औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ।
मारवाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका अग्रवाल दुईपटक संविधान सभाको सदस्य पनि भएका अग्रवालको सोमबार सानेपास्थित आफ्नै निवासमा निधन भएको हो।
उनी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालका पिता हुन्।
नेपाल उद्योग परिसंघका अनुसार अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए।
सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्।
गौशालालगायत अन्य मठमन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रूपमा सामाजिक क्षेत्रमा समेत योगदान गरेका थिए।
स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोरा राजेश र विष्णु छन्।
अग्रवालको पार्थिव शरीरलाई आज बिहान ११:३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
Shares
प्रतिक्रिया