ad ad

कारोबार


विदेशबाट फर्किनेले व्यक्तिगत मोबाइलको पनि भन्सार प्रज्ञापनपत्र लिनुपर्ने

विदेशबाट फर्किनेले व्यक्तिगत मोबाइलको पनि भन्सार प्रज्ञापनपत्र लिनुपर्ने

वसन्त अर्याल
पुस १२, २०७९ मंगलबार ११:५७, काठमाडौँ

अबदेखि विदेशबाट स्वदेश आउने यात्रुले आफ्नो साथमा ल्याउने मोबाइलको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। 

विदेशबाट उपहार समेत सजिलो गरी ल्याउन नदिएको गुनासो सर्वसाधारणले गरिरहेका बेला सरकारले वैदेशिक रोजगारीबाट फर्किँदा आफ्नो साथमा रहेको मोबाइलको समेत प्रज्ञापनपत्र लिन बाध्य बनाएको हो।  

नयाँ व्यवस्थासँगै व्यक्तिगत प्रयोग गर्दै आएको मोबाइलको समेत प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेबाट पूर्ण रुपमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ लागू गर्दा प्रज्ञापनपत्रसहित दर्ता गर्नुपर्ने बताएको छ। 

प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री, वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न एमडीएमएस लागू गर्न लागेको हो। तर प्रज्ञापनपत्र नै लिनुपर्ने प्राधिकरणको व्यवस्थाले सर्वसाधारणले धेरै दुःख पाउने निश्चित छ।  

‘एमडीएमएसमा दर्ता गर्न प्रज्ञापनपत्र ल्याउनैपर्छ’, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले भने, ‘भन्सार विभागसँगै छलफल गरिसकेका छौँ। भन्सारले सहजीकरण गर्ला।’

उनले यसो भने पनि यात्रुलाई बढी झन्झटिलो बनाउँदा एमडीएमएस प्रणालीप्रति नै प्रश्न उठ्ने देखिएको छ। तर पौडेलले भने अब प्रज्ञापनपत्र ल्याउनैपर्ने बताए। 

एमडीएमएस प्रणाली लागू गर्दा चोरी भएका, हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न सकिनेछ। 

‘विदेशबाट आउने नेपालीहरुले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाइल एमडीएमएसमा दर्ता गर्नुपर्छ’, प्राधिकरणले भनेको छ, ‘मोबाइल सेटहरुको १५ अंकको ईएमईआई नम्बरसहित भन्सार घोषणा गरी अद्यावधिक गर्नुपर्छ।’

एमडीएमएसमा दर्ता गर्दा भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ। 

एमडीएमएस प्रणाली लागू हुँदा सरकारलाई राजस्व बढ्ने, सुरक्षा चुनौती कम हुनेलगायतका कुरा बताए पनि आफैँले प्रयोग गरेको मोबाइल ल्याउँदा समेत प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्थाले अप्ठ्यारो हुने देखिएको छ। 

मोबाइल आयातकर्ता संघले पूर्णरुपमा सञ्चालन आइसक्दा प्राविधिक समस्या आए समाधान गर्न सकिने बताए। 

‘एमडीएमएस लागू हुनु व्यवसायी, सरकार सबैलाई फाइदा हुने कुरा हो’, संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘नेपालमा सहजै मोबाइल पाइन्छ भने विदेशबाट किन ल्याउनुप¥यो? आफैँले प्रयोग गरेको मोबाइल ल्याउँदा प्राविधिक समस्या आए समाधान गर्न सहयोग गर्छौँ।’

भारत वा तेस्रो मुलुकमा बसी १–२ वर्ष चलाएको मोबाइल पनि दर्ता गर्नुपर्ने हुन्छ। दर्ता गर्न भन्सार कार्यालयबाटै प्रज्ञापनपत्र लिनुपर्छ। स्थलमार्गबाट भन्दा विमानस्थलबाट भन्सारको प्रज्ञापन लिन सहज हुने देखिन्छ। 

‘विमानस्थलबाट जथाभावी आयात हुँदैन। स्थलमार्गबाट अनियन्त्रित रुपमा आयात हुने गरेको छ’, अग्रवालले भने, ‘स्थलमार्गबाट अवैध आयात हुन बन्द हुन्छ। व्यक्तिले प्रयोग गरिरहेको विषयमा प्राविधिक समस्या आए समाधानको उपाय खोज्छौँ।’

भन्सार विभागले भने सर्वसाधारणलाई झन्झट नहुने दाबी गरेको छ। 

‘भन्सार विभागका कार्यालयहरुमा यात्रु शाखा भन्ने छ। त्यहाँबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइलको प्रज्ञापनपत्र लिन सकिन्छ’, विभागका निर्देशक पुण्यविक्रम खड्काले भने, ‘सर्वसाधारणले साथमा ल्याएको सामानको जाँचपास यात्रु शाखाबाट हुँदै आएको छ। खासै झन्झिटिलो हुँदैन।’

विभागले दाबी गरे पनि भन्सार कार्यालय नगई मोबाइल दर्ता हुन सक्दैन। भन्सार कार्यालयको यात्रु शाखाबाट प्रज्ञापनपत्र लिई अपलोड गरेपछि मात्रै मोबाइल चल्छ।

‘दर्ता नभएका मोबाइल पुस १५ पछि चल्दैन’
एमडीएमएसमा दर्ता नभएका वा नेपालमा २०७९ भदौअघि नेपाल भित्रिई सञ्चालनमा नआएका मोबाइल पुस १५ भित्र दर्ता गर्न सूचित गरिएको छ। 

नेपाल भित्रिए पनि दर्ता नभएका मोबाइल पुस १५ पछि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्रसहित राहदानी वा नागरिकताको आधारमा दर्ता गर्न सकिन्छ। 

नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकीन गर्न सकिन्छ। 

सरकारले नयाँ मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेरेर मात्रै खरिद गर्न अनुरोध गरेको छ । त्यस्तै मोबाइल आयातकर्ता तथा बिक्रेतालाई मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्रीवितरण गर्न भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .