ad ad

कारोबार


अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छुः खानेपानीमन्त्री यादव

अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छुः खानेपानीमन्त्री यादव

नेपालखबर
असोज २१, २०८१ सोमबार १०:५१, काठमाडौँ

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर बिन्ती बिसाएपछि खानेपानी सहजरूपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्चीका स्थानीयको पनि घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन्।

मेलम्चीवासीले चारवटा मागसहित अवरोध गरिरहेकामा सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने उनको भनाइ छ।

अहिलेलाई मुलुकको अहसज परिस्थिति पनि बुझिदिनुपर्ने मेलम्चीवासीसँग उनको आग्रह छ।

उनले भने, ‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुगेको छ। अझै तथ्यांक संकलनको काम गरिरहेका छौँ। केही समयपछि क्षति भएका संरचना पुनःनिर्माण हुन्छन्। मेलम्चीको पानी वर्षातको समयमा रोक्ने गरिन्छ। ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ। विगतमा हेलचेक्र्याइँ भएको थियो। यो वर्ष त्यस्तो हुँदैन।’

यो वर्ष मेलम्चीको पानी दसैँअघि काठमाडौँवासीलाई खुवाउने लक्ष्य छ। तर स्थानीयवासीले बाढी पहिरोको क्षति पुगेको स्थानीय गाउँपालिकाको भवन बनाउनुपर्ने, इटालीको ठेकदार कम्पनी सीएमसीले स्थानीय व्यापारीको पैसा नतिरी भागेकाले त्यो भराइदिनुपर्ने र सडक बनाउनुपर्ने माग राखी अवरोध गरिरहेका छन्। त्यस विषयमा वार्ता चलिरहेको र सहमतिनजिक पुगेको मन्त्री यादवको दाबी छ।

उनको भनाइ छ, ‘मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ। अहिले आन्दोलन गर्ने बेला होइन। एकअर्कालाई सहयोग गर्ने बेला हो। सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु। वार्ताबाट सहज रूपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो, नभए मेलम्चीका स्थानीयवासीको घरमा नै जान्छु ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .