ad ad

कारोबार


भैरहवा–चेङ्दु सिधा उडानमा सहयोग गर्छौंः चिनियाँ राजदूत

भैरहवा–चेङ्दु सिधा उडानमा सहयोग गर्छौंः चिनियाँ राजदूत

नेपालखबर
माघ १, २०७६ बुधबार ६:५१,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले निर्माणाधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सिचुवानको छेन्दुबीच सिधा उडानका लागि सहयोग गर्ने बताएकी छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटका क्रममा उनले सो कुरा जनाएकी हुन्।

‘लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिधा उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताउनुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने, ‘उहाँले छेन्दु–भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताउनुभयो।’

सो भेटका क्रममा मुख्यमन्त्रीले चीनको ठूलो अन्तर्राष्ट्रिय परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (विआरआई) अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्नसक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएको केसीले जनाए।

पोखरेलले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताएका थिए।

‘त्यसैगरी मुख्यमन्त्रीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने बताउनुभयो,’ केसीले बताए।

केसीका अनुसार मुख्यमन्त्रीले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताएका थिए।

पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका थिए।

‘त्यसैगरी, उहाँले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने बताउनुभयो’, केसीले भने, ‘सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह गर्नुभयो।’

राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल द्रुत विकासको बाटोमा हिंडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताएकी थिइन्।

मुख्यमन्त्रीले कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धन मार्फत प्रदेशको समृद्धि गर्दै सिंगो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी दिएका थिए।

पोखरेलले परम्परागत शिक्षाका लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदान प्रदान गर्न सकिने बताएका थिए।

राजदूत यान्छीले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको जानकारी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .