एशोसिएसनले अटो एक्सपो २०२२ भदौ ७ देखि १२ गते गर्दै छ। त्यसको पूर्व तयारीका काम गरिरहेको छ। नाडाले अटो शोको तयारी गरिरहँदा वैदेशिक मुद्रा सञ्चितीमा चाप आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गते सूचना जारी गर्दै गाडी सहित १० वस्तुको आयातमा पूर्ण बन्देज खुल्ने नखुल्ने स्पष्ट छैन।  

दुई हप्ताअघि नाडाका प्रतिनिधिले उद्योगमन्त्री दिलेन्द्र बडूसँग छलफल गर्दा साउन १ गतेदेखि आयात खुल्ने आश्वासन दिएका थिए। मन्त्रालयले नयाँ निर्णय नगरे साउन १ देखि गाडी आयात गर्न पाइने छ। साउन १ देखि नै गाडी आयातको लागि खुल्ला गरेपनि भदौ पहिलो हप्तासम्म भारतबाहेकका तेस्रो देशबाट गाडी आयात हुन कठिनाई देखिन्छ। 

गाडी आयात खोल्नको लागि राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चितीमा अझै सुधार नआएको उल्लेख गरेको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।  

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१  प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ।

१० महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ। 

नाडा अटो एक्स्पो २०२२ का संयोजक अनुप कुमार बरालले सरकारले गाडी सधैँ बन्द गर्न नसक्ने बताए।  

‘सरकार नै यस्तो छ। सहयोग नै गर्दैन। नयाँ गाडी ल्याउने वातावरण नै बनाउन सक्दैन भन्दैमा व्यवसायी चुप लागेर बस्ने कुरा हुँदैन,’

संयोजक बरालले भने, ‘व्यवसायी निकम्मा हुनु भएन। व्यवसायीले गर्दै आएको काम सकेसम्म निरन्तरता दिनु पर्यो।’

नाडा अटो शो व्यवसायीहरुको कन्सेप्ट भएकाले त्यसलाई निरन्तरता दिएको थियो। सरकारले डिजेल र पेट्रोलका गाडीको आयातमा रोक लगाएपनि विद्युतीय गाडीको खुल्ला राखेको छ। त्यसबाहेक २५० सीसी सम्मका मोटरसाइकल तथा स्कुटर आयातमा पनि प्रतिबन्ध लगाएको छैन। 

‘सरकारले एलसी खोल्न नदिए पनि अटो शोका लागि धरौटी राखेर केही दिनको लागि गाडी नेपाल ल्याउन पाइन्छ,’ बरालले भने, ‘त्यसबाहेक विद्युतीय गाडीले पनि सहयोग पुग्छ।’

उनले व्यवसायीले अटो शोलाई आकर्षक बनाउन नयाँ विद्युतीय गाडी ल्याउने योजना बनाई रहेको बताए।  

 कुन कुन गाडी आयातमा प्रतिबन्ध छन्?
एम्बुलेन्स र ढुवानीका सवारीसाधन आयातमा रोक लगाएको छैन। त्यस्तै २५० सीसी कमका मोटरसाइकल आयात पनि खुल्ला गरेको छ। 

आयात बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँले आयात गर्न भने रोक लगाइएको छैन।

त्यस्तै, वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका हकमा पनि व्यवस्था लागू नहुने बताएका छन्। 

एचएस कोड ८७०३२१९९ का हजार सीसीभन्दा कमका गाडी,  ८७०३२२९० पेट्रोल इन्जिनका हजारदेखि १५०० सीसी, ८७०३२३१९ एसएस कोड पेट्रोल इन्जिनका १५ सय सीसीका गाडी रोकिएका छन्। 

८७३२३२९ एचएस कोडमा १५ सयदेखि ३ हजार सीसी,  ८७०३२३३९ एसएस कोडमा सिलिन्डर क्यापिसिटी ५०० सीसी, ८७०३२४१० एचएस कोडमा ३ हजार सीसीका र ८७०३२४९० एसएस कोडमा ३ हजार सीसीका बन्द छन्।  

त्यस्तै, ८७०३३१९० एसएसकोड १५ सय सीसीसम्मका डिजेल गाडी,  ८७०३३२१९ र ८७०३३२२९ एचएस कोडमा १५०० देखि २५०० सीसीसम्मका डिजेल इन्जिनका गाडी आउन पाएका छैनन्। 

८७०३३२२९ एसएस कोडमा डिजेल इन्जिनकै १५०० देखि २५०० सीसीसम्मका गाडी पर्छन्। ८७०३३३९० सिलिन्डर क्यापासिटी २५०० सीसीमाथिका गाडी आयात प्रतिबन्ध गरिएको छ। ८७०३६०९० एचएस कोडमा २ हजार सीसीमाथिका पेट्रोल–इलेक्ट्रिक हाइब्रिड गाडी पर्छन्। 

नेपालमा ८७११३०९० एचएस कोडमा २५० देखि ४०० सीसीसम्मका मोटरसाइकल भित्रिँदै आएका छन्। अब भने यो कोडमा आउने मोटरसाइकलमाथि चालू आवसम्मका लागि प्रतिबन्ध लागेको छ।

यसबाहेक ८७१११४०० एचएस कोडमा ५०० सीसीदेखि ८०० सीसीसम्मका र ८७१११५०० एचएस कोडमा ८०० सीसीमाथिका मोटरसाइकल पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .