ad ad

कारोबार


८ वर्षपछि प्रत्यक्ष अध्यक्षमै फर्किँदै उद्योग महासंघ, कसरी हुँदै छ कार्यान्वयन?

८ वर्षपछि प्रत्यक्ष अध्यक्षमै फर्किँदै उद्योग महासंघ, कसरी हुँदै छ कार्यान्वयन?

वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्षत्रय सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठ


वसन्त अर्याल
असार २५, २०८१ मंगलबार १७:०, काठमाडौँ

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको ८ वर्षपछि नेपाल उद्योग वाणिज्य महासंघ फेरि प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष चयन हुने व्यवस्थामा फर्किने निश्चित भएको छ।

यही असार २४ गते बसेको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरिदिएको हो। योसँगै आगामी कात्तिकमा हुने विशेष साधारणसभाले कार्यसमितिको निर्णय अनुमोदन गर्नेछ।

महासंघका अध्यक्ष चन्द्र ढकालले प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने निर्णय ऐतिहासिक भएको बताए। 

‘महासंघको विधान संशोधनका लागि २ वटा समिति बनेका थिए’, महासंघ अध्यक्ष ढकालले भने, ‘पूर्वअध्यक्षहरुको सुझाव कार्यान्वयन गर्न नसकिएको अवस्थामा म नेतृत्वमा आउँदा संशोधनको म्यान्डेट लिएको थिएँ, पूरा गरेँ।’

यो निर्णयले उद्योग वाणिज्य महासंघका सबै सदस्यको आकांक्षा पूरा भएको उनको भनाइ छ। संशोधित विधानमा सदस्यसहित पूर्वअध्यक्षहरुले समर्थन गरेको पनि उनले दाबी गरेका छन्।

‘भाग्यमानी अध्यक्ष’ बनेकी थिइन् राणा
८ वर्षअघि विधान संशोधन गरिएको थियो। २०७३ कात्तिकमा विधान संशोधन भएसँगै वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा चैतमा स्वतः अध्यक्ष भएकी थिइन्।

विशेष साधारणसभाले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेपछि राणालाई चिठ्ठा परेको थियो।

महासंघको पहिलो महिला अध्यक्ष बनेकी राणालाई ‘भाग्यमानी अध्यक्ष’का रुपमा लिइन्छ। उनी निर्वाचनविनै वरिष्ठ उपाध्यक्ष र अध्यक्ष बनेकी थिइन्।

तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे पुरानो मुद्दामा जेल जानुप¥यो। योसँगै वरिष्ठ उपाध्यक्ष रहेका पशुपति मुरारका अध्यक्ष हुँदा उपाध्यक्ष रहेकी राणा सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष भइन्। त्यसपछि संशोधित व्यवस्थाबाट स्वतः अध्यक्ष बन्नपुगेकी थिइन्।

त्यतिबेला अध्यक्षका दाबेदार सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारले भने यसको विरोध गरेका थिए। प्रत्यक्ष निर्वाचन गर्नुपर्ने र अर्को कार्यकालबाट मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गर्नुपर्ने उनको माग थियो। उच्च अदालतमा भाष्करले यसविरुद्ध मुद्दा पनि दायर गरे तर फैसला उनको पक्षमा आएन। 

अन्ततः ०७३ कात्तिकमा विशेष साधारणसभाले विधान संशोधन गरेको थियो। यसमा आधा दर्जन पूर्वअध्यक्षहरु प्रदिपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, कुशकुमार जोशी, सुरज वैद्य विपक्षमा थिए।

उता कात्तिकमा विधान संशोधन गरेर चैतमै लागू गर्ने पक्षमा चण्डी ढकाल, पशुपति मुरारका र रविभक्त श्रेष्ठ थिए। तत्कालीन अवस्थामा महासंघभित्र चल्तापुर्जा ढकाल विधान संशोधनको सभापति थिए।

२ कार्यकालपछि मात्रै लागू हुनुपर्ने माग 
अहिले निर्वाचनबाटै अध्यक्ष चुन्ने निर्णय भए पनि कतिऔँ कार्यकालबाट यसलाई कार्यान्वयनमा लैजाने भन्ने टुंग्याउन बाँकी छ।

०७३ मा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्षको व्यवस्था लागू गरेका पूर्वअध्यक्ष चण्डीराज ढकालले आगामी २ कार्यकालपछि मात्रै प्रत्यक्ष अध्यक्ष चुनिने व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

ढकालले महासंघमा बढी राजनीति भएकाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुँदा काम गर्न सजिलो हुने तर्क गर्दै आएका थिए।

अध्यक्षमा प्रत्यक्ष चुनाव हुँदा व्यवसायीबीच रिसराग हुने, त्यसलाई मिलाउँदैमा डेढ २ वर्ष लाग्ने र फेरि अर्को चुनाव सुरु भइसक्दा काम नै गर्न नसकिएको अवस्थामा विधान संशोधन गरिएको बताउँछन् पूर्वअध्यक्ष ढकाल।

उनले भने, ‘वरिष्ठ उपाध्यक्षपछि स्वतः अध्यक्ष भएका साथीहरुको पर्फमेन्स राम्रो नहुँदा सदस्यहरुमा नैराश्य बढ्दै गयो।’

पछिल्लो निर्णयअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेमा कुनै विवाद छैन।

तर अहिले उपाध्यक्ष भएकाहरुलाई श्रेष्ठपछिको एक कार्यकाल वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न दिने र तेस्रो कार्यकालबाट प्रत्यक्ष चुनाव गराउनुपर्ने पूर्वअध्यक्ष ढकालको सुझाव छ।

यता महासंघमा हाल उपाध्यक्ष रहेका सुरकृष्ण वैद्य पनि हाल वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने कुरामा विमति नरहेको बताउँछन्।

‘अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेमा कुनै विवाद छैन। त्यसपछि एक कार्यकाल के हुने भन्ने विशेष साधारणसभाले टुंग्याउला’, वैद्य भन्छन्, ‘अबको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जिल्ला तर्फबाट एक जना र वस्तु र एसोसिएट तर्फबाट १ जना चुनिनेछन्।’

यद्यपि अझै वरिष्ठ उपाध्यक्ष प्रत्यक्षबाट चुनिने वा कार्यसमितिले चुन्ने भन्ने विषय टुंगिएको छैन। यसलाई विशेष साधारणसभाले नै टुंग्याउने वैद्यले बताए।

‘उपाध्यक्षमा एक जना महिला थप हुनेछन्। जिल्ला तथा नगर, वस्तु र एसोसिएटतर्फ महिलाको कोटा छुट्याइएको छ। १२ जना कार्यसमिति बढ्ने भएका छन्’, उनले थपे।

जिल्ला अध्यक्ष महासंघको नेतृत्वमा आउन नपाउने
संशोधित विधानले जिल्ला अध्यक्षहरुलाई महासंघको केन्द्रीय नेतृत्वमा आउने नपाउने व्यवस्था गरेको छ।

‘अहिले जिल्लामा अध्यक्ष रहेको व्यक्ति महासंघको कार्यसमितिमा निर्वाचन लड्न पाउने व्यवस्था छ’, उपाध्यक्ष वैद्यले भने, ‘अब अध्यक्षको जिम्मेवारीमा रहदाँसम्म केन्द्रीय कार्यसमितिमा आउन पाइँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .