ad ad

कारोबार


व्यक्तिगत आवासीय घरकर्जा बढ्दा हाउजिङ र अपार्टमेन्टमा बढेन, अन्य क्षेत्रमा कति?

व्यक्तिगत आवासीय घरकर्जा बढ्दा हाउजिङ र अपार्टमेन्टमा बढेन, अन्य क्षेत्रमा कति?

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १७:५५, काठमाडौँ

व्यक्तिगत घर कर्जा लिने ऋणी बढ्दा हाउजिङ, अपार्टमेन्ट निर्माणलगायतका व्यावसायिक प्रयोजनका लागि लिने ऋण घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवासीय घरकर्जा चालू आवको १० महिनामा ११.८ प्रतिशतले बढ्दा व्यावसायिकतर्फ भने ०.२ प्रतिशतले घटेको हो। 

गत वर्षको साउन महिनासम्म २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ व्यावसायिक प्रयोजनका घरजग्गामा ऋण प्रवाह भएकोमा २०८१ वैशाख मसान्तसम्म यस्तो कर्जा घटेर २ खर्ब ४८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। चालू आवको १० महिनामा हाउजिङ अर्पाटमेन्ट र आवासीय (२ करोडभन्दा माथिको) ऋणमा ४७ करोड रुपैयाँले कमी आएको छ। 

यता २ करोडसम्मका आवासीय घर कर्जामा भने उल्लेख्य वृद्धि भएको छ। बैंकका अनुसार चालू आवको १० महिनामा ३ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ प्रवाह भएको हो। जब कि गत वर्षको साउनमा यस्तो ऋण प्रवाह ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो। २०८० साउनको तुलनामा २०८१ वैशाखमा ४१ अर्ब १९ करोड रुपैयाँले बढी ऋण प्रवाह भएको छ। 

घरजग्गा खरिदबिक्री चलायमान नहुनु, बैंकको ब्याजदर महंगो हुनु, कित्ताकाट नखुल्नुलगायतका कारणले व्यापारिक प्रयोजनका घरजग्गा व्यवसाय सुस्त छ। यसले गर्दा यस क्षेत्रमा ऋण लिने ऋणीहरु पनि चालू आवको १० महिनामा कम देखिएका हुन्। 

यीबाहेक सेयर धितो कर्जा, आवधिक कर्जा, वर्किङ क्यापिटल लोन (चालू पुँजी कर्जा) लगायतका सात प्रकारको क्षेत्रमा ऋण प्रवाह बढ्दा व्यावसायिक प्रयोजनका घरजग्गासहित ५ वटा क्षेत्रमा जाने ऋण घटेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको विवरणमा आवधिक कर्जा १८.८ प्रतिशतले बढेको छ। गत वर्षको साउनमा १५ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा ०८१ वैशाख मसान्तसम्म १८ खर्ब ७७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो १० महिनामा २९ अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बढीले कर्जा प्रवाह भएको छ। 

यस्तै सेयर धितो कर्जा पनि १२.६ प्रतिशत अर्थात् ९ अर्ब ६४ करोड रुपैयाँ धेरै प्रवाह भएको छ। गत वर्षको साउनमा ७६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा २०८१ वैशाख मसान्तसम्म यस्तो कर्जा ८५ अर्ब ९५ करोड रुपैयाँ प्रवाह भएको छ। 

चालू आर्थिक वर्षमा सेयर धितो कर्जामा लाग्दै आएको जोखिमभारलाई कम गर्नुका साथै मौद्रिक नीतिबाट सेयरकर्जामा लगाएको सीमालाई खुकुलो बनाएसँगै त्यसको असर कर्जा प्रवाहमा देखिएको छ। सीमालाई खुकुलो गरेसँगै लगानीकर्ताले सेयर धितो कर्जालाई बढाएका छन्। 

सेयरधितो, घरजग्गालगायतका कर्जामा उल्लेख्य वृद्धि हुँदा हायर पर्चेजतर्फ पनि उल्लेख्य रुपमा कर्जा प्रवाह घटेको छ। चालू आवको १० महिनामा हायर पर्चेजतर्फ २१.८ प्रतिशतले कर्जा प्रवाह घटेको छ। 

गत वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०८१ वैशाख मसान्तसम्म यस्तो कर्जा १ खर्ब २४ अर्ब ५३ करोड रुपैयाँमात्रै प्रवाह भएको छ। 

चालू आवमा पेट्रोल तथा डिजेलमा चल्ने सवारीसाधनको बिक्री घट्दा त्यसको असर कर्जा प्रवाहमा देखिएको हो। 

योबाहेक ओभर ड्राफ्ट कर्जा पनि ४४.७ प्रतिशतले घटेको छ। चालू आवको १० महिनामा १ खर्ब ३ अर्ब करोड ६० करोड रुपैयाँले कम ऋण प्रवाह भएको छ। गत साउनमा २ खर्ब ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएकोमा ०८१ वैशाखमा १ खर्ब २८ अर्ब २७ करोड रुपैयाँ मात्रैको कर्जा प्रवाह भएको छ। 

यस्तै चालू पुँजी कर्जा १३ प्रतिशतले घट्दा वस्तु आयातका लागि लिइने आयात कर्जा पनि ०.५ प्रतिशतले घटेको छ। योबाहेक बैंक तथा वित्तीय संस्थाहरुले दिने क्यास क्रेडिट लोन २५.६ प्रतिशतले बढ्दा कम आय भएका पिछडिएका क्षेत्रमा जाने ऋण १.१ प्रतिशतले बढेको छ। 

समग्रमा चालू आवको १० महिनामा ५ वटा क्षेत्रमा कर्जा प्रवाह घट्दा बाँकी ७ वटा क्षेत्रमा हुने कर्जा प्रवाह बढ्न पुगेको छ। आर्थिक स्थिति चलायमान नहुँदा व्यावसायिक क्षेत्रमा जाने ऋणहरु भने केही संकुचित देखिएका छन् भने व्यक्तिगत कर्जा प्रवाह सामान्य बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .