ad ad

कारोबार


चितवनलाई आर्थिक राजधानी, डिजिटल मुद्रालाई वैधानिकता र कृषिमा क्रान्ति

५० लाखसम्मको कारोबारमा आयकर छुट, २० लाखभन्दा कमको लेखापरीक्षण गर्न नपर्ने
चितवनलाई आर्थिक राजधानी, डिजिटल मुद्रालाई वैधानिकता र कृषिमा क्रान्ति

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै रवि लामिछाने। तस्बिर : सरोज बैजु


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १२:४९, काठमाडौँ

सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 

‘हामी र हाम्रो वाचा’ नामक घोषणापत्रमा उक्त पार्टीले मतदातासामु ‘भ्रष्टाचार गरिन्न’, बहुआयामिक सामाजिक सुरक्षा, उत्कृष्ट शिक्षा र संस्कार, बलियो स्वास्थ्य संयन्त्र, कृषिमा क्रान्ति, सम्मानित वैदेशिक रोजगार, जलवायु परिवर्तन र विपद् व्यवस्थापनलगायतका विभिन्न शीर्षकमा थुप्रै वाचा गरेको छ। 

मंसिर ४ गते हुनलागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा देशको अर्थव्यवस्थाबारे के छ त? हामीले त्यसैलाई केलाउने प्रयास गरेका छौँ– 

भ्रष्टाचार गरिन्न, गर्नेलाई छाडिन्न 
‘भ्रष्टाचार’लाई देशविकासको प्रमुख बाधक मान्दै उक्त पार्टीले यसविरुद्ध निर्मम प्रस्तुत हुने वाचा गरेको छ। सोहीअनुसार नारा तय गरेको पार्टीले भ्रष्टाचार गर्ने र यसका मतियारलाई समेत समान कारबाही गर्ने वाचा गरेको छ। 

त्यस्तै उसले यससम्बन्धी मुद्दाका फाइल खोल्ने पनि वाचा गरेको छ। विभिन्न समयमा भ्रष्टाचार भएका भनिएका ललितानिवास सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी खरिद काण्ड, कोभिड खोप, यती र ओम्नी काण्ड, मधेश सरकारको साइकल खरिद, प्रिन्टिङ प्रेस खरिद, बूढीगण्डकी आयोजनालगायतको छानबिन गर्ने वाचापत्रमै उल्लेख छ। 

बहुआयामिक सामाजिक सुरक्षा 
उक्त पार्टीले बहुआयामिक सामाजिक सुरक्षाको अवधारणा ल्याएको छ। यसअनुसार न्यूनतम जीवनस्तरको प्रत्याभूति, निजी क्षेत्रसँगको साझेदारीमा बीमामार्फत सामाजिक सुरक्षा, वृद्धावस्थामा आर्थिक आत्मनिर्भरताका लागि सामाजिक सुरक्षा कोषमा सबैलाई आबद्ध गराउनेलगायतलाई जोड दिइएको छ। 

उक्त पार्टीले उत्कृष्ट शिक्षा र संस्कार, बलियो स्वास्थ्यसंयन्त्रलाई पनि जोड दिएको छ। 

कृषिमा क्रान्ति : जनजनमा समृद्धि र शान्ति 
राष्ट्रिय स्वतन्त्र पार्टीले जनजनमा समृद्धि र शान्तिका लागि कृषिमा क्रान्ति गर्ने जनाएको छ। त्यसका लागि राष्ट्रिय कृषि ग्रिडको स्थापना, कृषि उत्पादन र भण्डारणलाई जोड दिइएको छ। ५ वर्षभित्र आमूल परिवर्तन गरी किसानको आय दोब्बर बनाउने उसले वाचा गरेको छ। 

पार्टीले ५ लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापना, एक क्षेत्र एक बालीको अवधारणाको वाचा गरेको छ। कृषिमा क्रान्ति गर्न कृषि बीमा र सामाजिक सुरक्षा कोषको व्यवस्था, मित्रराष्ट्रहरुमा सोझै निर्यात, कृषि उत्पादनको व्यवसायीकरणमा पनि उसले जोड दिएको छ। 

त्यस्तै विश्व बजारबाट नवीन कृषि प्रविधि भित्र्याउने, कृषि र पशुपालन व्यवसाय प्रवर्द्धन गर्न हाइब्रिड बीउ विकास गर्न पूर्व र पश्चिममा सय–सयवटा प्रयोगशाला खोलिने वाचा गरिएको छ। कृषि बजारीकरण बोर्ड स्थापना गरेर उत्पादनको गुणस्तर तथा बजार मूल्य जस्ता पक्षमा किसानलाई सहयोग गर्ने उल्लेख गरिएको छ। 

व्यवसायमा सहजता 
स्वतन्त्र पार्टीले सहज व्यवसायको वाचा गरेको छ। सरकारले व्यवसायीमा स्वतन्त्र प्रतिस्पर्धा र नवप्रवर्तनको वातावरण सिर्जना गर्न सहजीकरण गर्ने उसको वाचा छ। चितवनलाई आर्थिक राजधानी बनाउने, १५ गुणा वैदेशिक लगानी भित्र्याउने, रातो र चन्द्र सूर्य ब्रान्ड अभियानका लागि १० अर्ब बजेट छुट्याउनेजस्ता कुराहरु समावेश गरिएको छ।

५० लाखसम्म कर मिनाहा
उक्त पार्टीले वार्षिक ५० लाखसम्मको कारोबारमा पूर्ण आयकर छुट दिने, २० लाखभन्दा कम कारोबार गर्ने उद्यमीले कर प्रणालीमा अद्यावधिक लेखापरीक्षण नगरी स्वघोषणा गरे पुग्ने व्यवस्था गरिने वाचा गरिएको छ। 

पूर्वाधार विकास
यसबाहेक पूर्वाधार गुणस्तरीय सञ्जाल, सबै सार्वजनिक यातायातका पूर्वाधारमा सुधार, राष्ट्रिय यातायात गुरुयोजना तयार पारिने र लामो र छोटो दूरीका लागि सडक, रेल, हवाइ, रोपवे र जलमार्ग समेटेर एकीकृत यातायात सञ्जालको खाका कोरिने बताइएको छ। 

त्यस्तै नवीकरणीय ऊर्जा स्रोतको विविधीकरण, सौर्य र वायु ऊर्जामा लगानी, लिथियम आयन ब्याट्री बैंक, हाइड्रोजन उत्पादनलगायतलाई जोड दिइएको छ।

सम्मानित वैदेशिक रोजगार 
उक्त पार्टीले सम्मानित र सुरक्षित वैदेशिक रोजगारीलाई जोड दिएको छ। सकेसम्म वैदेशिक रोजगारीका लागि देश छाड्न नपर्ने समाजको परिकल्पना गरेको पार्टीले विदेशबाट फर्केकालाई सबै वित्तीय संस्थाले लगानीयोग्य रकमको ५ प्रतिशत अनिवार्य छुट्याउने व्यवस्था गर्ने जनाएको छ। 

यसबाहेक रेमिट्यान्सका स्रोतको विविधीकरण, दक्षतामा आधारित सुरक्षित र उच्च पारिश्रमिकका रोजगारीको खोजी गरिने उल्लेख गरिएको छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई निःशुल्क हुने व्यवस्था गरिने जनाइएको छ। 

धेरै आयमूलक पर्यटन 
भूमिसुधारमा वैज्ञानिकताको अवधारणा ल्याउने वाचा गरेको पार्टीले पर्यटनलाई धेरै आयमूलक बनाउने जनाएको छ। यसअनुसार ५ वर्षभित्र ३ खर्ब आय, ५ अर्बको साहसिक पर्यटन विकास कोष, गुठीलाई पुनर्जागृत, प्रत्येक प्रदेशमा सांस्कृतिक केन्द्र बनाउने घोषणा गरिएको छ। पर्यटकीय क्षेत्रलाई चौबीसै घण्टा खोलिने, साना तथा मझौला व्यवसायलाई ५ वर्षसम्म करमा सहुलियतलगायतको व्यवस्था गरिने वाचा गरिएको छ। 

त्यस्तै नेपाल वायुसेवा निगमलाई आधुनिकीकरण गरी ५ वर्षभित्र विश्वबजारमा स्थापित गराएर ५० अर्ब कमाउने लक्ष्य राखिने वाचा गरिएको छ। नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्र बनाइनेलगायतका कुराहरु वाचापत्रमा समावेश छन्। 

पालिका बन्ड, डेरिभेटिभ मार्केटको अवधारणा
यता बैंकिङ र बीमाको सुदृढ संयन्त्र निर्माण गरिने उक्त पार्टीले जनाएको छ। वित्तीय क्षेत्रमा आधुनिक साधनको प्रयोग गर्दै त्यसमार्फत प्राप्त हुने सुरक्षाको उपयोगिता सहज बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। 

नेपाली जनतालाई विकास परियोजनामा सहभागी गराउन र आर्थिक टेवा दिन पालिका बन्ड, डेरिभेटिभ मार्केटको अवधारणा ल्याइएको छ। देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिइने जनाइएको छ। 

बीमा उद्योगलाई आधुनिकीकरण गर्न बीमा एकेडेमी बनाइने, बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधनको डेटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सेक्युरिटी प्रावधानसहितको कानुन बनाइने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .