ad ad

कारोबार


राजदूतसँग हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिँदैन : बाबुराम

राजदूतसँग हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिँदैन : बाबुराम

फाइल फोटो


नेपालखबर
बैशाख २, २०८१ आइतबार १७:२६, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन्।

नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाई थियो। सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ।

आइतवार काठमाडौंमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरुले राजदूतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे।

उनले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे। स्वदेशी श्रमको परिचालन गरेर  अघि बढ्नसके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईले बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हामीले वर्षौदेखि यो वैदेशिक लगानीको कुरा गरिराखेका छौं। तर खासै प्रगति चाहीँ भइराखेको छैन। दुई दुई पटक लगानी सम्मेलनहरु भए। र अहिले पनि भईराखेको छ। र त्यो उहीँ ढाँचामा भईराखेको म देख्छु। राजदूतहरुलाई बोलाएर हाम्रा मन्त्रीहरुले तपाईका देशका लगानी कर्ता, व्यवसायी, पुँजिपतीहरुलाई पठाईदिनुपर्‍यो भनेर हारगुहार गर्नुभएको छ।’

उनले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहोर्‍याए।

उनले थपे, ‘मलाई चाहीँ के लाग्छ भने नेपालमा लगानी नै आएको छैन। त्यसैले किन आएन भन्न स्वभाविक नै हो। मेरो राजनीतिक अर्थशास्त्रमा थोरै रुचि राख्ने भएकाले नेपालमा किन लगानी आईराखेको छैन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि। सबैले भन्दा पनि किन आईराखेको छैन, कहाँ चुकेका छौ हामी? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ।’

पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउने नीतिले पनि नेपालमा बाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .