ad ad

कारोबार


कोरोना कहरबीच गति लिँदै गौतमबुद्ध विमानस्थल, ९१ प्रतिशत काम सकियो

कोरोना कहरबीच गति लिँदै गौतमबुद्ध विमानस्थल, ९१ प्रतिशत काम सकियो

प्रकाश न्यौपाने
साउन ७, २०७७ बुधबार १३:७,

कोरोनाको महामारीका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको छ। त्यसको प्रत्यक्ष असर अन्य क्षेत्रमा जस्तै विकास आयोजनाहरुमा समेत परेको छ। तर, राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले भने कोरोना प्रभावबीच पनि गति लिइरहेको छ। १२० दिन भएको लकडाउनमा पनि विमानस्थल निर्माणको काम रोकिएको छैन।

‘लकडाउन अघिको जस्तै काम तीव्र गतिमा हुन नसके पनि निर्माणको काम थोरै जनशक्ति प्रयोग गरेर भए पनि गरिराख्यौं’, विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने, ‘लकडाउनमा पनि ८० बढी कामदारले निर्माणको काम गरिरहे।’ लकडाउन खुकुलो भएपछि कामदार बढाएर अहिले करिब ३ सय पुर्याइएको छ।

नयाँ वर्ष सन् २०२० मनाउन चीन पुगेका दक्ष जनशक्ति कोरोनाका कारण काममा फर्कन नसक्दा विमानस्थलमा केही उपकरण जडानको काम भनेल अगाडि बढ्न सकेको छैन। निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरेकाले दक्ष जनशक्ति प्रायः उतैका छन्। ‘आठ बढी एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएका छन्। २९ जनाले यहाँ काम गरिरहेका छन्। महत्वपूर्ण काम गर्ने जनशक्ति नहुँदा केही कठिनाइ परेको छ’, अधिकारीले भने।

विमानस्थलमा अहिले टायल बिछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवनहरु फिनिसिङको काम जारी छ। यस्तै धावन मार्गमा मार्किङको सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ। फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ।

आयोजना प्रमुख अधिकारीका अनुसार धावनमार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु तेस्रो मुलुकबाट आयात गर्नुपर्ने भएकाले उडान नहुँदा रोकिएको छ। ‘टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्यान्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावनमार्गका लागि आवश्यक लाइटलगायतका उपकरणहरु चीनबाट ल्याउनु पर्ने हो, तर कोरोनाका कारण ल्याउन सकिएको छैन’, अधिकारीले भने, ‘अब अन्तर्राष्ट्रिय उडान सुरु हुँदासाथ यी उपकरण आउँछन्। त्यसअघि बाँकी अन्य कामलाई तीव्रता दिइरहेका छौं।’ आयोजनाका अनुसार यी उपकरण जडान गर्न अमेरिका, अष्ट्रिया, थाइल्यान्डबाट जनशक्ति ल्याउनु पर्ने हुन्छ।

 ९१ प्रतिशत निर्माण सकियो
विमानस्थलको अहिलेसम्म ९१ प्रतिशत काम सम्पन्न भएको छ। तर, वित्तीय प्रगति भने ६३ प्रतिशत छ। आयोजनाले ठेकेदारलाई अहिलेसम्म ३ अर्ब रुपैयाँ मात्रै भुक्तानी दिएकाले वित्तीय प्रगति न्यून भएको हो।

विमानस्थलको भौतिक निर्माणको काम लगभग सकिएको छ। अब अधिकांश फिनिसिङ, विद्युतीकरण र उपकरण जडानको काम बाँकी छ। ‘विमानस्थलमा करिब १० प्रकृतिका उपकरणहरु जडान गर्नुपर्छ, अधिकांश उपकरण आइसकेका छन्। जडानको काम जारी छ। तर, केही उपकरण र जडान गर्ने जनशक्ति आउन बाँकी छ’, अधिकारीले भने।

६ अर्ब २२ करोड लागतको यो आयोजना ३१ डिसेम्बर २०१४ मा सुरु भएको हो। पहिलो चरणको काम अर्थात् आईसीबी–१ मा एडीबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। आईसीबी–२ अन्तर्गत करिब ५० करोड बराबरको उपकरण जडान गरिने छ।

म्याद थपको तयारी
विमानस्थल निर्माणको काम चौथोपटक थपिएको समयमा पनि नसकिने निश्चित भएपछि आयोजनाले म्याद थपका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्रचार गरिसकेको छ। चौथोपटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो। उक्त अवधिमा उपकरण ल्याएर जडान भइनसक्ने अवस्था देखिए पछि पाँचौपटक म्याद थपको माग गरिएको आयोजना प्रमुख अधिकारीले बताए।

‘हामीले २०२० को डिसेम्बरसम्म म्याद थपका लागि माग गरेका छौं’, उनले भने, ‘उक्त अवधिमा कुनै प्राविधिक कठिनाइ नआएमा आयोजनाको काम सकिन्छ।’ सन् २०१८ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित विमानस्थल निर्माण शुरु गरिए पनि विभिन्न कारण देखाउँदै पाँचौपल्ट म्याद थपको तयारी गरिएको हो।

मुआब्जा वितरण अन्तिम चरणमा
विमानस्थल निर्माण अन्तिम चरणमा आइपुग्दा मुआब्जा वितरणको काम पनि अन्त्यतिर आएको आयोजनाले जनाएको छ। मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो। त्यसमध्ये अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ वितरण गरिसकिएको छ।

‘अब हामी कहाँ ४०÷४५ वटा मात्रै फाइल छन्। करिब ५० करोड रुपैयाँ भए बाँकी सबैलाई दिन पुग्छ’, अधिकारीले भने, ‘२३ अर्ब भनिएकोमा २२ अर्बले नै मुआब्जाको काम सकिने भएको छ।’ विमानस्थल निर्माण गर्दा १ हजार ७ सय ४० परिवारको घरजग्गा अधिग्रहण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .