ad ad

कारोबार


अब चितवनबाटै लाइसेन्स

अब चितवनबाटै लाइसेन्स

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १३:४४, चितवन

यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ। कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो। 

कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ। कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि फाराम खोल्न सकिन्छ। 

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने बताए। उनले भने, ‘आजै हामी युजरनेम र पासवर्ड कार्यालयमा पठाइदिन्छौँ, अरु काम उहाँहरुको हो।’ 

कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताए। उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ। क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उनले जानकारी दिए।  

एक साताको फाराम भर्ने समय राखिने छ। हाल यस कार्यालय भरतपुर विमानस्थलअगाडि छ। अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेस्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ।

यो कार्यालयबाट सेवा सुरु भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ।  त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उनले बताए। नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रुट परमिट, जाँचपासजस्ता महत्त्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन्। 

ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ। ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमिभित्र तीनतले चोकमा छ। गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो। 

जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौँडा, वीरगन्ज, कावासोती, काठमाडौँलगायत ठाउँ जान बाध्य छन्। भरतपुर महानगरपालिकामा पहिलोपटक प्रमुख भएको दोस्रो वर्षदेखि रेनु दाहालले यहाँ यातायात कार्यालय स्थापना गरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्थाका लागि पहल थालेकी हुन्। उनले भनिन्, ‘हाम्रो पाँच वर्षको निरन्तर प्रयासपछि अब भरतपुरबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएको छ।’

भरतपुरको आँपटारीमा रहेको वन क्षेत्रको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराउन महानगरपालिकाले निर्णय गरेर बागमती प्रदेश हुँदै सङ्घीय सरकारसम्म फाइल पुर्‍याइएको छ। आफ्नै जग्गामा कार्यालय स्थापना गर्न समय लाग्ने भएपछि जिल्ला समन्वय समितिको भवनबाट सेवा दिन सुरु गरिएको हो। दाहालले तत्काल यहाँबाट सेवा थालेर आफ्नै कार्यालय भवन निर्माणतर्फ लाग्ने बताइन्। उनले थपिन्, ‘महानगरले सवारी चालक अनुमतिपत्र यहीँबाट दिने कामलाई उच्च प्राथमिकतामा राखेर निरन्तर लागिपरेकै कारण सफल भएको हो ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .