ad ad

कारोबार


सेयरबजार : १३ कारोबार दिनमा बने १२ वटा राता मैनबत्ती चित्र, यसले के बुझाउँछ?

सेयरबजार : १३ कारोबार दिनमा बने १२ वटा राता मैनबत्ती चित्र, यसले के बुझाउँछ?

नेपालखबर
भदौ २३, २०८१ आइतबार १५:३५, काठमाडौँ

सेयरबजारमा पछिल्लो १३ कारोबार दिनमा १२ वटा राता मैनबत्ती चित्र बनेका छन्। 

नेप्से सूचकले ३ हजार विन्दु छोएर फर्किएको १३ दिनमा १२ दिन बजार घट्दा लामा प्रकृतिका मैनबत्ती चित्र बनेका हुन्। 

बजारमा बढ्दा यस्ता मैनबत्ती चित्र हरियो बन्ने र घट्दा रातो बन्ने गर्छ। बजारको घटाइ र बढाइको मापन गर्ने यस्तो मैनबत्ती चित्र आइतबार पनि रातो नै बन्यो। 

आइतबार २५.४६ अंकले नेप्से घटेर २७०१.९० अंकमा बन्द भएको छ। गत साता कारोबारको ३ दिन राताम्मे बनेको बजारमा आइतबार ‘करेक्सन’ देखिने अनुमान थियो। 

गत साता घटेको बजारको मौका छोपेर आइतबार बजारमा सेयर खरिद गर्ने बढ्न सक्ने अनुमानका बीच यो दिन पनि नेप्से दोहोरो अंकले घटेर राताम्मे बनेको हो। 

बिहीबार रातो बनेको मैनबत्ती चित्रमा तलतिर लामो धर्सा कोरिएको थियो। यसले लगानीकर्ता बजारबाट बाहिरिन खोज्दाखोज्दै पनि अन्तिम समयमा अलिकति माथि उठेर बन्द भएको बुझाउँछ। 

आइतबार भने यस्तो चित्र केही फरक देखियो। यो दिन माथितिर लामो र तलतिर निकै छोटो धर्सासहितको मैनबत्ती बनेको छ। यसले बजार बढ्न खोज्दाखोज्दै तल ओर्लिएको बुझाउँछ। 

यसका आधारमा बजार सम्हालिन खोजे पनि सूचकको गिरावट सम्हालिन नसकेको भन्ने हुन्छ। 

आज कारोबार सुरु भएको पहिलो ५ मिनेटमा बजारले उकालो गति लिए पनि टिक्न नसक्दा दिनभर नेप्से उकालो ओरालो नै गरिरह्यो। दिनभर नेप्से अधिकतम २७५९ अंकमा पुग्यो भने न्यूनतम बजार बन्द हुने अन्तिम समयमा २७०१ अंकमा आइपुग्यो। 

सूचकको उतारचढावका आधारमा बजार बढ्न खोजे पनि टेवा नपाएको देखिन्छ। ३ हजारको विन्दुमा पुगेर फर्किएको नेप्सेले १५० अंकसम्मको करेक्सन लिनसक्ने विश्लेषण आइरहँदा सूचकले ३ सय अंकले घटिसकेको छ। 

सूचक खुम्चिएसँगै लगानीकर्ताले पनि बजारमा ‘पर्खिने र हेर्ने’ रणनीति अपनाएको देखिन्छ। गत साता दैनिक औसतमा १२ अर्बसम्मको करोबार भएको बजारमा आइतबार लगानीकर्ताले १० अर्ब रुपैयाँको मात्रै कारोबार गरेका छन्। 

यो दिन ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर १० अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ। 

सूचक र कारोबार दुवैमा कमी आउँदा ८५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १५७ कम्पनीको सेयरमूल्य घटेको छ। 

आज कारोबारमा आएकामध्ये महुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिड सोलु हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

घट्दो बजारमै पनि आज लगाीकर्ताको रोजाइमा सीईडीबी हाइड्रो र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभपलपमेन्ट (प्रमोटर) कम्पनी परेको छ। जसको क्रमशः ४२ करोड र ३५ करोडको कारोबार भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .