कारोबार


गौतमबुद्ध विमानस्थलबाट उड्न विदेशी जहाज उत्सुक, नेपालीले किन गरे बेवास्ता?

गौतमबुद्ध विमानस्थलबाट उड्न विदेशी जहाज उत्सुक, नेपालीले किन गरे बेवास्ता?

वसन्त अर्याल
असार २८, २०७९ मंगलबार ६:४९, काठमाडौँ

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि विदेशी कम्पनीले चासो देखाउँदा नेपाली वायुसेवाले बेवास्ता गरेका छन्। 

विमानस्थलको खर्च धान्न दैनिक ५ बढी अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा नेपाली वायुसेवाले चासो देखाउन नसकेका हुन्। 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाली वायुसेवा कम्पनीमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स रहेका छन्। दुवै एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन्। 

तर हालसम्म नयाँ गौतमबुद्ध विमानस्थल प्रयोग गरी अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाउनसकेका छैनन्। भारतमा नेपालबाट उडान गर्दै आएको बुद्ध एयरले पनि उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा चासो देखाएको छैन। बुद्धसँग ठूला जहाज भने छैनन्।

सरकारी स्वामित्व रहेको नेपाल एयरलाइन्सले वैशाख १५ गते त्रिभुवन विमानस्थलबाट गौतमबुद्ध विमानस्थलमा वाइडबडीमार्फत परीक्षण उडान गरेको थियो। तर नियमित उडानको योजना भने कम्पनीले अहिलेसम्म बनाएको छैन।  

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले विदेशी कम्पनीहरुले नियमित उडानको लागि चासो देखाए पनि नेपाली वायुसेवा कम्पनीले कुनै योजना प्रस्तुत नगरेको बताए। 

हाल जेठ २ देखि भैरहवा–कुवेत उडान जजिरा एयरले मात्रै गरिरहेको छ। 

‘अहिले त जजिराले हप्तामा ३ वटा उडान गरिरहेको छ। यसले दैनिक उडान गर्ने बताएको छ। तालिका लिइसकेको छैन’, दाहालले नेपालखबरसँग भने, ‘युरोपियन देशमा उडान भरिरहेको विज एयरले आवुधावीबाट भैरहवा उडान गर्ने तयारी थालेको छ।’

विज एयरले दैनिक ७ उडान गर्ने निवेदन दिएको छ। जजिरा एयरवेजले अहिले दैनिक उडान गर्नको लागि तालिका माग गरिरहेको छ। 

‘जजिराले हप्तामा ३ उडान गर्दा हरेक उडानमा १२० देखि १५० सम्म यात्रु अकुपेन्सी रहने गरेको छ’, उनले भने, ‘त्यो भनेको उच्च अकुपेन्सी नै हो।’

दाहालका अनुसार फ्लाई दुवई र एयर अरेबियाले भैरहवाबाट नियमित उडान गर्ने योजना बनाए पनि उडानको लागि निवेदन दिएका छैनन्। 

उनले दशैँसम्म विज एयर, फ्लाई दुवई, एयर अरेबियासहित ५–६ नियमित उडान हुने बताए। 

नेपाली वायुसेवा कम्पनी गौतमबुद्धमा किन जाँदैनन्?
नेपालबाट अन्तर्राष्ट्रिय उडान ८ वटा नेपाली जहाजले गरिरहेका छन्। तर भैरहवा विमानस्थलबाट उडानको लागि योजना भने नबनिसकेको वायुसेवा कम्पनीको भनाइ छ। 

गौतमबुद्ध विमानस्थलमा बुद्धिष्ट पर्यटक, भारतीय सीमा क्षेत्रका नागरिक र वैदेशिक रोजगारीमा गएका नेपाली मुख्य यात्रु हुने अपेक्षा गरिएको छ। 

तिब्बत एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिको संयुक्त लगानीमा रहेको हिमालयले तत्काल गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने कुनै योजना नभएको जानकारी दिएको छ। 

‘गौतमबुद्ध विमानस्थलबाट तत्काल कुनै गन्तव्यमा उडान गर्ने योजना छैन’, हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने। 

हिमालय एयरलायन्सले त्रिभुवन विमानस्थलबाट युएईको आबुधावी र दुवई,  साउदी अरेबियाको दमाम र रियाद, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, बंगलादेशको ढाका र चीनका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ। 

हिमालय एयरलाइन्ससँग ३ वटा एयरबस ३२० र एउटा एयरबस ३१९ रहेको छ। 

त्यस्तै सरकारी स्वामित्व भएको नेपाल वायुसेवा निगमले पनि भैरहवाबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने हालसम्म कुनै योजना बनाएको छैन। 

नेपाल वायुसेवा निगमकी कर्पोरेट निर्देशक अर्चना खड्काले भैरहवाबाट अन्य गन्तव्यमा उडान गर्ने विषयमा कुनै तयारी नभएको बताइन्। 

‘अहिले भैरहवाबाट अन्य गन्तव्यमा उडान गर्ने विषयमा निगमले कुनै छलफल गरेको छैन। योजना पनि बनेको छैन’, खड्काले भनिन्, ‘४ वटा जहाजले १० वटा गन्तव्यमा उडान गरिरहेका छौँ। भैरहवाबाट थप उडान गर्न सक्ने अवस्था छैन।’

निगमसँग २ वटा एयरबस ३२० अर्थात् न्यारोबडी र २ वटा एयरबस ३३० वाइडबडी विमानहरु छन्। निगमको गत चैतको तथ्यांकले न्यारोबडी दैनिक औसत ९ घण्टा ४६ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट उपयोग भएको देखाएको छ। काठमाडौंबाट सिट अकुपेन्सी ९० प्रतिशत बढी पुगेको निगमले उल्लेख गरेको छ।   

नेपाल वायुसेवा निगमले त्रिभुवन विमानस्थलबाट थाइल्यान्डको बैंकक, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दुवई, रियाद, जापानको नारिता, हङकङमा नियमित उडान गरिरहेको छ। भारतको दिल्ली, मुम्बई, बेंग्लोरमा समेत उडान गरिररहेको छ। 

‘अहिलेसम्म केही योजना बनेको छैन। ४ वटा जहाजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न अप्ठ्यारो छ’, निगमकी निर्देशक खड्काले भनिन्, ‘वायुसेवा निगमको योजनाअनुसार जहाज थपेपछि मात्रै भैरहवाबाट थप उडान गर्न सकिन्छ।’ 

निगमको १० वर्षे व्यावसायिक योजनाअनुरुप २०२३ मा २ वटा न्यारोबडी जहाज थप्ने, २०२४ मा एक वटा वाइडबडी र २०२५ मा २ थान न्यारोबडी र १ थान वाइडबडी थप्ने योजना छ। तर निगमको कर्जा साढे ४७ अर्ब रुपैयाँ पुगिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .