ad ad

कारोबार


कर वृद्धिसँगै बढ्दै छ यी गाडीको मूल्य, नबढ्ने कुन कुन?

कर वृद्धिसँगै बढ्दै छ यी गाडीको मूल्य, नबढ्ने कुन कुन?

फाइल तस्बिर


वसन्त अर्याल
जेठ ३०, २०८१ बुधबार ७:४६, काठमाडौँ

सरकारले विद्युतीय गाडीमा कर बढाएपछि केही कम्पनीले मूल्य बढाउँदै छन् भने केहीले अहिलेकै मूल्यलाई निरन्तरता दिने भएका छन्।

सरकारले विद्युतीय गाडीको भन्सार र अन्तःशुल्कमा ५–५ प्रतिशत कर बढाएसँगै धेरै कम्पनीले मूल्य बढाउने तयारी गरिरहेका हुन्। 

अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको मूल्य घटिरहेको छ। गाडीको महत्त्वपूर्ण कम्पोनेन्ट ब्याट्रीको लागत घट्दै जाँदा मूल्यमा कमी आएको छ। टेस्लालगायतकै ब्रान्डको प्रि–बुकिङ गरेका ग्राहकले खरिद गर्दा मूल्य घटेको देखिएको छ। 

नेपालमा सरकारले विद्युतीय गाडीमा कर बढाएसँगै अहिले स्टकमा गाडी भएका कम्पनीले पुरानै मूल्यमा बिक्री गर्ने तय गरेका छन्। स्टकमा नरहेका कम्पनीले मूल्य बढाउने बताउँदै आएका छन्।  

बजारमा करअनुसार नै मूल्य बढाउँदा महंगो हुने भएकाले गाडीको बिक्रीमा कमी आउन सक्ने व्यवसायी बताउँछन्। व्यवसायीले ठूला गाडीमा बढीमा ३ लाख रुपैयाँसम्म मूल्य बढ्ने बताएका छन्। कम्पनीहरुले उत्पादक कम्पनीसँगको छलफलमै मूल्य तय गर्छन्। 

नेपालमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडी महंगो भए पनि धेरै बिक्री भइरहेको छ। बैंकले ८० प्रतिशतसम्म ऋण सुविधा दिने र मर्मतसँगै नियमित खर्च जोगिने भएकाले बढी खरिद गरिरहेको व्यवसायी बताउँछन्। 

आर्थिक विधेयकअनुसार सरकारले हाल मोटर पिकपावर ५० किलोवाटसम्म १० प्रतिशत भन्सार महशुल रहेकोमा अन्तःशुल्क ५ प्रतिशत थप गरेको छ भने १० प्रतिशत रहेको भन्सार महशुल १५ प्रतिशत पुर्‍याएको छ।

मोटर पावरको ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ। अन्तःशुल्क १० बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ भने भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ। नेपालमा हाल सबैभन्दा बढी यही सेग्मेन्टमा गाडी आयात हुँदै आएका छन्।

१०० किलोवाटदेखि २०० किलोवाटसम्मका चारपांग्रे निजी गाडीमा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तःशुल्क लाग्छ। अन्तःशुल्कको व्यवस्था यथावत् छ। भन्सार भने ३० प्रतिशत पुर्‍याइएको छ।

२०० देखि ३०० किलोवाटसम्मका बिजुली गाडीमा ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। अहिले अन्तःशुल्क ३५ प्रतिशतमा सीमित गरिएको छ भने भन्सार ४० प्रतिशतबाट ६० प्रतिशत पुर्‍याइएको छ।

३०० किलोवाटमाथिका गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। अहिले अन्तःशुल्क ५० प्रतिशतमा झर्दा भन्सार महशुल ८० प्रतिशत पुर्‍याइएको छ।

टाटा मोटर्स 
सरकारले विद्युतीय गाडीका कर बढाएपछि टाटाको टियागो ईभीको मूल्य बढ्ने भएको छ। बजेटमार्फत ५० किलोवाटका गाडीमा भन्सार र अन्तःशुल्क ५–५ प्रतिशत बढाउँदा टियागोको मूल्य बढ्नेछ। 

सरकारले भन्सार र अन्तःशुल्कमा भ्याट, सडक दस्तुर जोड्दा अहिलेको मूल्यमा १३ प्रतिशत हाराहारीमा बढ्नेछ। 

टाटाको टियागो ईभी अहिलेको मूल्य २६ लाख ४९ हजारदेखि २८ हजार ९९ हजार रुपैयाँसम्म छ। यसअनुसार सोझै हिसाबले २ लाख ५० हजारदेखि ३ लाखसम्म बढ्नसक्ने देखिन्छ। 

टाटाले अहिलेसम्म नयाँ मूल्यसूची भने सार्वजनिक गरेको छैन। नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर बढेको विषयमा छलफल भए पनि कति मूल्य बढ्ने टुंगो नलागिसकेको जनाएको छ। 

हुन्डाई 
नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीमा तत्काल मूल्य नबढाउने भएको छ। हुन्डाईले नेपालमा आयोनिक ५ र कोनाका विद्युतीय गाडी बिक्री गर्दै आएको छ। 

कोनाको जीएल मोडलको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ छ। जीएलएस मोडलको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ छ। त्यस्तै आयोनिक ५ को मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ छ। बजेटपछि आयोनिक ५ मा १ लाख रुपैयाँ मूल्य बढेको हो। 

लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दिपक थपलियाले हुन्डाईका विद्युतीय गाडीको मूल्य नबढ्ने बताएका छन्। 

‘हुन्डाईले अहिले विद्युतीय गाडीको मूल्यमा तत्काल कुनै रिभ्यु गर्दैन’, थपलियाले भने। 

बीवाईडी 
नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले विद्युतीय गाडीको मूल्य कति हुने विषयमा छलफल भइरहेको जनाएको छ।

अट्टो ३ र डल्फिन मोडल बिक्री गरिरहेको बीवाईडीले उत्पादक कम्पनीसँग छलफल भइरहेको जानकारी दिएको छ। 

‘सरकारले कर बढाएपछि त मूल्य बढ्छ नै’, साइमेक्स इंककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भनिन्, ‘उत्पादक कम्पनीसँग कर बढेको विषयमा छलफल भइरहेको छ। कति रुपैयाँ बढ्छ उत्पादक कम्पनीसँगको छलफलपछि मात्रै टुंगिन्छ।’

श्रेष्ठले उत्पादक कम्पनीले कति प्रतिशत व्यहोर्छ, त्यसको आधारमा नयाँ मूल्य तय हुने बताइन्। 

सीजी मोटर्स 
नेपालमा सीजी मोटर्सले २ वटा ब्रान्ड बिक्री गर्दै आएका छन्। नेटा र आयन ब्रान्डका विभिन्न मोडल बिक्री वितरण गर्दै आएको छ। 

बजेटमा मूल्य बढे पनि गाडीको मूल्य बढ्ने वा निरन्तरता दिने विषयमा निर्णय गरिसकेको छैन। 

‘अहिले शोरुममा आउने ग्राहकलाई पुरानै मूल्यमा बिक्री गरिरहेका छौँ’, सीजी मोटर्सका मार्केटिङ किरन आचार्य भन्छन्, ‘नेटा र आयनको मूल्य बढ्छ वा बढ्दैन भन्ने विषयमा निर्णय भइसकेको छैन।’

ओमोडा
ओमोडाले तत्काल मूल्य नबढाउने भएको छ। ९९ किलोवाट मोटरका गाडीको कर बढे पनि मूल्य नबढ्ने भएको हो। ओमोडा ई५को मूल्य ६१ लाख ९९ हजार र ई५ डुअल टोनको मूल्य ६२ हजार ४९ हजार रुपैयाँ रहेको छ। 

‘ओमोडाले अहिलेकै मूल्यलाई निरन्तरता दिने भएको छ’, एसपीजी अटोमोबाइल्सका एक कर्मचारीले भने, ‘नयाँ स्टक आएपछि मूल्यमा रिभ्यु हुनसक्छ।’

नेपालमा पछिल्लो समय भित्रिएको मोडलमा सबैभन्दा बढी माग भएको गाडीमा ओमोडा नेपाल रहेको छ। 

डिप्पल एस ०७ 
डिप्पल एस ०७ को मूल्य ३ लाख रुपैयाँ बढेको छ। नेपालका लागि चांगन र डिप्पल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले कर बढेसँगै मूल्यमा समावेश गरेको जनाएको छ। 

कम्पनीले अब ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ लिने भएको छ। दुई महिनाअघि नेपालमा सार्वजनिक भएको डिप्पल एस०७ले राम्रो बजार लिइरहेको छ। 

९९ किलोवाटको मोटर पावर रहेको डिप्पल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ। यसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ। 

‘जुन कम्पनीसँग बजेटअघि नै गाडी आएका थिए। उनीहरुले अहिलेलाई मूल्य नबढाउलान्’, एमएडब्लु वृद्धिका एक कर्मचारीले भने, ‘स्टकमा नरहेका कम्पनीले बढाउनुपर्ने बाध्यता छ।’

डिप्पलको मूल्य १३ प्रतिशत बढ्ने अवस्था रहे पनि चिनियाँ उत्पादक कम्पनीले केही व्यहोर्ने भएपछि ३ लाख रुपैयाँ वृद्धि गरेको उल्लेख गरेको छ। 

एमजी मोटर्स 
प्यारामाउन्ट मोटर्सले एमजीका गाडीमा मूल्य बढाउने वा नबढाउने विषय निर्णय गरिसकेको छैन। एमजीको जेटएस ईभी बढी बिक्री हुन्छ।

एमजी जेटएस डिलक्सको मूल्य हाल ५२ लाख ९९ हजार रुपैयाँ छ। 

‘बजारमा कसरी सर्भाइभ गर्ने भन्ने मुख्य विषय हो’, प्यारामाउन्ट मोटर्सका एक कर्मचारी भन्छन्, ‘माथिल्लो तहबाट मूल्यमा कुनै निर्णय भइसकेको छैन।’

प्यारामाउन्ट मोटर्सले एमजी ४ को मूल्य ४१ लाख ४९ हजार रुपैयाँ तोकेको छ।

सिट्रोन 
बजेटपछि फ्रान्सेली ब्रान्ड सिट्रोनको सांग्रिला मोटर्सले ई–सी थ्री साइन नेपालमा सार्वजनिक गरेको छ। ई सीथ्री साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

अहिले आयात भएको अन्तिम स्टिकसम्म मूल्य परिवर्तन नहुने कम्पनीले जनाएको छ। नयाँ आयात हुँदा भने मूल्य बढ्ने संकेत गरेको छ। 

विद्युतीय गाडी सी थ्रिमा ६ वटा नयाँ फिचर्स थप गरी सार्वजनिक गरेको छ।

यसमा अगाडि पछाडि स्किड प्लेटहरु, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, अलोय ह्विल र इलेक्ट्रिकल ओभरभीएम जस्ता फिचर समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .