कारोबार


सरकारले बजेटमा कामै गर्न सकेन, राष्ट्र बैंकको कदम सही छ : स्वर्णिम वाग्ले

सरकारले बजेटमा कामै गर्न सकेन, राष्ट्र बैंकको कदम सही छ : स्वर्णिम वाग्ले

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८० आइतबार १५:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैँले काम नगरेको भन्दै असन्तुष्टि जनाए।

तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने नीतिहरु ल्याएको भन्दै स्वागत गरे। उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए।

‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन। कसिलो आयात र मौद्रिक नीतिले गर्दा शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिए पनि सरकार आफैँले गर्छु भनेका काम कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने, ‘यो बजेट म  ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु। धेरै कुरा असारसम्म गर्ने भनिएको थियो। केही कुरा साउनसम्म गर्छु भनिएको थियो। कुनै पनि पूरा भएका छैनन्। हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो। तर त्यो स्पिरिट अनुसार काम भएको छैन।’

उनले अनेक निराशाबीच राष्ट्र बैंकले केही कसिला नीतिहरुलाई खुकुलो गरेको बताए।  ‘त्यसको म स्वागत गर्न चाहन्छु। अर्थतन्त्रमा यसले केही राहत मिलेको छ’, उनले भने, ‘तर आर्थिक दुरावस्थाका लागि खाली केन्द्रिय बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ।’

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराएपनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .