कारोबार


एयर होस्टेस हुँदा स्टारबक्सको स्वाद चाखेकी सुमिलीले सम्हालिन् ‘टप अफ द वर्ल्ड कफी’

एयर होस्टेस हुँदा स्टारबक्सको स्वाद चाखेकी सुमिलीले सम्हालिन् ‘टप अफ द वर्ल्ड कफी’

लक्ष्मी बलायर
बैशाख ८, २०८१ शनिबार ८:४३, काठमाडौँ

अवकाश भएपछि धेरैको सोच हुन्छ- अब त आराम गर्छु। तर, सुमिली सुब्बा ज्वारचनलाई आरामको चाहना थिएन। फुर्सदिलो भएर बस्न मन थिएन।

त्यसैले गत भदौतिर नेपाल वायुसेवा निगमको विमान परिचारिकाबाट अवकाश पाएपछि उनी नयाँ सम्भावनाको खोजीमा लागिन्।

उमेर हदबन्दीले रिटायर्ड भए पनि काम गर्ने हुटहुटी बाँकी थियो। त्यसैले २८ वर्ष एयर होस्टेसका रूपमा काम गरिसकेकी सुमिली कफी सप सञ्चालनतर्फ लागिन्।

हुन त ‘टप अफ द वर्ल्ड कफी’ सन् २००७ देखि सञ्चालनमा आएको कफी सप हो। यसलाई एक विदेशी नागरिकले चलाउँदै आएका थिए। तर, कोरोना महामारीपछि व्यवसायले गति लिन सकेन। अन्तत: उनले यो कफी सप बेचे। ललितपुरको झम्सीखेलस्थित अरुण थापा चोकमा रहेको त्यही कफी सप आठ महिनायता सुमिलीले चलाइरहेकी छन्।

यसरी बनिन् एयरहोस्टेस
सुनसरीको धरानमा जन्मेकी सुमिली उच्च शिक्षाको क्रममा काठमाडौँ आइन्। एयरहोस्टेस बन्ने उनको कुनै योजना थिएन।

अध्ययनकै क्रममा उनले एकदिन वायु सेवा निगममा क्याबिन क्रुको जागिर खुलेको थाहा पाइन्। र, आवेदन दिइन्।

‘एयरहोस्टेस बन्ने कुनै योजना नै थिएन। नेपाल एयरलाइन्समा एयरहोस्टेसको जागिर खुल्यो भनेपछि अप्लाइ गरेकी हुँ। त्यतिखेर अहिलेजस्तो क्याबिन क्रुको लागि इन्स्टिच्युट खुलेका थिएनन्। जसकारण केही थाहा नै थिएन। तर, अन्तर्वार्ता र मेडिकल पास भएपछि सेलेक्ट भएँ,’ उनले सुनाइन्।

एक महिना तालिम लिएर सन् १९९५ देखि सुमिली नेपाल वायुसेवा निगममा आबद्ध भइन्। सुमिली क्याबिन क्रु विभाग प्रमुख भएर सेवानिवृत्त भएकी हुन्।

कफीमोहले खुलेको कफीसप
एयरहोस्टेस भएपछि सुमिली विभिन्न देश पुग्न थालिन्। एयरपोर्ट पुग्दा होस् वा होटल, उनी विभिन्न ब्रान्डका कफी पिउन थालिन्। जसले बिस्तारै उनको कफीमोह बढ्दै गयो। झन् स्टारबक्सको कफीको त पारखी नै थिइन् सुमिली। स्टारबक्स कफीहाउस र रोस्टरी रिजर्भहरूको ठूलो र चर्चित मल्टिनेसनल चेन हो।  

‘मलाई पहिल्यैदेखि कफी एकदमै मनपर्ने। बाहिरतिर स्टारबक्स निकै चर्चित। बाहिर जाँदा सधैँ स्टारबक्स कफी खाने। जसकारण कफी पहिल्यैदेखि रुचिको विषय थियो,’ उनले भनिन्, ‘पछिल्लो समयमा आएर एउटा कफी सप खोल्दा राम्रै त होला भन्ने भयो। साथीभाइको जमघट पनि हुन्छ अनि आफू पनि खान पाइन्छ भन्ने लाग्यो।’

एयरहोस्टेस पेसा पनि हस्पिटालिटीभित्र पर्ने भएकाले कफी सप खोल्न रुचि लागेको उनको भनाइ छ।

‘एक त कफीप्रेमी भइहालेँ। त्यसमाथि म पहिलेदेखि हस्पिटालिटी व्यवसायमा थिएँ। जहाँ सुरक्षासहित सेवा पनि आउँछ,’ उनी सुनाउँछिन्, ‘हाँसेर स्वागत गर्नेदेखि राम्रोसँग बोल्ने र गुड सर्भिसका कुरा सबै हस्पिटालिटीभित्र पर्छ आउँछ। जुन यता पनि लागू हुन्छ। जसकारण यो बिसनेज ठिकै हुन्छ लाग्यो। जहाजमा यात्रुहरूको सेवा गर्थें। यहाँ ग्राहकहरूको सेवा गरिरहेकी छु।’

