ad ad

कारोबार


शंकर ग्रुपको सबै सम्पत्ति छानबिन गर्दै विभाग, रोक्न दबाब र हारगुहार

शंकर ग्रुपको सबै सम्पत्ति छानबिन गर्दै विभाग, रोक्न दबाब र हारगुहार

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ७:३७,

सम्पत्ति शुद्धीकरण विभागले आफ्नो सम्पत्तिको स्रोतबारे अनुसन्धान गरिरहेको बेला विवादास्पद व्यावसायिक घराना शंकर ग्रुपले छानबिन रोक्न बारम्बार दबाब दिइरहेको छ।

कालोबजारीमा थर्मल गन बिक्री गरिरहेको अवस्थामा शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल पक्राउ परेपछि अग्रवालको ग्रुपको सबै सम्पत्ति अनुसन्धान गर्नुपर्ने निष्कर्षसहित प्रहरीले विभागमा प्रतिवेदन बुझाएको थियो।

सोहीअनुसार अग्रवाललाई तारेखमा राखेर विभागले अहिले अनुसन्धान गरिरहेको हो।

अग्रवालको सम्पत्ति छानबिन गर्ने क्रममा शंकर ग्रुपको आयस्रोत, हालको सम्पत्ति र उनीहरुले सुरुमा गरेको लगानी विस्तारलाई समेत विभागले छानबिनको दायरामा राखेको छ।

हाल अनुसन्धान भइरहेको अवस्थामा शंकर ग्रुपका अधिकारीहरूले यसलाई रोक्न धेरै पटक आग्रह गरेपनि विभागले अनुसन्धान जारी राखेको विभागका उच्च अधिकारीले बताए।

‘अनुसन्धान रोक्न शंकर ग्रुपले धेरै पटक आग्रह गर्यो र दबाब पनि दिइरहेको छ तर, यो रोकिँदैन, हामीले अनुसन्धान जारी राखेका छौं’, सम्पत्ति शुद्धीकरण विभागका एक उच्च अधिकारीले भने, ‘छोरो सुलभ अग्रवालले थर्मल गन कालोबजारीमा बिक्री गरिरहेको अवस्थामा पक्राउ परेकाले अहिले हामी अनुसन्धानको क्रममा उनका बुबा शंकरलाल अग्रवाल (गोल्यान) को पुरानो कारोबार समेत हेरिरहेका छौं।’

शंकरलाल आफैँले नक्कली एलसी बनाएर भारतमा कपडा र औषधिको कच्चा पदार्थ तस्करी गर्ने गरेको आशंका रहेको विभागका अर्का एक अधिकारी बताउँछन्। सोहीबापत आर्जन भएको पैसाबाट उनले लगानी विस्तार गर्ने गरेको अध्ययनमा भेटिएको छ।

अध्ययनको क्रममा शंकरलालले नक्कली एलसी बनाउन नेपालका व्यापारीहरुले खोलेको एलसी नम्बर पत्ता लगाई कलकत्ता बन्दरगाहबाट सामान छुटाउने गरेको पाइएको ती अधिकारीले बताए। त्यसरी छुटाइएको सामान उनले भारतमा नै तस्करी गर्ने गरेको भेटिएको छ।

पुरानो काण्डः किर्ते एलसी 
विभागका ती अधिकारीका अनुसार सुरुमा शंकरलाल इन्जिनियरिङ पढ्न पाकिस्तान गएका थिए, जहाँ उनले आफ्ना साथीभाइमार्फत ‘जालसाजी धन्दा’ सिक्ने मौका पाए।

तेस्रो मुलुकबाट आएका सामान कसरी दोस्रो मुलुकमा बिक्री गर्ने, नक्कली एलसी कसरी निर्माण गर्नेजस्ता कामहरु सिकेपछि शंकरलाल भारत आए र त्यहीँ कारोबार चलाउन थाले।

सुरुमा शंकरलाल तेस्रो मुलकबाट ल्याइने कपडा र औषधिको कच्चापदार्थको आयातको किर्ते एलसी बनाएर भारतमा नै तस्करी गर्थे। त्यस क्रममा उनी भारतबाट नै पक्राउ समेत परेका थिए।

उनले त्यसो गरेको थाहा पाएपछि त्यसको असरले गर्दा त्यसबेला नेपाली व्यापारीहरुलाई कलकत्ता बन्दरगाहबाट सामान छुटाउन धेरै गाह्रो परेको थियो। त्योभन्दा पहिले बैंकमा एलसी खोलेको कागज देखाएपछि हरेक सामान छुट्ने गरेकोमा उनी पक्राउ परेपछि नै नेपाली व्यपारीसँग कलकत्ता बन्दरगाहले अन्य कागजात माग्न थालेको हो।

उनले अन्य व्यापारीको एलसी नम्बर पत्ता लगाएर नक्कली एलसी बनाई ४/५ वर्षसम्म धेरै वस्तुको तस्करी गरेको केही व्यवसायीहरू चर्चा गर्छन्। त्यसरी कमाएको पैसा उनले आफ्नो व्यवसाय विस्तारमा खर्च गरेको देखिएको हो।

भ्याट छलीको पनि अनुसन्धान हुँदै
सम्पत्ति शुद्धीकरण विभागले अहिले राजस्व अनुसन्धान विभागसँगको सहकार्यमा शंकर ग्रुपले भ्याट छली गरेर अनधिकृत आर्जन गरेको सम्पत्तिमाथि पनि अनुसन्धान थालेको छ। प्रधानमन्त्रीको कार्यालयअन्तगर्तका यी दुई विभागले हाल त्यसमा थप अनुसन्धान थालेका हुन्।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट बिल फेला परेको थियो। राजस्व अनुसन्धान विभागका अनुसार जगदम्बाको ८० करोड रुपैयाँबराबरको नक्कली भ्याट बिल फेला परेको थियो।

छानबिनपछि ८० करोडको नक्कली बिलबाट झण्डै ६० करोड रुपैयाँ कर विभागले निर्धारण गरेको थियो। ठूला व्यावसायिक घरनामा यति ठूलो भ्याट छली गर्ने शंकर ग्रुप नै देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .