ad ad

कारोबार


अब खोला तर्दा कसैले ज्यान गुमाउनु पर्दैन

झोलुंगे पुलमा लाग्छ, फोटो र भिडिओ खिच्नेको भीड
अब खोला तर्दा कसैले ज्यान गुमाउनु पर्दैन

बागलुङको बुर्तिबाङ बजारनजिकै बनेको झोलुंगे पुल। तस्बिर : रासस


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १०:२९, काठमाडौँ

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारनजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ। त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडिओ खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ। तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पुलमा दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन्। स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि खुसी भएका छन्।

बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ। गत वर्षसम्म वारपार गर्दा सास्ती भोगिरहेका स्थानीयलाई यो पुल वरदान साबित भएको छ। वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीयलाई वारपार गर्न निकै समस्या थियो। गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई प्रयोगमा आएको हो। पुल दुई सय ४३ मिटर लामो छ। पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ। पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ। 

आफ्नो बारी खोलापारि र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताइन्। हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोगिरहेकामा यस वर्षदेखि सहज हुने उनले सुनाइन्। पुलले गाउँलेको दिनचर्या नै फेरिएको उनको भनाइ छ। 

‘बर्खामा खोला उर्लिएर आउँछ, पारि बारीमा पुग्न धेरै समस्या थियो, वारि गाउँदेखि पारि गाउँ पुग्न बुर्तिबाङ बजारबाट चुरेलाबास हुँदै बारीमा पुग्नुपर्थ्यो, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो। भनेको बेलामा बारीमा पुग्न सकिँदैनथ्यो’, उनले भनिन्, ‘यहाँ पुल बनेपछि त हामी धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झन्डै दुई घन्टा लाग्ने गर्थ्यो।’

स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताए। उनले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गरे। बुर्तिबाङ बजारनजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूलाई खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको उनले बताए।

स्थानीय नेपालीले भने, ‘पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गर्थ्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्यौं, नेताहरुलाई धेरैपटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारिपारि गर्न खोला तर्नुपर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .