नेपालमा एटीआर ७२ जहाज पहिलोपटक दुर्घटनामा परेको छ। आन्तरिक उडानमा यो हालसम्मकै ठूलो दुर्घटना हो।
आइतबार भएको दुर्घटनामा ६८ जना मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ। जसमा ५३ नेपाली र १५ विदेशी नागरिक रहेका थिए।
काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा दुर्घटना भएको हो। नेपालको दुर्गम क्षेत्रमा ट्विनअटर जहाज बढी दुर्घटना भएका छन्। एटीआर ७२ भने अहिलेसम्म दुर्घटनामा परेको थिएन।
पहाडी क्षेत्रमा सुरक्षित मानिने विमानस्थल रुटमै यो दुर्घटना भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एटीआर ७२ जहाज पहिलोपटक दुर्घटनामा परेको जानकारी दिए।
‘काठमाडौं-पोखरा रुट र एटीआर ७२ जहाज सुरक्षित मानिन्छ’, निरौलाले भने, ‘यहाँ एटीआर पहिलोपटक दुर्घटनामा परेको हो।’
एटीआर ७२ जहाजमा २ वटा इन्जिन रहन्छन्। यतिको जहाजमा ७२ सिट क्षमता रहेको थियो। यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज रहेको छ।
एटीआर ७२ जहाज सबैभन्दा बढी बुद्ध एयरसँग छन्। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगटेको बुद्धले ११ वटा एटीआरमार्फत उडान गरिरहेको छ। बुद्ध एयरले एटीआर ७२ मार्फत काठमाडौं बनारस समेत उडान गर्दै छ।
एटीआर ७२ जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनल (एटीआर)ले उत्पादन गर्दै आएको छ।
Shares
प्रतिक्रिया