यस कफी सपमा ७ जना युवाहरूले रोजगार पाएका छन्। पैसा कमाउनेभन्दा रोजगारी सिर्जना गर्न पाउँदा निकै खुसी लागिरहेको सुनाउँछिन् उनी।

भन्छिन्, ‘यो बिजनेस आफ्नो लागि मात्रै होइन। यहाँ सात/आठजनाले रोजगारी पाउनु भएको छ। कमाउनेभन्दा पनि उहाँहरूलाई रोजगारी दिने अवसर पाएकी छु। मेरो सानो योगदानले उहाँहरूको फ्यामलीलाई सपोर्ट भइरहेको छ। जुन कुरा नै ठूलो हो। साथै वारिस्ता (मेसिनमा कफी बनाउने कला) सिक्नेलाई इन्टर्नसिप पनि दिइरहेका छौँ।’

थरीथरी फ्लेबरका कफी
‘टप अफ द वर्ल्ड कफी’ नेपाली कफी बिन्सका लागि परिचित छ। गुल्मीबाट ल्याएको बिन्समा थरीथरीका फ्लेबरमा ग्राहकले कफीको स्वाद लिन सक्छन्। सिरपको सट्टा रोस्टिङ प्रक्रियाबाट कफी बनाइन्छ। जसले कफी पारखीहरूलाई यहाँको कफी खास लाग्छ। 

त्यसमा पनि हेजलनट र क्यारामिल्क फ्लेबरको कफी ग्राहकहरूको रोजाइमा परिरहेको सुनाउँछिन् सुमिली।

‘हाम्रोमा नर्मल र फ्लेबरयुक्त कफी छन्। रोस्ट प्रक्रियामा जाँदा फ्लेभर मिक्स हुन्छ। प्राकृतिक स्वाद आउँदा झन टेस्टी हुन्छ। जसकारण हेजलनट र क्यारामिल्क कफी निकै ग्राहकहरूले मनपराउनु भएको छ,’ सुमिली भन्छन्।

‘टप अफ द वर्ल्ड कफी’ बिन्स बेच्नमा पनि पपुलर छ। देशविदेशमा माग हुने बिन्सलाई पठाओ बजारबाट पनि किन्न सकिन्छ।

कफीसहित ‘टप अफ द वर्ल्ड कफी’ क्याफेको मेन्युमा केही फुडका परिकार पनि समावेश गरिएको छ। बिहान ब्रेकफास्टमा यो क्याफेको एभोकाडो टोस्ट निकै रुचाइएको छ। त्यस्तै, म:म, किमा नुडल्स, पिज्जा, सलाद मन पराइएका परिकार हुन्। फ्रेस जुस, प्यान केकसहित अल्कोहल पनि मेन्युमा अटाएका छन्। 

कोही व्यक्तिहरू कफीको चुस्कीसँगै पढ्न रुचाउँछन्। त्यस्ता ग्राहकहरूलाई लक्षित गरेर कफी सपभित्र सानो लाइब्रेरी समेत राखिएको छ। जहाँ बसेर ग्राहकहरूले घण्टौँ समय बिताउन पाउँछन्।

सुमिलीको परिवार नै एयरलाइन्स फिल्डमा छ। एयरहोस्टेस सुमिनीका श्रीमान यामप्रसाद ज्वारचन वाइडबडी क्याप्टेन र छोरा दिपु पाइलट हुन्। कफी सपभित्र राखिएको जहाजको पेन्टिङले पनि यो यो परिवारको पेसाप्रतिको सम्मान देखाउँछ।

दुवै सेवाअन्तर्गत पर्ने भए पनि कफीसपमा सहज महसुस गरिरहेकी छिन् सुमिली।

‘उडान क्षेत्र अलिकति फरकै हुन्छ। त्यहाँ सहज जीवन छैन। राति पनि उड्न पर्ने र सुत्न नपाउने हुन्छ। तर, यहाँ त्यस्तो हुन्न। बिहानदेखि भाइबहिनीले कफी खोल्नुहुन्छ। म पछि मात्रै आउँछु। रमाइलो नै भइरहेको छ,’ उनले सुनाइन्।

सुमिलीका अनुसार भविष्यमा ‘टप अफ द वर्ल्ड कफी’ क्याफेको शाखा विस्तार गर्ने योजना पनि छ। तर तत्कालै होइन, विस्तारै।

‘हामीले यो क्याफे टेकओभर गरेको धेरै भएको छैन। अब यसको रिभ्यु पनि आउँदै छ,’ सुमिली भन्छिन्, ‘तुरुन्त शाखा विस्तार गर्ने योजना त छैन। तर भविष्यमा पक्कै पनि खोल्ने छौँ। यसरी नै रोजगारी र सर्भिसलाई निरन्तरता दिन पाए खुसी नै हुनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .