दोस्रो ‘काठमाडौं कलिङ साहित्य महोत्सवमा बजार, वित्त र व्यवस्था’ शीर्षकमा छलफल भएको छ। गजेन्द्र बुढाथोकी सहजकर्ता रहेको कार्यक्रममा वक्ताहरु विमल डंगोल र सुदर्शन गिरीले नेपालको अर्थव्यवस्था र वैदेशिक लगानीबारे आफ्ना विचार राखे।
नेपालको बजार उत्पादनमुखीभन्दा उपभोगमुखी बढी हुँदा अर्थतन्त्र कमजोर बन्दै गएको बताउँछन् सुदर्शन गिरी।
गिरी भन्छन्, ‘नेपालको बजारलाई हेर्दा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी छ। यहाँ हरेक क्षेत्रमा प्रभावकारी उत्पादन हुन सकेको छैन। बजारको नियन्त्रण पनि सीमित वर्गमा मात्र छ। जसले मूल्य निर्धारण गर्नुहुन्छ र, त्यही मूल्यअनुसार उपभोक्ताहरु सामान किन्न बाध्य छन्।’
नेपाल कृषिप्रधान देश भनेपनि आत्मनिर्भर नहुँदा भारतले चामल निर्यात रोक्दा पनि डराउनुपर्ने अवस्था आएको उनी सुनाउँछन्। उत्पादन नहुने तथा लागतका हिसाबले बढी खर्च लाग्ने सामानहरु आयात गरे पनि कृषिमा आत्मनिर्भर हुनुपर्ने तर्क राख्छन् उनी।
वैदेशिक लगानीको अभाव हुँदा पनि नेपालका उत्पादनशील युवा देश छोड्न बाध्य भएको सुदर्शन गिरीले बताए।
‘अहिले युनिभर्सिटीहरु खाली छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा देश छोड्ने युवाको घुइँचो छ। विदेशबाट लगानी नहुँदा हामीले उत्पादनशील युवालाई गुमाइरहेका छौँ। जसले नेपालको भविस्य असहज हुन्छ जस्तो लागिरहेको छ। खुल्ला व्यापार अर्थनीति भएपनि खासै फाइदा उठाउन सकेका छैनौँ।’
विमल डंगोलले नेपालमा राम्रा आर्थिक ऐन भए पनि प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसक्दा विदेशी लगानी आउन नसकेको सुनाए।
भन्छन्,‘कसैले पनि नाफा हुने प्रतिफलले लगानी गर्न चाहन्छन्। त्यहाँ उनीहरुले दक्ष जनशक्ती, स्रोतसाधन र स्थिर राजनीतिक अवस्थालाई पनि ख्याल गर्छन्। उहाँहरुले बजार पनि हेर्नुहुन्छ। तर, हामी भूपरिवेष्टित राष्ट्रमा छौँ। कानुनको कुरामा प्रभावकारिता नहुँदा साउथ एसियाभन्दा नेपालमा बिजनेश गर्न गाह्रो नै छ। जसकारण पनि विदेशी आकर्षित हुन नसकेको लाग्छ।’
सुदर्शन पनि कानुनी निकायहरु झन्झटिलो हुँदा वैदेशिक लगानी भित्रिर्न नसकेको सुनाउँछन्। वैदेशिक लगानीकर्ताहरुले चासो देखाए पनि सहज वातावरण सिर्जना गर्न नसक्दा यो अवस्था आएको उनको भनाइ छ।
‘कानुन भनेको सहजीकरण र पारदर्शिताका लागि हो। तर, कानुन मनाउने निकायहरुको प्रक्रिया झन्झटिलो छ। दोस्रो हामीले खुला गरिदिएका छौँ त भन्छौँ। तर, यहाँ आउने कारण के तरु लगानी गर्दा प्रतिफल त आउनुपर्यो। हाम्रो बजार सानो छ। आन्तरिक वितरण प्रणाली संकुचित छ। जसले वैदेशिक लगानी न्यून भएको लाग्छ,’ उनले भने।
वित्तीय सारक्षताको अभाव हुँदा नेपालको व्यसायिक पाटो विकास र विस्तार हुन नसकेको डंगोलले बताएँ।
‘नेपालमा वित्तीय लगानी सिमित हातहरुमा मात्र छ। हामी लामो समयदेखि जीवननिर्वाहमूखी अर्थतन्त्रमा छौँ। जसले गर्दा वित्तीय अभिवृद्धि गर्ने वित्तीय स्रोत कसरी परिचालन गर्ने कुराहरुको ज्ञान कम छ। मारवाडी समुदायलाई व्यापार कसरी गर्ने कुरा थाहा छ। तर, सबैलाई व्यापारिक पाटो थाहा नहुन सक्छ। जसले सरकारले सहुलियत कर्जा ल्याए पनि वित्तीय सारक्षताको कमीले त्यो परिचालन गर्न सकिँदैन।’
सरकारले ग्लोबल अर्थतन्त्रका लागि सहज वातावरण बनाउन सकेको खण्डमा नेपालको अर्थव्यवस्था राम्रो हुने उनले बताए।
Shares
प्रतिक्रिया